रौतहट - रौतहटमा प्रहरीले कटुवा पेस्तोलसहित एक जना भारतीय युवकलाई पक्राउ गरेको छ। नियमित सुरक्षा गस्ती तथा शंकास्पद सवारीसाधनको चेकजाँच गर्ने क्रममा प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गर्दै मोटरसाइकलसहित युवकलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ मंसिर १३ गते अपराह्न ५:२० बजेको समयमा रौतहटको कटहरिया नगरपालिका–४, बलिरामपुरस्थित गढीमाई मन्दिरबाट कटहरियातर्फ जाने बाटोमा उक्त घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको संयुक्त गस्ती टोलीले चेकजाँचका क्रममा भारतीय नम्बर प्लेट BR 05 W 9194 भएको रातो–कालो रङको Hero Splendor+ मोटरसाइकललाई रोकेको थियो।
मोटरसाइकल तथा चालकको शंकास्पद गतिविधिका आधारमा चेकजाँच गर्ने क्रममा भारतको बिहार राज्य, मोतिहारी जिल्ला, ग्राम पञ्चायत कोरहिया निवासी १९ वर्षीय राजकुमार यादवको साथबाट एक थान कटुवा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले हतियार बरामद गरेपछि मोटरसाइकलसहित चालक यादवलाई नियन्त्रणमा लिएको हो। बरामद गरिएको कटुवा पेस्तोल र मोटरसाइकलसम्बन्धी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।