- र्घाखाँचीको बुजुण्डो र गोरखाको देवलगाउँसहित डडेलधुराका दुई बस्ती सार्ने योजना स्वीकृत
- वर्षौंदेखि पहिरोको जोखिममा रहेका बस्तीलाई सम्भावित मानवीय क्षति रोक्न स्थानान्तरण गर्न लागिएको
- सार्न लागिएको बस्ती बसोबासका लागि उपयुक्त नरहेको भूगर्भविद्हरूको निष्कर्ष
- बस्ती स्थानान्तरणका लागि प्रतिपरिवारलाई तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म अनुदान सरकारले दिने
काठमाडौं- वर्षौंदेखि पहिरोको जोखिममा बस्दै आएका तीन जिल्लाका चार बस्तीका बासिन्दाले सुरक्षित स्थानमा बसोबासको अवसर पाउने भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डडेलधुरा, अर्घाखाँची र गोरखाका चार बस्ती स्थानान्तरण गर्ने योजनालाई स्वीकृति दिएसँगै प्रक्रिया अघि बढ्ने भएको हो।
तर, सरकारी स्वीकृतिसँगै जोखिममा रहेका सबै परिवारलाई सुरक्षित ठाउँमा पुर्याउने र नयाँ स्थानमा बसोबासको व्यवस्था मिलाउने चुनौती भने कायमै छ। प्राधिकरणका सहप्रवक्ता डा. प्रकाश पोख्रेलका अनुसार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका, गोरखाको चुमनुब्री गाउँपालिका र डडेलधुराको आलिताल गाउँपालिकाका बस्ती स्थानान्तरण गरिने छ। अर्घाखाँचीको बुजुण्डो र गोरखाको देवलगाउँसहित डडेलधुराका दुई बस्ती सार्ने योजना स्वीकृत भएको हो।
अर्घाखाँचीको बुजुण्डोका ४४ घरधुरी र गोरखाको देवलगाउँका ८३ घरधुरी स्थानान्तरण हुने छन्। यी दुई बस्तीकामात्रै १२७ घरधुरीलाई सुरक्षित स्थानमा पुर्याउनुपर्ने छ। डडेलधुराका दुई बस्तीका घरधुरीको संख्या भने खुलाइएको छैन। वर्षौंदेखि पहिरोको जोखिममा रहेका बस्तीलाई सम्भावित मानवीय क्षति रोक्न स्थानान्तरण गर्न लागिएको प्राधिकरणका सहप्रवक्ता पोखरेलले बताए। उनले प्रभावसँग भने, ‘पहिरोको उच्च जोखिममा रहेका बस्तीहरूलाई जिल्ला विपद् व्यवस्थापन समितिहरूको सिफारिसबमोजिम हामीले स्थानान्तरणका लागि स्वीकृति दिएका हौं।’
हिरोको उच्च जोखिममा रहेका बस्तीहरूलाई जिल्ला विपद् व्यवस्थापन समितिहरूको सिफारिसबमोजिम हामीले स्थानान्तरणका लागि स्वीकृति दिएका हौं।
डा. प्रकाश पोख्रेल
सहप्रवक्ता, विपद् जोखिम न्यूनीकरण प्राधिकरण
बस्ती स्थानान्तरणका लागि सुरक्षित ठाउँसमेत पहिचान गरिएको छ। अर्घाखाँचीको बुजुण्डो बस्तीलाई फुत्बाङ र गोरखाको देवलगाउँलाई फिलिममा सार्ने सरकारको योजना छ। भूगर्भविद्हरूको अध्ययनले हालको बस्ती बसोबासका लागि उपयुक्त नरहेको निष्कर्ष निकालेपछि स्थानान्तरणको प्रक्रिया अघि बढाइएको हो।
अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी भक्तिराम मरासिनीका अनुसार बुजुण्डोका ४४ घरधुरीमध्ये १९ परिवारले आफ्नो नाममा अन्यत्र जग्गा नभएको कबुलियतनामा गरिसकेका छन्। गोरखाको देवलगाउँका ८३ घरधुरीलाई पनि सुरक्षित स्थानमा सार्ने प्रक्रिया अघि बढेको छ। गत जेठमा भूगर्भविद्हरूको टोलीले स्थलगत अध्ययन गरी बस्ती स्थानान्तरण गर्न सुझाव दिएको थियो। चुमनुब्री गाउँपालिकाको सिफारिसपछि जिल्ला विपद् व्यवस्थापन समितिले प्राधिकरणलाई पत्राचार गरेको थियो।
जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार देवलगाउँ स्थानान्तरण गर्ने पहल २०८२ सालदेखि भइरहेको थियो। तर, लामो प्रयासपछि अहिले मात्रै स्वीकृति प्राप्त भएको हो। बस्ती स्थानान्तरणका लागि सरकारले प्रतिपरिवार तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म अनुदान दिने व्यवस्था गरेको छ। लाभग्राहीले जग्गा खरिद तथा आवास निर्माणको लागि स्थानीय तहमार्फत माग गरेपछि प्राधिकरणले रकम उपलब्ध गराउने जनाएको छ।
प्राधिकरणका सहप्रवक्ता पोखरेलले स्वीकृति प्राप्त भइसकेकाले लाभग्राहीले प्रक्रिया पूरा गरेर अनुदान लिन सक्ने बताए। ‘बस्ती स्थानान्तरण गर्ने कुरा अनुमोदन भइसक्यो। अब लाभग्राहीले अनुदान लिन सक्नुहुन्छ। गाउँपालिकामार्फत उहाँहरूले माग गर्ना साथ हामी अनुदान रकम पठाइदिन्छौं,’ उनले भने।
तर, बस्ती स्थानान्तरणको विषय अनुदान वितरणमामात्रै सीमित छैन। नयाँ ठाउँमा जग्गाको उपलब्धता, घर निर्माणको लागत, खानेपानी, सडक, विद्यालय र जीविकोपार्जनका आधारसमेत सुनिश्चित गर्नुपर्ने हुन्छ। पुरानो थातथलो, खेतीपाती र सामाजिक सम्बन्ध छाडेर नयाँ ठाउँमा जान स्थानीयलाई तयार पार्नु पनि उत्तिकै चुनौतीपूर्ण छ।
विशेषगरी जोखिम पहिचान भइसकेपछि पनि वर्षौंसम्म स्थानान्तरणको निर्णय कार्यान्वयन हुन नसक्नुले विपद् व्यवस्थापनमा देखिएको ढिलाइलाई उजागर गर्छ। अब स्वीकृति प्राप्त चार बस्तीका परिवारले साँच्चिकै सुरक्षित आवास पाउँछन् कि अनुदान र प्रक्रियामै अल्झिन्छन् भन्ने महŒवपूर्ण प्रश्न बनेको छ।