काठमाडौं - नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत तुईनखोला क्षेत्रमा पहिरो नियन्त्रण तथा रोकथामको काम गरिने भएपछि दैनिक पाँच घण्टा सडक बन्द हुने भएको छ।
चितवन जिल्ला प्रशासन कार्यालयका अनुसार मंसिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडकमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिनेछ।
तुईनखोला क्षेत्रमा पहिरो नियन्त्रणको कामका क्रममा सम्भावित जोखिम न्यूनीकरण गर्न तथा यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै सडक बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।
निर्धारित समयमा नारायणगढ–मुग्लिङ सडकखण्ड भएर सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ।
तर, काठमाडौं–मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने सडकखण्डमा भने सवारी आवागमन नियमित रहने प्रशासनले स्पष्ट पारेको छ।
सडक बन्द हुने समयलाई ध्यानमा राखी यात्रा व्यवस्थापन गर्न प्रशासनले यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ।