- पछिल्लो राजनीतिक घटनाक्रम, संसद् अधिवेशन, सरकारले सिफारिस गरेका अध्यादेश र इनम सापकोटा प्रकरणमा सरकारको कार्यशैलीलाई लिएर राजनीतिक वृत्तमा चासो बढिरहेका बेला सत्तापक्षीय दुई शीर्ष नेतालगत्तै प्रमुख प्रतिपक्षी नेताले राष्ट्रपति भेट्नुलाई सामान्य शिष्टाचार भेटका रूपमामात्र बुझ्न कठिन
- प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेले भेटेको भोलिपल्टै प्रमुख प्रतिपक्षी नेता आङ्देम्बेले भेटे राष्ट्रपति
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले लगातार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शुक्रबार सत्तारूढ दलका सभापति लामिछाने र प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। शनिबार साँझ प्रमुख प्रतिपक्षी दलका नेता आङ्देम्बे पनि शीतलनिवास पुगेका हुन्।
राष्ट्रपति भवनमा राष्ट्रपतिसँग करिब आधा घण्टा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको आङ्देम्बेका स्वकीय सचिव याम ढुंगानाले बताए। तर, पछिल्लो राजनीतिक घटनाक्रम, संसद् अधिवेशन, सरकारले सिफारिस गरेका अध्यादेश र इनम सापकोटा प्रकरणमा सरकारको कार्यशैलीलाई लिएर राजनीतिक वृत्तमा चासो बढिरहेका बेला सत्तापक्षीय दुई शीर्ष नेतालगत्तै प्रमुख प्रतिपक्षी नेताले राष्ट्रपति भेट्नुलाई सामान्य शिष्टाचार भेटका रूपमामात्र बुझ्न कठिन हुने विश्लेषकहरु बताउँछन्।
वालेन्द्र सरकारले सिफारिस गरेका तीनवटा अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएको विषय पछिल्लो राजनीतिक बहसको प्रमुख विषय बनेको छ। राष्ट्रपति पौडेलले ती अध्यादेश जारी नगरेपछि सरकारको चासो बढेको र प्रधानमन्त्री शाहले राष्ट्रपतिसँगको भेटमा यसबारे कुरा उठाएको राष्ट्रपतिनिकट स्रोतले जनाएको छ।
यतिबेला प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश र जेन-जी घटनासम्बन्धी छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग गठन गर्ने अध्यादेश राष्ट्रपति कार्यालयमा ‘होल्ड’मा छन्। प्रेस काउन्सिल र जेन-जी विद्रोहसम्बन्धी अध्यादेश दुवै विवादित छन्। तर, वालेन्द्र सरकार सदन छलेर भए पनि अध्यादेश ल्याएर अनुकूल कानुन बनाउन लागेको छ। यस्तोमा राष्ट्रपति पौडेलले तीनवटा अध्यादेश प्रमाणीकरण गर्न आनाकानी गरेका हुन्।
यसपछि रास्वपा सभापति लामिछानेले शुक्रबार राष्ट्रपति पौडेलसँगको भेटमा सरकार, संसद्, अध्यादेश र समसामयिक राजनीतिक विषयमा छलफल गरेका थिए। प्रधानमन्त्री शाहसँग लामिछानेको पाँच घण्टा लामो छलफल भएको भोलिपल्टै उनी राष्ट्रपति भेट्न पुगेका थिए। त्यसपछि प्रधानमन्त्री शाह पनि शीतलनिवास पुगेका थिए। यसले सरकार र पार्टी नेतृत्व दुवै तहबाट राष्ट्रपतिसँग संवाद भएको देखिन्छ।
अर्कोेतर्फ, सरकारले संसद्को अधिवेशन नबोलाएको विषयमा पनि आलोचना भइरहेको छ। गत १७ कात्तिकमै सबै प्रतिपक्षी दलहरूले संसदको विशेष अधिवेशन आह्वानको माग गरेका छन्। इनम सापकोटा प्रकरण, राज्यका लोकतान्त्रिक संस्थाहरूमाथि वालेन्द्र सरकारले गरेको हस्तक्षेप, कर्मचारीतन्त्र र प्रेस जगतमाथि भएको धरपकडबारे र जनजीविकाको सवालमा छलफल गर्न संसद् चाहिएको एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बताएकी छन्।
‘हामी सबै प्रतिपक्षी दलले सदनको माग गरेको महिना हुन लाग्यो तर सदन बस्ने छाँट देखिएन, जबकि जनताका जल्दाबल्दा तमाम मामिला छन्,’ उनले प्रभावसँग भनिन्, ‘राज्यको संस्थाहरूमाथि जसरी सरकारी हस्तक्षेप बढेको छ, त्यसबारे छलफल गर्न सदन चाहिएको छ र माग गर्दा पनि नबोलाएर सरकार अध्यादेश ल्याउन लागेको छ।’
सरकारले संसद्को हिउँदे अधिवेशन कहिले बोलाउँछ ? टुंगो छैन। राष्ट्रपति पौडेलले यसप्रति पनि प्रधानमन्त्री शाह, सत्तारुढ दल रास्वपाका सभापति लामिछाने र प्रमुख प्रतिपक्षी नेता आङ्देम्बेसँग चासो राखेका थिए। सभामुख डोलप्रसाद अर्याल पनि संसद् बोलाउनेबारे सक्रिय भएका छैनन्।
जबकि, संसद्को हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भन्ने गरिन्छ। कारण, कानुन निर्माणमा मात्रै अधिवेशन केन्द्रित हुने गरेको छ। यद्यपि, वालेन्द्र सरकारले सदन बोलाएर त्यहीँबाट कानुन निर्माणभन्दा पनि अध्यादेशको साहरा लिइरहेका छन्। यसबीच यसपटक भने राष्ट्रपतिले तीनवटा अध्यादेश प्रमाणीकरण नगरी विचाराधीन राखेका छन्। यसपछि प्रधानमन्त्री शाह, उनको दलका सभापतिदेखि प्रतिपक्षीय नेताहरू शीतल निवास धाउन थालेका हुन्।