काठमाडौं- आइसिसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत नेपालले घरेलु टोली ओमानलाई १० रनले पराजित गरेको छ।
यस जितसँगै नेपाल लिग-२ अन्तर्गतको अंकतालिकामा छैटौं स्थानमा उक्लिएको छ। शीर्ष छ भित्र पर्न नेेपालमाथि आजको खेल जित्नैपर्ने दबाब थियो।
शीर्ष छ भित्र पर्ने टोलीको एक दिवसीय मान्यता निरन्तर रहने बताइएको छ। यद्यपि नेपालको एक दिवसीय मान्यता जोगिएकोबारे आइसिसीको आधिकारिक निर्णय आउन बाँकी छ।
आज ओमानको अलअमरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानलाई पराजित गर्दै नेपालले क्यानाडालाई पछि पारेर शीर्ष छ मा स्थान सुरक्षित गरेको हो। यो जितपछि नेपालको ३० अंक भएको छ भने क्यानाडा २९ अंकका साथ सातौं स्थानमा झरेको छ। ओमान ३३ अंकका साथ चौथो स्थानमा छ।
आजको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २८० रन बनाएको थियो । नेपालका रोहित पौडेलले सर्वाधिक ८० रनको योगदान गरे। यसैगरी दिपेन्द्रसिंह ऐरीले ६९ रन, देव खनालले ५७, इसान पाण्डेले २९, बसिर अहमदले १७, करण केसीले नौ, आशिफ शेखले सात तथा गुल्सन झाले पाँच रन बनाए।
ओमानका शाह फैसलले सर्वाधिक पाँच विकेट लिए। यस्तै जय औडेद्राले तीन र समया श्रीवास्तभले दुई विकेट लिए।
नेपालले दिएको २८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको ओमान सात विकेट गुमाएर मात्र २७० रनमा समेटियो।
ओमानका जतिन्दर सिंहले सर्वाधिक ८९ रन बनाए। हम्मान मिर्जाले ८७, हसनाइन शाहले ४०, हसनाइन उल वाहाबले १५, मुजीबुर अलीले आठ, सन्जु सञ्जीवले पाँच र शाह फइसलले चार रन जोडे।
नेपालका ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले दुई-दुई तथा सन्दीप लामिछाने र नन्दन यादवले एक-एक विकेट हात पारे।
ओमानमा भएको यो श्रृंखलामा नेपालले तेस्रो जित निकालेको हो। यसअघि तीन खेलमध्ये दुईमा जित र एकमा पराजय बेहोरेको थियो। शृंखलाको पहिलो खेलमा क्यानाडा र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो। तेस्रो खेलमा भने क्यानाडासँग पराजित भएको थियो।