काठमाडौं - गाउँपालिका राष्ट्रिय महासंघ नेपालकी केन्द्रीय अध्यक्ष लक्ष्मी देवी पाण्डे नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने तयारीमा जुटेकी छन्। स्थानीय सरकार र सांगठनिक राजनीतिमा लामो समयदेखि सक्रिय रहेकी पाण्डेले राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति अझ सशक्त बनाउन केन्द्रीय सदस्यमा दाबी प्रस्तुत गर्न लागेकी हुन्।
हालै सम्पन्न नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा पाण्डेले महिला खुला तर्फ सर्वाधिक मत प्राप्त गर्दै शानदार विजय हासिल गरेकी थिइन्। क्षेत्रीय प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिमा अत्यधिक लोकप्रियताका साथ विजयी भएपछि उनले केन्द्रीय तहको सांगठनिक नेतृत्वमा कदम बढाउने निर्णय गरेकी हुन्।
स्थानीय तहको सफल नेतृत्व र महासंघको अध्यक्षता
लक्ष्मी पाण्डे स्थानीय तहको निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाबाट लगातार दुईपटक अध्यक्ष पदमा निर्वाचित जनप्रतिनिधि हुन्। पहिलोपटक गाउँपालिका अध्यक्ष निर्वाचित भएपछि स्थानीय सरकार सञ्चालनमा देखाएको उत्कृष्ट कार्यसम्पादन, प्रशासनिक दक्षता र समावेशी सुशासनका कारण उनी देशभरीका ४६० गाउँपालिकाहरूको साझा प्रतिनिधिमूलक संस्था 'गाउँपालिका राष्ट्रिय महासंघ नेपाल' (NARMIN) को केन्द्रीय अध्यक्ष चयन भएकी थिइन्।
स्थानीय तह र पार्टीलाई जोड्ने पुल
महासंघको नेतृत्व सम्हाल्दा उनले देशैभरका स्थानीय सरकारहरूसँग निकट रहेर काम गरेकी छन्। जसका कारण उनलाई देशैभरिका स्थानीय तहका प्रतिनिधिहरूको साझा आवाजका रूपमा हेरिएको छ। काँग्रेसले युवा, महिला, दलित, पेशागत र गैरआवासीय नेपालीहरूलाई जोडेजस्तै गाउँपालिका महासंघमार्फत स्थानीय तह र पार्टी संगठनलाई जोड्न पाण्डेको उम्मेदवारीलाई अत्यन्त महत्त्वपूर्ण मानिएको छ। विश्लेषकहरूका अनुसार उनलाई केन्द्रीय सदस्यमा निर्वाचित गराउँदा देशैभरका स्थानीय तहहरूलाई थप सम्मान र न्याय पुग्नेछ।
अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी उपस्थिति स्थानीय विकास र सुशासनमा स्थापित छवि बनाएकी पाण्डे अन्तर्राष्ट्रिय मञ्चमा समेत नेपालको प्रतिनिधित्व गर्दै प्रभावशाली रूपमा प्रस्तुत हुँदै आएकी छन्। उनी विश्वभरका स्थानीय सरकार, शहर तथा नगरपालिकाहरूको अन्तर्राष्ट्रिय छाता सङ्गठन 'युनाइटेड सिटीज एन्ड लोकल गभर्नमेन्ट्स' (UCLG) को एशिया-प्रशान्त क्षेत्र (UCLG ASPAC) मा सह-अध्यक्ष (Co-President) का रूपमा कार्यरत छिन्। UCLG ASPAC का अन्तर्राष्ट्रिय सभा सम्मेलनहरूमा काँग्रेस केन्द्रीय सदस्यको हैसियतमा सहभागी हुँदा पार्टीलाई अन्तर्राष्ट्रिय जगतमा अझ सशक्त रूपमा चिनाउन सहज हुने आकलन गरिएको छ।
राजनीतिक निष्ठा र सुदृढ जनाधार
पार्टी राजनीतिभित्र पाण्डेलाई नेपाली काँग्रेसका सभापति गगन थापाको विचार र एजेन्डालाई दृढताका साथ अघि बढाउने एक निडर नेताका रूपमा चिनिन्छ। सुरुवाती समयदेखि नै महामन्त्री थापालाई नजिकबाट साथ र समर्थन दिँदै आएकी पाण्डेले पार्टी रूपान्तरण, आन्तरिक लोकतन्त्र र सुशासनका मुद्दालाई निरन्तर उठाउँदै आएकी छन्।
स्थानीय सरकारको सफल नेतृत्व, अन्तर्राष्ट्रिय अनुभव, सांगठनिक पकड र विषेश महाधिवेशन पक्षघर सबै नेताहरू सँगको निकट सम्बन्धका कारण उनको दाबी निकै बलियो रहेको र उम्मेदवारीलाई सहज जीतको रूपमा हेरिएको छ।