जनकपुरधाम - मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त भएका छन्। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयबाट मंसिर ५ गते जारी गरिएको आधिकारिक नियुक्तिपत्रमा बारा जिल्लाबाट प्रदेशसभा सदस्य रहनुभएका यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरिएको उल्लेख छ।
प्रदेश प्रमुख कर्णले नियुक्तिपत्रमार्फत मुख्यमन्त्रीमा नियुक्त भएकोमा यादवलाई बधाई दिँदै उनको कार्यकाल सफलताको कामनासमेत गरेका छन् ।
प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादव मुख्यमन्त्री नियुक्त भएका हुन् । उनकाे नियुक्तिसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि यादवले सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। संविधानको धारा १६८ को उपधारा (३) अनुसार नियुक्त मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
अब यादव नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सक्छ वा सक्दैन भन्ने विषयले मधेश प्रदेशको आगामी राजनीतिक समीकरणलाई निर्धारण गर्नेछ।
यससँगै मधेश प्रदेशमा नयाँ राजनीतिक अध्याय सुरु भएको छ।

