काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले मुलुकको राष्ट्रिय हित, जनताका समस्या समाधानमा पार्टीले एकता कायम राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।
एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई राष्ट्रियता र जनताका सरोकारका विषयमा स्पष्ट दृष्टिकोणसहित सक्रिय हुन आग्रह गरे।
उनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षबाट पछि हट्न नहुनेमा जोड दिए। उपाध्यक्ष थापाले आशन्न स्थानीय तह, प्रदेशसभालगायतका निर्वाचनमा जनतासँग प्रत्यक्ष मितेरी गाँस्नुपर्छ भने।
केन्द्रीय समितिले विगतको निर्वाचनबारे गम्भीर आत्मसमीक्षा गरेको र सही निष्कर्ष निकालेको उल्लेख गर्दै दृढतापूर्वक कार्यान्वयन जरुरी रहेको बताए।
भेलामा तीन हजार ४१४ जना नेता तथा कार्यकर्ता सहभागी छन्। स्थानीय तह निर्वाचनको तयारी, पार्टीको वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढीकरण र राष्ट्रिय राजनीतिक परिस्थितिबारे साझा दृष्टिकोण निर्माण गर्न भेला आयोजना गरिएको हो।
भेला सकिएलगत्तै आजै साँझ पार्टीको केन्द्रीय कमिटीको बैठक बस्ने कार्यक्रम रहेको प्रचार विभागका प्रमुख निरज आचार्यले जानकारी दिए।