- कांग्रेसबाट सुशन वैद्य, प्रकृति भट्टराई बस्नेतदेखि हरिप्रभा खड्कीले उम्मेदवारी दाबी गर्ने
- रास्वपाबाट अमृत लामादेखि गणपतिलाल श्रेष्ठसम्म दाबेदार
- कार्यवाहक मेयर सुनिता डंगोललाई उम्मेदवार बनाउने एमालेको तयारी
काठमाडौं– अमेरिका बस्दै आएका कलाकार अमृत लामाले दुई हप्ताअघि काठमाडौंको मेयरमा उम्मेदवारी दिने घोषणा गरे । लामाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को क्याण्डिडेट क्लबमार्फत मेयर पदका लागि नाम दर्ता गरिसकेका छन् ।
‘हामी नेपाली ग्लोबल’ नामक संस्थामार्फत विदेशमा रहेका नेपालीहरुलाई एकताबद्ध गर्ने अभियानमा लागेका लामा सरकारले स्थानीय तहको निर्वाचन गर्ने सुरसार देखाउनसाथ मेयरमा भिड्ने आकांक्षा देखाएका सम्भवतः पहिलो व्यक्ति हुन् ।
स्थानीय तहको निर्वाचनका लागि दलहरुलाई निर्वाचन आयोगले बोलाएसँगै यसको रौनक थपेको छ । बुधबारमात्र पूर्वमन्त्री सुमना श्रेष्ठले पनि काठमाडौंको मेयरमा भिड्ने घोषणा गरेकी छन् । ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु,’ पूर्वमन्त्री श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छन् ।
अघिल्लो प्रतिनिधिसभामा रास्वपाबाट समानुपातिक सांसद बनेकी उनी शिक्षामन्त्रीसमेत भइन् । पार्टीको सहमहामन्त्री हुँदै उनले पार्टी छाडिसकेकी छन् । जेन–जी आन्दोलनपछि श्रेष्ठ कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा प्रवेश गर्ने चर्चासमेत चलेको थियो ।
पूर्वमन्त्रीको उम्मेदवारीसँगै दलहरुले कसलाई उम्मेदवार बनाउलान् भन्ने विषयलाई महŒवका साथ हेरिएको छ । गत निर्वाचनबाट काठमाडौं महानगरको मेयरमा निर्वाचित वालेन्द्र शाह प्रधानमन्त्री बनेपछि कार्यवाहक मेयर बनेकी सुनिता डंगोलले मेयरकी दाबेदार हुन् ।
डंगोल यसअघिको निर्वाचनमा नेकपा एमालेबाट उपमेयरमा निर्वाचित भएकी थिइन् । कार्यवाहक मेयर भएपछि सुनिताले महानगरमा रफ्तार बढाएकी छन् । उनी सत्तारुढ दल रास्वपाबाटै उम्मेदवार हुने चर्चासमेत चुलिँदो छ ।
रास्वपामा काठमाडौंमा उम्मेदवार बनाउनेबारे समिति नै बनाएर आवेदन आह्वान भएको छ । यसमा लामाबाहेक क–कसले क्याण्डिडेट क्लबमा नाम दर्ता गरे भन्ने विषय अहिलेसम्म सार्वजनिक भएको छैन । काठमाडौं महानगरमा रास्वपाबाट कसलाई मेयरको उम्मेदवार बनाउने भन्ने विषयमा तीनजना नेताको टक्कर हुने देखिन्छ ।
ती नेता हुन्– प्रधानमन्त्री वालेन्द्र, रास्वपा सभापति रवि लामिछाने र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ । श्रेष्ठ गणपतिलाल श्रेष्ठलाई मेयरको उम्मेदवार बनाउन चाहन्छन् भने सभापति लामिछाने कमलप्रसाद पन्तलाई । पन्त रास्वपा काठमाडौं महानगरका सभापति हुन् ।
यता रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यसमेत मेयरको आकांक्षी हुन् । उनी विराजभक्त निकट नेता हुन् ।
कांग्रेसबाट को बन्ला ?
कांग्रेसबाट काठमाडौं महानगर सभापति सुशन वैद्यको नाम कांग्रेस वृत्तमा सर्वाधिक चर्चामा छ । यद्यपि महानगरको उपमेयर बनिसकेकी प्रदेशसभा सदस्य हरिप्रभा खड्कीको नाम पनि यो सूचीमा छ ।
केही समय अघिमात्रै कांग्रेसमा प्रवेश गरेकी प्रकृति भट्टराई बस्नेतको नाम पनि चर्चामा छ । यसो त बुधबारमात्र मेयरमा उम्मेदवारी घोषणा गरेकी पूर्वमन्त्री सुमनाको नामसमेत कांग्रेसको सूचीमा रहेको छ । ‘कांग्रेसबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा आन्तरिक छलफलपछिमात्र घोषणा हुन्छ होला । यद्यपि सुमना पनि सम्भावित उम्मेदवार हुन्,’ कांग्रेसका एक पदाधिकारीले भने ।
कांग्रेस सभापति गगन थापासँग सुमना, उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ र प्रधानमन्त्री शाहबीच नयाँ दल खोल्ने सन्दर्भमा जेन–जी विद्रोहपछि पटक–पटक छलफलसमेत भएको थियो । यो विषयमा समन्वयको भूमिका सुमनाले खेलेकी थिइन् ।
काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारले पनि बाजी मार्ने भएकोले पनि यहाँको भिडन्त रोचक हुने गरेको छ । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले स्वतन्त्र उम्मेदवारी दिने चर्चा छ ।
भोलि ६ दलसँग छलफल गर्दै आयोग
निर्वाचन आयोगले आगामी स्थानीय निर्वाचनबारे छलफल गर्न राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ । राष्ट्रिय मान्यताप्राप्त छ वटा राजनीतिक दलका प्रमुखलाई भोलि शुक्रबार छलफलका लागि पत्रचार गरेको आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले बताए ।
आयोगले रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखलाई बैठकमा बोलाएको हो । सरकारले आगामी चैतमा स्थानीय तह निर्वाचन गर्ने तयारी गरेको छ ।
त्यस्तै, स्थानीय र प्रदेश तह निर्वाचन एकै चरणमा गर्ने कि नगर्ने भन्नेबारे पनि बहस हुँदै आएको छ ।