काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कदमविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। बुधबार राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै अध्यक्ष ओलीले आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।
ओलीले सरकारले राजनीतिक प्रतिशोधका आधारमा आफू तथा पार्टीका नेता-कार्यकर्तालाई पक्राउ गर्न सक्ने आरोप लगाए। उनले सरकारको गतिविधिप्रति सचेत रहन र आवश्यक परे आन्दोलनमा उत्रन तयार रहन कार्यकर्तालाई आग्रह गरे।
‘आन्दोलनको तयारी हिसाबमा बस्नुस्। कुनै पनि समय सरकारले प्रतिशोध कसैमाथि पनि लिन सक्छ, कसैलाई पनि गिरफ्तार गर्न सक्छ, कसैमाथि हमला गर्न सक्छ,’ ओलीले भने। उनले आफूलाई गिरफ्तार गरिए एमाले चुप लागेर नबस्ने चेतावनी दिँदै यसअघि हजारौंको संख्यामा सडकमा उत्रिएको पार्टी अब लाखौंको संख्यामा प्रदर्शनमा उत्रने दाबी गरे। ‘एमाले चुप लागेर बस्नेछैन। संख्या केही हजारका दरले त्यसबेला निस्कियो होला। अब लाखका हिसाबले निस्कन्छ,’ ओलीले भने।
यसैबीच, ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले आफू, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थुनिदिने अभिव्यक्ति दिएको दाबी गरेका छन्। राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आईजीपीको यस्तो अभिव्यक्तिको औचित्यमाथि प्रश्न उठाए। ‘आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म। आईजीपीको बोली त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुनिदिन्छु, शेरबहादुरलाई थुनिदिन्छु, प्रचण्डलाई थुनिदिन्छु। केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् ?’ उनले प्रश्न गरे।
ओलीले आफूहरू राणा शासन, पञ्चायती व्यवस्था तथा निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको उल्लेख गर्दै प्रहरी प्रशासनका जिम्मेवार व्यक्तिबाट यस्ता अभिव्यक्ति आउनु आपत्तिजनक भएको बताए। उनले आफूहरूविरुद्ध प्रमाण भए कानुनअनुसार पक्राउ गरेर थुन्न चुनौतीसमेत दिए। ‘थुने हुन्छ नि समातेर। जो आउँछ थुनिदिन्छु, क्या हो यो ? हामी मजाकका पात्र हौं ? प्रमाण भेटे अरे, प्रमाण भेटे र उनी पनि थुनिन्छन् होला नि, अरू पनि थुनिन्छन् होला नि,’ ओलीले भने।
त्यस्तै, गृहमन्त्री सुधन गुरुङले फाइल खुल्दै गरेको र सबैलाई थुनिने अभिव्यक्ति दिएको भन्दै ओलीले त्यसको पनि आलोचना गरे। ‘गृहमन्त्रीले फाइल खोल्दै छु, पर्खनुस्, सबै थुनिन्छ। एकसे एक थुनिन्छ। कसलाई भनेको हो ? सबै थुनिन्छन् भने उनी र को को बाँच्छन् त नेपालमा ?’ उनले प्रश्न गरे। ओलीले सरकारका जिम्मेवार व्यक्तिहरूले गैरजिम्मेवार अभिव्यक्ति दिएर जनतामा त्रास सिर्जना गर्न खोजेको आरोप लगाउँदै यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।