काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गरिने बताएका छन्। उनले अखिल नेपाल किसान महासंघ, केन्द्रीय कमिटीको छैटौँ विस्तारित बैठकलाई सम्बोधनका क्रममा बताएका हुन्।
ओलीले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा पार्टी अगाडि बढ्ने बताए। उनका अनुसार एमाले मजबुत, देशभक्त, लोकतान्त्रिक तथा स्पष्ट दृष्टिकोण र सुदृढ सङ्गठन रहेको पार्टी भएको बताए।
पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकले आगामी ‘दुई कार्यभार र १५ काम’ निर्धारण गरेको जानकारी गराउँदै अध्यक्ष ओलीले आन्दोलन र स्थानीय तह निर्वाचनका ती कार्यभार पूरा गर्ने तयारीमा लाग्न निर्देशन दिए। उनले आगामी निर्वाचनमा हामी जित्छौँ भन्ने आत्मविश्वासका साथ अगाडि बढ्न नेताकार्यकर्तालाई निर्देशन दिए।
नेपालको किसान आन्दोलन राजनीतिक परिवर्तन सफल बनाउने जगका रूपमा रहेको र कयौँ किसान नेताहरूले अमूल्य योगदानका साथै सहादत प्राप्त गरेको अध्यक्ष ओलीले स्मरण गरे।
किसान महासंघलाई विस्तार गर्ने बृहत् आधारहरू रहेको र त्यसका लागि सक्रियता आवश्यक रहेको बताउँदै उनले आफ्नो विगतको गौरवलाई सम्झेर त्यसलाई कायम गर्न विभिन्न क्षेत्रका किसानलाई महासंघमा आवद्ध गर्न आग्रह गरे।
अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले महासंघ ७३ जिल्ला, ५३९ पालिकाका एक हजार ३६५ वडामा क्रियाशील रहेको रहेको जानकारी गराए।