काठमाडौं- मलेसियामा वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकहरूसँग गैरकानुनीरूपमा अतिरिक्त शुल्क असुल गरी ठगी गरेको आरोपमा प्रहरीले नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जनालाई पक्राउ गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा उपत्यका अपराध अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१ का खड्का तथा भक्तपुर चाँगुनारायण नगरपालिका-९ का रविन्द्र केसी, गोरखा घर भई हाल टोखा बस्ने प्रविण तिवारी र सर्लाही घर भई हाल गोकर्णेश्वर बस्ने रामपुकार तिवारी रहेका ब्युरोले जनाएको छ।
प्रहरीका अनुसार वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने क्रममा नेपाल सरकारले तोकेको आधिकारिक शुल्कबाहेक अतिरिक्त रकम असुल गरिएको पाइएको छ।
प्रतिवादीहरूले 'म्याक्रोटेक प्रालि' को नाममा बायो-मेडिकल सर्भिस चार्ज (मेडिकल स्क्रिनिङ) भन्दै गैरकानुनीरूपमा थप शुल्क उठाई संगठितरूपमा ठगी गर्दै आएका थिए। श्रमिकहरूलाई आर्थिक हानि पुर्याएर उनीहरूले अनुचित आर्थिक लाभ लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनाविरुद्ध ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत कसुरमा मुद्दा चलाइएको छ। काठमाडौं जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अगाडि बढाएको छ।
यसैबीच, प्रहरीले विज्ञप्ति जारी गर्दै यस प्रकरणबाट ठगिएका अन्य पीडितहरूलाई पनि प्रमाणसहित यथाशीघ्र प्रहरी ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई जाहेरी दरखास्त दिन अनुरोध गरेको छ।