- स्थानीय श्रमिकको अभाव हुँदा जापानको कृषि क्षेत्रमा विदेशी श्रमिकको माग बढ्दै
- नेपाल, बंगलादेश र श्रीलंकाबाट जापान जाने श्रमिकको संख्या बढ्दो
- जापानको कृषि क्षेत्रमा काम गर्ने नेपाली श्रमिकको संख्या एक वर्षमा ३० प्रतिशतले बढेको क्योडो न्युजद्वारा उल्लेख
काठमाडौं- जापानको कृषि क्षेत्रमा दक्षिण एसियाली मुलुकका श्रमिकको उपस्थिति बढ्दै गएको पाइएको छ। विशेषगरी नेपाल, बंगलादेश र श्रीलंकाबाट जापान जाने श्रमिकको संख्या बढ्न थालेको जनाइएको छ। दक्षिणपूर्वी एसियाली मुलुकबाट श्रमिक आपूर्ति घट्दै गएपछि जापानले दक्षिण एसियालाई नयाँ श्रमिक स्रोतका रुपमा लिन थालेको हो।
जापानको कृषि क्षेत्रमा काम गर्ने नेपाली श्रमिकको संख्या एक वर्षमा ३० प्रतिशतले बढेको क्योडो न्युजले जनाएको छ। जापानको अध्यागमन सेवा निकायका अनुसार सन् २०२५ को जुन महिनासम्म जापानमा कृषि क्षेत्रमा काम गर्ने नेपाली श्रमिकको संख्या ९१६ पुगेको छ। त्योभन्दा अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०५ रहेको थियो।
समाचारका अनुसार बंगलादेशबाट जाने श्रमिकको संख्या १२७ प्रतिशतले बढेर ३३४ पुगेको छ। श्रीलंकाबाट जानेको संख्या ६० प्रतिशतले बढेर ६३८ पुगेको छ। इण्डोनेसिया भने जापानको कृषि क्षेत्रमा सबैभन्दा धेरै श्रमिक पठाउने मुलुक बनेको छ। उक्त मुलुकबाट १८ हजार २५५ जना कृषि श्रमिक जापान पुगेका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशत बढी हो।
स्थानीय श्रमिकको अभाव हुँदा जापानको कृषि क्षेत्रमा विदेशी श्रमिकको माग बढेको जनाइएको छ। जापानमा जनसंख्या वृद्धिदर घट्दै गएको र काम गर्ने उमेर समूहका नागरिकको संख्या कम हुँदै गएको छ। कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव अझ बढी भएको बताइन्छ। यस्तो अवस्थामा जापानले विदेशी श्रमिक भित्र्याउने प्रक्रिया सहज बनाउँदै लगेको समाचारमा भनिएको छ।
जापानको मिराई नामक कम्पनीले पनि दक्षिण एसियाली मुलुकबाट कृषि श्रमिक लैजाने तयारी अघि बढाएको छ। यसका लागि जापानको निर्दिष्ट सीपयुक्त श्रमिकअन्तर्गत कृषि क्षेत्रको परीक्षा उत्तीर्ण गर्नुपर्छ। मिराईको मूल कम्पनी सस्टेनेबल होल्डिङ्सका अधिकारी युजी नोमुराका अनुसार दक्षिणपूर्वी एसियाली मुलुकमा ज्याला बढ्दै जाँदा त्यहाँबाट जापान जाने श्रमिकको प्रवाह प्रभावित भएको छ। त्यसैले जापानले दक्षिण एसियाली मुलुकलाई श्रमिक आपूर्तिको नयाँ स्रोतका रुपमा हेर्न थालेको जनाइएको छ।
समाचारका अनुसार सन् २०१८ देखि कम्पनीले एसियाका विभिन्न मुलुकमा जापानी भाषा र सीपसम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ। फिलिपिन्स, इण्डोनेसिया, भियतनाम, बंगलादेश र म्यानमारमा रहेका साझेदार संस्थामार्फत श्रमिकलाई प्रशिक्षण दिइँदै आएको छ। पछिल्लो समय नेपाल र श्रीलंकामा पनि यसको सञ्जाल विस्तार गरिएको छ। गत साता जापानी प्रतिनिधिमण्डलले नेपालबाट कृषि क्षेत्रमा कसरी कामदार लग्न सकिन्छ भनेर सेमिनारसमेत आयोजना गरेको थियो।
जापानको कृषि क्षेत्रमा निर्दिष्ट सीपयुक्त श्रमिकका रुपमा काम गर्न जापानी भाषाको आधारभूत तहको एन-४ परीक्षा उत्तीर्ण गर्नुपर्छ। साथै, कृषि क्षेत्रसँग सम्बन्धित लिखित तथा प्रयोगात्मक परीक्षा पनि उत्तीर्ण गर्नुपर्छ। यसरी छनोट भएका श्रमिकले पहिलो तहको निर्दिष्ट सीपयुक्त श्रमिकका रुपमा अधिकतम पाँच वर्षसम्म जापानमा काम गर्न पाउँछन्।
जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका अनुसार सन् २०२५ डिसेम्बरको अन्त्यसम्म कृषि क्षेत्रमा निर्दिष्ट सीपयुक्त श्रमिक र प्राविधिक प्रशिक्षार्थीको कूल संख्या ६७ हजार ९०५ पुगेको थियो। यसले जापानको कृषि क्षेत्र विदेशी श्रमिकमा निर्भर हुँदै गएको देखिन्छ।
जापानमा नेपाल, बंगलादेश र श्रीलंकाका श्रमिकलाई मिहेनती र जिम्मेवार मानिने गरेको समाचारमा भनिएको छ। त्यहाँ काम गर्ने श्रमिकले राम्रो आम्दानी गर्नुका साथै आधुनिक कृषि प्रविधि सिक्ने अवसर पनि पाउने बताइन्छ। हाल नेपालबाट नर्सिङ केयरगिभर, हस्पिटालिटी, निर्माण, उत्पादनलगायतका क्षेत्रमा जापान जाँदै आएका छन्। नेपालका लागि जापानको कृषि क्षेत्रमा पनि युवाहरु आकर्षित हुने देखिन्छ।