- मंगलबार रियादको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टस्थित एक भवन लक्षित आक्रमणमा तीन जना नेपाली श्रमिक घाइते भएका छन्। उक्त घटनामा कूल ११ जना घाइते भएका थिए, जसमा तीन जना नेपाली, दुई जना भारतीय, दुई जना साउदी र चार जना इजिप्टका नागरिक छन्।
काठमाडौं- साउदी अरबमा हुथी विद्रोहीको आक्रमणमा परेर यो वर्ष एक जना नेपाली श्रमिकको मृत्यु हुँदा छ जना घाइते भएका छन्। पछिल्लो समय साउदीका विमानस्थल, तेल प्रशोधन केन्द्र र अन्य महत्वपूर्ण पूर्वाधार लक्षित आक्रमणमा नेपाली श्रमिकसमेत प्रभावित भएका हुन्।
पछिल्लोपटक नोभेम्बर २४ (मंगलबार) मा रियादको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टस्थित एक भवन लक्षित आक्रमणमा तीन जना नेपाली श्रमिक घाइते भएका छन्। उक्त घटनामा कूल ११ जना घाइते भएका थिए, जसमा तीन जना नेपाली, दुई जना भारतीय, दुई जना साउदी र चार जना इजिप्टका नागरिक छन्।
यसअघि गत अक्टोबर ११ मा रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा दुई जना नेपाली घाइते भएका रिपोर्ट सार्वजनिक भएको थियो। त्यस्तै, अक्टोबर २१ मा साउदी अराम्कोको शायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा महोत्तरीका भरत महत्तोको मृत्यु भयो। सोही दिन दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक जना नेपाली घाइते भएका थिए।
यी चार घटनामा एक जना नेपालीको मृत्यु र छ जना घाइते भएका हुन्। साउदीमा करिब चार लाख नेपाली श्रमिक कार्यरत छन्। उनीहरु निर्माण, सुरक्षा, सेवा, होटल, यातायात लगायतका क्षेत्रमा काम गर्छन्। केही समययता जारी युद्धका कारण उनीहरुको रोजगारीसँगै व्यक्तिगत सुरक्षासमेत जोखिमपूर्ण बनेको छ। हुथी विद्रोहीले साउदीका विमानस्थल र तेल पूर्वाधारलाई लक्षित गरेपछि श्रमिकको दैनिक जीवनसमेत प्रभावित भएको छ। अर्कोतर्फ आक्रमणका कारण हवाई उडान अवरुद्ध हुँदा बिदामा नेपाल आउन चाहने र करार अवधि सकिएर स्वदेश फर्किन खोज्ने श्रमिकहरुसमेत उडान रद्द हुने, ढिलाइ हुनेलगायतका समस्यामा परिरहेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारका अनुसार अक्टोबर ८ देखि २५ सम्म साउदीका विमानस्थलबाट हुने निर्धारित उडानमध्ये करिब ४५ प्रतिशत रद्द भएका थिए। रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा रद्द भएका उडानको अनुपात ८६ प्रतिशत पुगेको थियो। नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अक्टोबर ११ यता १५ भन्दा बढी निर्धारित उडान रद्द गरेका थिए। जसकारण बिदा सकिएका र करार अवधि पूरा भएका श्रमिकहरु स्वदेश फर्किन नपाएर समस्यामा परेका थिए। कतिपय श्रमिकले उडानका लागि अर्को सहर पुग्नुपरेको थियो।
हुथी विद्रोहीले आक्रमण नरोके पनि सुरक्षाको दृष्टिकोणले नेपालीहरु अप्ठ्यारो अवस्थामा नरहेको जानकारी प्राप्त भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हिराबहादुर डाँगीले बताए। ‘कहाँ-कहाँ आक्रमण हुन्छ भन्ने थाहा हुँदैन। तर आक्रमणहरु भइरहे पनि त्यहाँका नेपालीहरुलाई अप्ठ्यारो नभएको जानकारी हामीलाई प्राप्त भएको छ। श्रमिकहरु आफ्नो काम गरिरहेका छन्,’ डाँगीले भने।
नेपालस्थित परराष्ट्र मन्त्रालय र साउदीस्थित नेपाली दूतावासले पनि श्रमिकको सुरक्षाबारे चासो देखाउँदै आएका छन्। दूतावासले विभिन्न समयमा सूचना जारी गर्दै सुरक्षा सतर्कता अपनाउन, स्थानीय प्रशासनको निर्देशन पालना गर्न र जोखिमको सूचना जारी भएका बेला घरभित्रै बस्न आग्रह गरेको छ। साथै, हवाई यात्रा गर्नुअघि उडानको अवस्था सम्बन्धित विमान कम्पनी वा आधिकारिक निकायबाट बुझ्न पनि अनुरोध गर्दै आएको छ।
नेपालको वैदेशिक रोजगार खाडी मुलुकमा निर्भर छ। ती मुलुकहरुमा कार्यरत लाखौं नेपालीले पठाउने विप्रेषणले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। तर गन्तव्य मुलुकमा तनाव बढ्दा रोजगारी गुम्ने, आवागमन अवरुद्ध हुने र ज्यान जोखिममा पर्ने अवस्था सिर्जना हुने गरेको छ।