व्यक्तिको पहिलो पाठसाला घर हो। उसले पहिलो पाठ किताबबाट होइन, अभिभावकको व्यवहारबाट सिक्छ। बाबुआमा आफैं किताब पढ्दैनन्, छोराछोरी संग बसेर पढाइबारे छलफल गर्दैनन्, तर छोराछोरीलाई मात्र पढ्न दबाब दिन्छन् भने त्यसको प्रभाव सीमित हुन्छ।छोराछोरी सँगै बसेर अभिभावकले पनि किताब पढ्ने बानी बसाल्ने हो भने पढाइप्रतिको उसको दृष्टिकोणमा ठूलो परिवर्तन आउन सक्छ।हामीमध्ये कति अभिभावकले छोराछोरीका लागि किताब किनिदिन्छौं? कति जनाले बच्चासँगै बसेर किताब पढ्छौं? हामी बच्चालाई मोबाइल नचलाऊ भन्छौं, तर आफैं मोबाइल छाड्न सक्दैनौं। बच्चालाई पढ्न आदेश दिनुभन्दा पढ्ने वातावरण बनाउनु आवश्यक छ।
विद्यार्थी कक्षाकोठा मा पुगेपछि ऊ
करले, डरले वा मनले’ कुन हिसाबले पढिरहेको छ भन्ने कुरा पनि बुझ्नुपर्छ। मनले पढ्न आएको विद्यार्थीलाई राम्रो मार्गदर्शन गर्न सकिन्छ। कर वा डरले आएको विद्यार्थीलाई कक्षामा टिकाइराख्न कठिन हुन्छ। मोबाइल को रील जस्तै रंगीन दुनियाँ मात्र देखेका विद्यार्थी हरु बोइलर कुखुरा जस्तै हुन्छन्।
आज नेपालका क्याम्पसहरूमा विद्यार्थीको खडेरी देखिन थालेको छ। कुनै समय विद्यार्थीको भीडले भरिने कक्षाकोठा अहिले कतिपय ठाउँमा सुनसान देखिन्छन्। विशेषगरी १२ कक्षा पूरा गरेपछि नेपालमै उच्च शिक्षा अध्ययन गर्नेभन्दा विदेश जाने सोच बनाउने विद्यार्थीको संख्या बढ्दो छ।
आर्थिक वर्ष २०८१/८२ मा विदेशमा अध्ययनका लागि १ लाख २३ हजार ५८९ एनओसी जारी भएको तथ्यांकले पनि विदेश अध्ययनप्रतिको आकर्षणको आकार देखाउँछ। तर एनओसी को संख्या र विदेश जाने विद्यार्थीको वास्तविक संख्या एउटै भने होइन; एउटै विद्यार्थीले विभिन्न कारणले एकभन्दा बढी एनओसी लिन सक्ने भएकाले यसलाई त्यसैगरी बुझ्नुपर्छ।
अघिल्लो आर्थिक वर्षको तथ्यांक हेर्दा पनि जापान, क्यानडा, अष्ट्रेलिया, बेलायत, अमेरिका र दक्षिण कोरिया नेपाली विद्यार्थीका प्रमुख गन्तव्य देखिएका थिए। जापानका लागि ३४ हजार ७३१, क्यानडाका लागि १५ हजार ९८२, अष्ट्रेलियाका लागि १४ हजार ३७२, बेलायतका लागि १३ हजार ३३९, अमेरिकाका ११ हजार २६१ र दक्षिण कोरियाका लागि ६ हजार ८८९ एनओसी जारी भएका थिए।
आखिर विद्यार्थी किन विदेश जान चाहन्छन्?
विदेश गएपछि राम्रो कमाइ हुन्छ, नयाँ ठाउँ घुम्न पाइन्छ, स्वतन्त्र जीवन बिताउन पाइन्छ, पढ्दै काम गर्न पाइन्छ र पढाइ सकेपछि राम्रो रोजगारी पाइन्छ भन्ने धारणा धेरै विद्यार्थीमा छ। सामाजिक सञ्जालले पनि विदेशको चम्किलो जीवनलाई आकर्षक ढंगले प्रस्तुत गरिरहेको छ। विदेशमा संघर्ष, एक्लोपन र आर्थिक दबाब पनि हुन्छ भन्ने पक्ष भने त्यति धेरै देखिँदैन। तर विद्यार्थीलाई विदेश जान प्रेरित गर्ने कारण केवल भ्रम होइन। नेपालमा उच्च शिक्षा र रोजगारीको अवस्थाले पनि उनीहरूलाई सोच्न बाध्य बनाएको छ।
बिर्तामोडका सुमन खनालका अनुसार नेपालमै आइटी वा प्रविधिसँग सम्बन्धित विषय चार वर्ष पढ्न १२-१५ लाख रुपैयाँसम्म खर्च हुन सक्छ। पढाइ सकेपछि राम्रो रोजगारी पाउन कठिन हुन्छ। सीमित तलबको जागिरका लागि लामो समय संघर्ष गर्नुपर्ने अवस्था छ। त्यसको तुलनामा उही विषय विदेशमा पढ्दा सुरुमा ठूलो खर्च भए पनि पढ्दै काम गर्ने र पढाइपछि रोजगारीको अवसर प्राप्त गर्ने सम्भावना देखिन्छ। त्यसैले अभिभावकसमेत ‘छोराछोरीले भविष्य राम्रो बनाउँछन् भने विदेश किन नपठाउने?’ भन्ने निष्कर्षमा पुगिरहेका छन्।
यही कारण नेपालका क्याम्पसमा विद्यार्थी टिकाउन कठिन भइरहेको छ। केही विषय मा पढ्न नेपालमै सस्तो र राम्रो पनि छ तर विद्यार्थी बाहिर नै जान चाहन्छ। पुरानो बानेश्वर मा अवस्थित एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजीले हवाई जहाज सम्बन्धी विभिन्न कोर्स मा पढाउने जनशक्ति उत्पादन गराउने गर्दछ,यसखाले जनशक्ति को धेरै डिमान्ड छ नेपाल मा ,यस्तो क्याम्पस यही मात्र हो यहाँ, १०-१२ लाख मा पढाइ पूरा हुन्छ तर त्यै पढाइ त्यही कोर्सका लागि अन्य देश मा ५०-६० लाख खर्च लाग्छ। तर पनि विद्यार्थी पाउन सजिलो नभएको एभियोट्रेस नेपालका प्रिन्सिपल आर.सी. कोइराला बताउनु हुन्छ।
कोटेश्वर बहुमुखी क्याम्पसका शिक्षक धिरज बुढाथोकीको अनुभवमा विद्यार्थीलाई दुःख गरेर क्याम्पससम्म ल्याए पनि नियमित कक्षामा उपस्थित गराउन कठिन हुँदै गएको बताउनु हुन्छ। आउने विद्यार्थीमध्ये कतिपय किताबसमेत नलिई कक्षामा आउने गरेका छन्। विद्यार्थीलाई पढाउनेभन्दा पढाइप्रति रुचि जगाउन शिक्षकले बढी मेहनत गर्नुपर्ने अवस्था आएको उनको गुनासो छ। पब्लिक युथ क्याम्पसका रमेश रसिक पौडेलको अनुभव पनि यस्तै छ। कहिलेकाहीँ शिक्षकले किताब हेरेर पढाउन खोज्दा एउटै विद्यार्थीसँग पनि सम्बन्धित किताब नहुने अवस्था आउने गरेको उनी बताउँछन्।
अझ रोचक पक्ष के छ भने पहिलो वर्ष भर्ना हुने विद्यार्थीको संख्या र अन्तिम वर्षसम्म पुग्ने विद्यार्थीको संख्या एउटै हुँदैन। पहिलो वर्ष भर्ना भए पनि कतिपय विद्यार्थी दोस्रो वा तेस्रो वर्षमा विदेश जाने तयारीमा लागिसकेका हुन्छन्। कोही आईईएलटीएस, जापानी भाषा वा अन्य भाषाको तयारी गरिरहेका हुन्छन्। क्याम्पसमा भर्ना हुनु र नेपालमै भविष्य बनाउने निर्णय गर्नु फरक कुरा बन्न थालेको छ।
यसको अर्को पाटो विश्वविद्यालयको कार्यशैली पनि हो। त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो। तर परीक्षा समयमै नहुनु, नतिजा प्रकाशनमा ढिलाइ हुनु र शैक्षिक क्यालेन्डर कार्यान्वयनमा समस्या हुनुजस्ता विषयले विद्यार्थीको विश्वासमा असर पार्दै आएको छ। चार वर्षमा सकिने स्नातक तह समयमै पूरा नहुँदा विद्यार्थीले वैकल्पिक बाटो खोज्नु अस्वाभाविक होइन।
सरकारी क्याम्पसमा राजनीतिक गतिविधि धेरै र पढाइ कम हुने गुनासो पनि सुनिन्छ। निजी क्याम्पसमा शुल्क महँगो हुने समस्या छ। यी दुवै अवस्थाबीच विद्यार्थीले तेस्रो विकल्प खोजिरहेका छन्-विदेश। त्यसैले अब विद्यार्थीलाई ‘देशमै बस’ भनेर मात्र पुग्दैन। देशमै बसेर के पाउँछौ? भन्ने प्रश्नको व्यवहारिक उत्तर दिनुपर्छ।
विश्वविद्यालयले समयमै परीक्षा लिनुपर्छ, समयमै नतिजा निकाल्नुपर्छ। पाठ्यक्रमलाई रोजगारी र बजारको आवश्यकतासँग जोड्नुपर्छ। आई. टी. पढ्ने विद्यार्थीले वास्तविक प्रविधि प्रयोग गर्न पाउनुपर्छ। व्यवस्थापन पढ्नेले व्यवसाय सञ्चालनको सीप सिक्नुपर्छ। प्रमाणपत्र मात्र होइन, सीप र रोजगारीसँग जोडिएको शिक्षा आवश्यक छ।
तर समस्या क्याम्पस र सरकारमा मात्र छैन।
विदेश जाने सबै विद्यार्थीलाई रोक्नु समाधान होइन। विदेशमा राम्रो शिक्षा हासिल गरेर फर्कने विद्यार्थी देशका लागि पनि उपयोगी हुन सक्छन्। तर प्रश्न यो हो-विदेश जाने विद्यार्थीमध्ये धेरैले नेपालमै आफ्नो भविष्य किन देख्न छाडे?
यसको उत्तर खोज्नुपर्छ।
खोक्रा भाषणले विद्यार्थी रोकिँदैनन्। अवसर, गुणस्तरीय शिक्षा, समयमै परीक्षा–नतिजा, रोजगारी, उद्यमशीलता र सम्मानजनक आम्दानीको सम्भावनाले मात्र उनीहरूलाई नेपालसँग जोड्न सक्छ। विद्यार्थीलाई दोष दिएर होइन, उनीहरूको भविष्य सुरक्षित बनाएर देशमा राख्न सकिन्छ। पहिले घरमा पढ्ने वातावरण बनाऔं, क्याम्पसमा पढाइको विश्वास जगाऔं र देशमा पढेपछि भविष्य छ भन्ने भरोसा दिलाऔं।