यो मुलुकमा धेरै पटक राजनीतिक परिवर्तन भए। परन्तु परिवर्तित राजनीतिक धारलाई शासक, प्रशासक र समाजले अवलम्बन गर्न नसकेको तीतो सत्य लुकाएर लुक्ने अवस्था छैन। त्यसो त राजनीतिक परिवर्तन गर्ने पनि राजनीतिक दल र यिनीहरुलाई समर्थन गर्ने नेपाली समाज नै हो। परन्तु राजनीतिक परिवर्तनका पछाडि यसको अब्बल व्यवस्थापन गर्न सत्तामा पुग्नेहरु चुके।
देशले विकासको गति लिन सकेन। विगत तीन दशकको राजनीतिक अभ्यास हेर्दा दर्जनौंको संख्यामा राजनीतिक दलहरुको उदय र अस्त भएको अवस्था छ। यसको पछाडि सामाजिक चेतनाले ठूलो काम गरेको देखिन्छ। राजनीतिक दल र नेतृत्व चयन गर्न नेपाली समाज सचेत देखिँदैन। समाजले सत्य र तथ्यभन्दा होहल्ला, लहड र प्रभावका आधारमा धारणा बनाउने गरेको पाइन्छ। यस कोणबाट समाजको विश्लेषण गर्दा राजनीतिक व्यवस्था र सरकार बदल्ने कुरालेमात्र देश बदलिँदैन भन्ने कुरालाई नेपाली समाजले बुझ्न सकेन।
कुनै पनि राजनीतिक दलका पछाडि आँखा चिम्लिएर दौडँदा सत्य तथ्य हराउँछ। सक्षम नेतृत्व छायाँमा पर्दछ। असक्षमहरु सत्तामा पुग्छन्। परिणाम त नेपाल र नेपालीहरुले दुःख पाउँछन् भन्ने प्रमाण विगतका तीन दशकको राजनीतिक परिवर्तन, उदाएका राजनीतिक दल र नेतृत्वको सत्ता शैलीबाट प्रस्ट हुन्छ।
नेपाली समाजले देश विकास र सुशासनका लागि राजनीतिक दलहरु परिवर्तन गरिरहे। दलहरुलाई पालैपालो सत्तामा पुग्ने अवसर पनि दिए। दलहरुभित्र नेतृत्व छनोट गर्न नसक्दा असक्षमहरुले पटक-पटक निर्वाचित हुने मौका पाए। क्षमताविना सत्तामा पुगेपछि जे हुनु थियो त्यही भयो। नेपाली समाजले ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने उक्तिलाई भोग्नुपर्यो।
कुनै पनि सत्ताका सञ्चालकहरुले देशलाई तीव्र विकासको गतिमा अगाडि बढाउन सकेनन्। परिवर्तनका नाममा अनुहारहरु बद्लिए पनि शासन शैली बद्लिएन। शासन गर्ने सोच, देश विकासको वैज्ञानिक मार्गचित्र, कार्यशैली र कार्यसम्पादनमा सुधार हुन सकेन। देशको मेरुदण्ड कृषि क्षेत्र उपेक्षित रह्यो। शिक्षाको गुणस्तरमा झन पछि झन ह्रास भयो। स्वास्थ्य सेवा महँगो छ। सहरमुखी छ। बेरोजगारी, महँगी, कालोबजारी समाजको नियति बन्यो।
कुनै पनि सरकारको सफलता राजनीतिक शक्ति, जनमत वा बहुमतले निर्धारण गर्दैन। सत्ताले जनताको जीवनमा कति सकारात्मक प्रभाव भयो? जनताको चुलोचौकामा सत्ताले कति सहज बनायो? रोजगारी र आयआर्जनका अवसरहरु के कति सिर्जना भए? समाजलाई बजार मूल्यले कति असर गर्यो? देशका संघसस्थाहरु कसरी चलिरहेका छन्? शैक्षिक संस्थाहरुको अवस्था कस्तो छ? देश विधिको शासनमा सञ्चालन भएको छ कि छैन? सामाजिक न्यायको अवस्था कस्तो छ? सरकारी सेवा प्रवाहको गति र मति कस्तो छ? भन्ने कुराले सत्ताको सफलता र असफलता मापन गर्दछ। अहिले उल्लिखित क्षेत्रहरु ठीकठाक छन् त? निष्पक्षरुपमा भन्नुपर्दा छैनन्। यस अर्थमा सत्ताको शैली लोकतान्त्रिक देखिँदैन। सफलताउन्मुख देखिँदैन।
हाम्रो देशको राजनीतिक इतिहास हेर्दा राजनीतिक परिवर्तन गर्नका लागि जनताले पटक-पटक संघर्ष गरे। व्यवस्था बदले। संविधान बन्यो। नयाँ नयाँ राजनीतिक दलहरु देखा परे। सत्ताको कुर्सीले नयाँ अनुहारहरु पायो। सिंहदरबारमा शासकका फोटाहरु झुण्डिए। परन्तु समाजमा राजनीतिक अस्थिरता, भ्रष्टाचार, नातावाद, कृपावाद, प्रशासनिक ढिलासुस्ती, बेरोजगारी, महँगी, कमजोर अर्थतन्त्रलगायतका समस्याहरु समाधान गर्न कुनै पनि शासक सक्षम भएको देख्न र अनुभव गर्न नागरिकले पाउन सकेनन्।
अहिले नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकार छ। यसको न्वारन भएको जम्मा चार वर्षमात्र भएको छ। यो राजनीतिक दल विगतका शासनशैलीप्रतिको वितृष्णाको उपज हो। विशेषतः युवापुस्ताको असन्तुष्टि, आक्रोश र परिवर्तनको तीव्र आकांक्षाले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको घामजस्तै छर्लंग छ। पुराना दलहरुको सत्ता शैलीकै कारण २०८२ सालमा गरिएको मध्यावधि निर्वाचनमा नयाँ दलको रुपमा मतदाताले यो दललाई सत्तामा पुग्न सहज बहुमत दिए। यो दल सत्तामा पुगेको पनि सात महिना भइसकेको छ। बिहानले दिउँसोको संकेत गर्दछ भनेझैँ अहिलेको सरकारको कार्यशैली पनि हात्ती आयो हात्ती आयो फुस्सा भनेझैँ हुने संकेतहरु देखिन थालेका छन्। सरकारको कार्यशैलीले समाजमा असन्तोष बढ्दै गएको देखिन्छ।
अहिले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ। ग्यासको हाहाकार अझै पनि उस्तै छ। युवा पलायनमा कमी आएको छैन। प्रशासनिक कामकाजको शैलीमा रुपान्तरण भएको अनुभव जनताले गर्न सकेका छैनन्। बिजुलीमा कर बढाएर सरकारले जनतालाई सास्ती दिएको छ। दुईदिने सरकारी बिदाले शैक्षिक संस्था र स्वास्थ्य सेवामा सबैभन्दा बढी नकारात्मक असर परेको छ। जनताले यो नयाँ सरकारबाट के प्राप्त गरे त? भन्ने प्रश्नको निष्पक्ष जवाफ खोज्दा अहिलेसम्म ‘माछो माछो भ्यागुतो’ भनेझैं भएको छ। समाजलाई परिणाममुखी काम चाहिएको छ। सरकारको कार्यशैलीले जनतालाई राहतभन्दा बढी आहात पुगेको छ।
यो मुलुकमा राजनीतिक व्यवस्था बद्लिएता पनि राजनीतिक नेतागणहरु चिन्तन र कार्यशैली बद्लिन नसकेकोले नागरिकले दुःख पाइरहेका छन्। देशको राजनीतिक इतिहासको अनुभवले लोकतन्त्र बाँदरको हातमा नरिवल भनेझैं भएको अवस्था देखाउँछ। राजनीतिक नेतृत्वले लोकतन्त्रलाई देश र जनताको हितमा प्रयोग गर्न नसक्दा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको पर्खाइ अहिलेको सरकारबाट पनि जनताका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेझैं भएको छ। सत्ताले आगामी दिनहरु पनि आत्मकेन्द्रित शैलीमा अगाडि बढ्ने काम गरेमा यसको गन्तव्य निराशाजनक हुने छ। यसो नहोस्।
जनताले अहिलेको सरकारबाट सुशासन, आर्थिक समृद्धि, रोजगारीको अवसर, महँगी नियन्त्रण र जनताको सहज जीवनयापनको व्यवस्था चाहेका छन्। अहिलेको अवस्थामा रोजगारी, निर्यातमुखी कृषि, आधुनिक पशुपालन, कृषिमा आधारित उद्योगको स्थापनालगायतका क्षेत्रमा विकास नभई गाउँको विकास हुन सक्दैन। सत्ताको कार्यशैलीमा देखिनुपर्ने पहिलो सर्त भनेको जनउत्तरदायित्व हो।
अन्त्यमा सत्ताको वास्तविक शक्ति पद, प्रतिष्ठा, बहुमत वा प्रशासनिक अधिकारमात्र होइन, जनविश्वास हो। जनताले दिएको मतको आधारमा सत्तामा पुग्ने शासकले प्राप्त भएको सत्ता स्थायी होइन। यो त जनताले राम्रो काम गर्नका लागि दिएको आवधिक समर्थन हो। गलत कार्यशैली अँगाल्नेबित्तिकै जनताले नै सत्ताच्युत गर्दछन् भन्ने कुरा राजनीतिक दल र सत्ताको बागडोर समालेकाहरुले बुझ्नुपर्दछ। समयमा नै बुझून्।
सरकारको कार्यशैली जनताका आवश्यकतालाई सम्बोधन गर्न केन्द्रित हुनुपर्दछ। हुन सकोस्। लोकप्रियताको मोहभन्दा परिणाममुखी काम, प्रचारभन्दा पारदर्शिता, आदेशभन्दा संवाद र व्यक्तिगत इच्छाभन्दा संस्थागत पद्धतिलाई प्राथमिकता दिनुपर्दछ। देओस्।