काठमाडौं– मलेसियाले आफ्नो श्रमबजारमा विदेशी श्रमिकमाथिको निर्भरता घटाउने नीतिलाई थप कडा बनाउने तयारी गरेको छ।
मलेसियाका मानव संसाधनमन्त्री दातुक सेरी आर रामाननले रोजगारदाताले विदेशी श्रमिक भर्ना गर्नुअघि स्वदेशी श्रमिक उपलब्ध भए नभएको जाँच गर्नुपर्ने बताएका छन्।
‘माइ फ्युचर जब्स’ नामको पोर्टलमार्फत पहिला स्वदेशी नागरिकलाई रोजगारी दिनुपर्ने भनेको द स्टारले जनाएको छ। समाचारका अनुसार रोजगारदाताले विदेशी श्रमिकको भर्ना गर्दा पनि आवश्यकताको समीक्षा गर्नुपर्ने उनले बताएका छन्। मलेसियाले १३औं योजनाअन्तर्गत विदेशी श्रमिकमाथिको निर्भरता घटाउने नीति लिएको जनाउँदै आएको छ। हाल श्रमिकको भर्ना छ वटा क्षेत्र र तिनका उपक्षेत्रमा सीमित गरिएको रामाननले बताएको जनाइएको छ। साथै, विदेशी कामदारका लागि कडा मापदण्ड र सर्तहरुसमेत लागू गरिने जनाइएको छ।
मलेसियाले सन् २०२७ को जुन महिनादेखि न्यूनतम पारिश्रमिक दुई हजार रिंगेट पुर्याउने तयारी गरेको छ। यसबाट ४० लाख श्रमिकहरु लाभान्वित हुने मन्त्री रामाननले जनाएका छन्। उनका अनुसार श्रमिकको आफ्नो सीप र क्षमताअनुसार क्रमिकरुपमा पारिश्रमिकमा सुधार गरिने छ। स्थानीय र विदेशी कामदारका लागि फरक–फरक न्यूनतम पारिश्रमिकका विषयमासमेत सरकारले अध्ययन गर्ने भएको समाचारमा उल्लेख गरिएको छ।
मलेसिया नेपाली श्रमिकका लागि महत्त्वपूर्ण श्रम गन्तव्य हो। हाल त्यहाँ चार लाख नेपाली कार्यरत छन्। मलेसियाले विदेशी श्रमिकको भर्ना पूर्णरुपमा बन्द गर्ने नभने पनि श्रमिकको माग न्यून बनाए उक्त मुलुक जान कठिन हुने र त्यहाँ जाने तयारी गरिरहेका धेरै युवा प्रभावित हुने देखिन्छ।
पछिल्लो समय विदेशी श्रमिक भर्तीका लागि ‘फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेण्ट सिस्टम (एफडब्ल्युसिएमएस)’ लागू गरेपछि नेपालबाट श्रमिक पठाउने कार्य बन्द भएको अवस्था छ। नेपालले सीमित व्यवसायीलाई मात्र अवसर हुने उक्त प्रणाली खारेज गर्न आग्रह गरे पनि मलेसिया आफ्नो अडानमै रहेको छ।