काठमाडौं- सरकारले जिटुजीमार्फत श्रमिक पठाउने विषयमा जोड दिएसँगै त्यसमा निजी क्षेत्रको भूमिकाबारे नेपाल वैदेशिक रोजगार व्यवसाय संघले सरकारको ध्यानाकर्षण गराएको छ।
सोमवार युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँगको भेटमा संघले नेपाल सरकारको उक्त नीतिमा व्यवसायीको सहभागिता तथा सहकार्यको स्पष्ट व्यवस्था गर्न माग गरको छ।
श्रम मन्त्रालयले हाल मौरिससमा सरकारी संयन्त्रबाट श्रमिक पठाउने तयारी अघि बढाएको छ। नेपालको प्रस्ताव मौरिससले स्वीकार गरेर समझदारीपत्रको संशोधित मस्यौदासमेत पठाइसकेको छ। यस्ता प्रणालीमा इजाजतपत्र प्राप्त व्यवसायीको भूमिका प्रस्ट्याउन सरकारसमक्ष माग गरेको महासचिव हिराबहादुर डाँगीले बताए।
संघका अध्यक्ष डिकबहादुर खत्रीका साथै सम्पूर्ण पदाधिकारी सम्मिलत सो भेटमा संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्याका विषयमासमेत ध्यानाकर्षण गराएको छ।
संघले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा देखिएका प्राविधिक समस्याको तत्काल समाधान, वैदेशिक रोजगार विभागभित्रको सेवा प्रवाहलाई पारदर्शी, सहज र व्यवसायीमैत्री बनाउनुपर्ने, यस व्यवसायलाई व्यवस्थित, मर्यादित, सुरक्षित र प्रतिस्पर्धात्मक बनाउन आवश्यक नीतिगत तथा कानुनी सुधारलगायतका विषयमा ध्यानाकर्षण गराएको छ।
साथै, साउदी अरबको श्रमिक छनोट तथा सीप परीक्षण (एसभिपी)मा देखिएका अव्यावहारिक समस्याको समाधान तथा पिए सिरियल नम्बर भएका नेपाली राहदानी गन्तव्य मुलुकको अध्यागमन प्रणालीमा अनलाइन नहुँदा भिसा प्रक्रियामा देखिएको समस्या समाधानका लागि मन्त्री यादवको ध्यानाकर्षण गराएको छ।
भेटमा मन्त्री यादवले संघले उठाएका विषय तथा समस्याप्रति सकारात्मक चासो र प्रतिबद्धता व्यक्त गरेको महासचिव डाँगीले बताए।