सुनसरी- कवि भुपिन खड्काको निबन्ध संग्रह ‘मध्यको उज्यालो’ र जुनु रानाको निबन्ध संग्रह ‘लाहुरेनी सौन्दर्य’ लाई यस वर्षको ‘विमल गुरुङ कृति पुरस्कार’ संयुक्त रूपमा प्रदान गरिने भएको छ।
धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालय व्यवस्थापन समितिको बुधबारको बैठकले दुवै कृतिलाई संयुक्त रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
पुस्तकालयका अनुसार पुरस्कारको राशि दुई लाख रुपैयाँ र ताम्रपत्र रहेको छ। पुरस्कारका लागि स्वदेश तथा विदेशका लेखक, कवि र साहित्यकारद्वारा नेपाली भाषामा लेखिएका ५२ कृति प्राप्त भएका थिए।
पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार दुवै कृतिका सर्जकलाई यही कात्तिक १९ गते पुस्तकालयको भवनमा आयोजना हुने कवि विमल गुरुङको ५५औँ जन्मजयन्ती तथा ३५औँ राष्ट्रिय कविता महोत्सवका अवसरमा पुरस्कार र ताम्रपत्र प्रदान गरिने छ।
सोही अवसरमा पुस्तकालयले यसअघि छनोट गरेका उत्कृष्ट १० कवितामध्येबाट तीन विजेतालाई पनि पुरस्कृत गरिने अध्यक्ष गुरुङले जानकारी दिए। कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: २१ हजार रु १८ हजार रुपैयाँ र १७ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ।
यसैगरी, पुस्तकालयले यस वर्षको युवा प्रतिभा सम्मान राष्ट्रिय समाचार समिति (रासस) सुनसरीका संवाददाता संगीता राईलाई प्रदान गरिने अध्यक्ष गुरुङले बताए।
महोत्सवका अवसरमा वरिष्ठ पत्रकार तथा कवि प्रदीप मेन्यांबोले सम्पादन तथा संयोजन गरेको ‘विमल गुरुङका प्रतिनिधि कविताहरू’ शीर्षकको कविता संग्रह लोकार्पण गरिने छ।