काठमाडौं- साहित्य क्षेत्रमा नेपाली महिला अनुवादकको उपस्थिति अझ बढाउनुपर्नेमा सहभागीहरुले जोड दिएका छन्।
नेपाल प्रज्ञा–प्रतिष्ठान, अनुवाद साहित्य विभाग र अनुवादक समाज नेपालको सहकार्यमा अन्तर्राष्ट्रिय अनुवाद दिवसका अवसरमा बुधबार यहाँ आयोजित ‘अनुवाद साहित्यमा नेपाली महिला अनुवादकको उपस्थिति’ विषयक विचार–गोष्ठीमा सहभागीहरुले नेपाली साहित्यको अनुवाद क्षेत्रमा महिलाको सहभागिता विस्तार गर्नुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा करुणा नेपालले प्रस्तुत गरेको ‘अनुवाद साहित्यमा नेपाली महिला अनुवादकको उपस्थिति’ विषयक कार्यपत्रमाथि छलफल गर्दै सहभागीहरुले महिला अनुवादकलाई थप प्रोत्साहन र अवसर प्रदान गर्नुपर्ने धारणा राखे।
कार्यपत्रमाथि पूरक व्याख्या गर्दै डा. बलराम अधिकारीले नेपाली महिला अनुवादकको उपस्थिति अनुवाद साहित्यमा अनिवार्यरुपमा बढाउनुपर्ने बताए। उनले महिला अनुवादकका सिर्जना, क्षमता र योगदानलाई साहित्यिक क्षेत्रमा थप स्थापित गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमका सभाध्यक्ष एवं प्राज्ञ तीर्थ गुरुङले पनि नेपाली अनुवाद साहित्यमा महिला अनुवादकको सहभागिता बढाउन आवश्यक रहेको बताए। अनुवादक समाज नेपालका महासचिव डा. ऋषिराम अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए। नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कुमार नगरकोटीले ब्यानर पाठ गरी कार्यक्रमको उद्घाटन गरेका थिए।