काठमाडौं- पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। मलेसियामा कामदार पठाउने क्रममा अवैध रूपमा रकम संकलन गरी उक्त रकम मलेसिया पठाएको आरोपमा उनलाई पक्राउ गरिएको हो।
गृह मन्त्रालय स्रोतले अर्याल पक्राउ परेको पुष्टि गरेको छ। मन्त्रालय स्रोतका अनुसार उनी पक्राउ परेको सत्य भए पनि पक्राउको स्थानलगायत थप विवरण सार्वजनिक गरिएको छैन।
यसअघि यही प्रकरणमा तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्।
उनीहरूमाथि ठगी तथा संगठित अपराधको कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।
अर्याललाई पक्राउ गरिएसँगै मलेसियामा कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध रकम संकलन तथा कारोबारसम्बन्धी अनुसन्धान थप अघि बढ्ने देखिएको छ।