- कार्कीको मागबमोजिम अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार
- अस्वीकार गर्नुको तीन आधारः
- पहिलो, केसीले आइजिपी पदको नियुक्ति बुझेर कार्यभार सम्हालिसकेको अवस्था।
- दोस्रो, प्रहरी संगठनको नेतृत्व सार्वजनिक महत्व र संवेदनशीलतासँग जोडिएको विषय हुनु।
- तेस्रो, कार्कीले उठाएका कानुनी प्रश्नको निरूपण अन्तिम सुनुवाइबाट गर्न सकिने अवस्था।
- मुद्दाको अन्तिम फैसलाबाटै न्याय निरुपण हुने
काठमाडौं- कार्यकाल नसकिँदै नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) हटाउने वालेन्द्र सरकारको निर्णयलाई लिएर उत्पन्न विवाद तत्काल नटुंगिने भएको छ।
प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा अन्तरिम आदेश पाउन सकेनन्। तर, अदालतले मुद्दालाई प्राथमिकतामा राखेर छिटो अन्तिम सुनुवाइ गर्न आदेश दिएपछि सरकारको निर्णयको वैधानिकतामाथिको न्यायिक परीक्षण भने बाँकी नै छ।
बुधबार न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको सर्वोच्च अदालतका रजिस्ट्रार बाबुराम दाहालले बताए। गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर मनोजकुमार केसीलाई नयाँ महानिरीक्षक नियुक्त गरेको थियो।
सोही बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाउने निर्णय पनि गरेको थियो। सरकारले यसलाई कारबाही नभई जिम्मेवारी हेरफेर भने पनि कार्कीले उक्त निर्णयविरुद्ध कानुनी चुनौती दिएका थिए। मन्त्रिपरिषद्को निर्णय भएको भोलिपल्टै अर्थात् कात्तिक १९ गते उनी सर्वोच्च पुगेका थिए।
तर, कार्कीले माग गरेअनुसार तत्काल निर्णय कार्यान्वयन रोक्न अदालत तयार भएन। यद्यपि, अन्तरिम आदेश नदिनु नै सरकारको निर्णय कानुनसम्मत रहेको ठहर भने होइन। अदालतले अन्तिम सुनुवाइबाटै कानुनी प्रश्नहरूको निरूपण गर्न सकिने भन्दै तत्कालका लागि अन्तरिम आदेश आवश्यक नदेखिएको जनाएको हो।
अदालतले अन्तरिम आदेश अस्वीकार गर्नुको तीन प्रमुख आधार प्रस्तुत गरेको छ। पहिलो, केसीले आइजिपी पदको नियुक्ति बुझेर कार्यभार सम्हालिसकेको अवस्था। दोस्रो, प्रहरी संगठनको नेतृत्व सार्वजनिक महत्व र संवेदनशीलतासँग जोडिएको विषय हुनु। तेस्रो, कार्कीले उठाएका कानुनी प्रश्नको निरूपण अन्तिम सुनुवाइबाट गर्न सकिने अवस्था।
निरौला र पौडेलको आदेशमा भनिएको छ, ‘मनोजकुमार केसी नेपाल सरकारको मिति २०८३-०७-१८ को निर्णयानुसार प्रहरी महानिरीक्षक पदमा बढुवा भई सोही दिन नियुक्ति बुझी सो पदको कार्यभार सम्हालिसकेको भन्ने मिसिलबाट देखिएको, निवेदकले अन्तरिम आदेशको माग गरेको प्रस्तुत विषय देशको शान्ति सुरक्षा कायम गर्ने प्रहरी संगठनको नेतृत्वसँग सम्बन्धित सार्वजनिक महत्वको संवेदनशील विषय भएको र रिट निवेदकले माग गरेको न्यायिक उपचार र उठाएका अन्तरिम आदेशको मागसँग अन्तरनिहित कानुनी प्रश्नहरूको रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा निरूपण र सम्बोधन हुने प्रकृतिको देखिँदा सुविधा सन्तुलनको दृष्टि समेतबाट निवेदन मागबमोजिम हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन।’
यद्यपि अदालतले मुद्दालाई लामो समयसम्म अनिर्णीत राख्न नहुने जनाएको छ। रिट निवेदनको महत्व, गम्भीरता र संवेदनशीलतालाई ध्यान दिँदै लिखित जवाफ प्राप्त भएपछि वा त्यसका लागि तोकिएको अवधि सकिएपछि सात दिनभित्र पेसी चढाउन आदेश दिएको छ। साथै, पेसी स्थगित गर्न नपाउने गरी दुवै पक्षलाई पूर्वसूचना दिन पनि भनिएको छ।
सर्वोच्च अदालतका रजिस्ट्रार दाहालका अनुसार मुद्दामा विपक्षीहरूको लिखित जवाफ आउन बाँकी छ। लिखित जवाफ प्राप्त भएपछि अन्तिम सुनुवाइका लागि इजलासमा पेस हुने छ। ‘लिखित जबाफ पेस भइसकेपछि अन्तिम सुनुवाइका लागि इजलासमा पेस हुन्छ,’ दाहालले भने।
यसअघि मुद्दाको प्रारम्भिक सुनुवायको क्रममा कार्कीपक्षीय कानुन व्यवसायीहरूले पदावधि नसकिँदै विनाकारण हटाएको भन्दै पदमा बहाली गर्न माग गरेका थिए। आइजिपीको अनुहार मन परेन भनेर लुक्लामा सरुवा गर्न नमिल्ने तर्क पनि उनीहरूको थियो। कार्की पक्षबाट वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, सतीशकृष्ण खरेललगायतले बहस गरे।
कार्कीलाई आइजिपीबाट हटाउने सरकारको कदमलाई विपक्षी दलहरूले कडा शब्दमा विरोध गरेका छन्। कार्कीलाई आइजिपीबाट हटाउने निर्णयलाई प्रहरी संगठनभित्र वालेन्द्र सरकारले हस्तक्षेप गरेको अर्थमा टिप्पणी उनीहरूले टिप्पणी गरिरहेका छन्।
यसलाई तीन दशकअघि लोकेन्द्रबहादुर चन्द सरकारले गरेको प्रहरी नेतृत्व परिवर्तनसँग पनि तुलना गर्न थालिएको छ। २१ चैत २०५३ मा चन्द नेतृत्वको मन्त्रिपरिषद्ले आइजिपी अच्युतकृष्ण खरेललाई हटाएर धु्रवबहादुर प्रधानलाई नयाँ आइजिपी नियुक्त गरेको थियो। खरेललाई राष्ट्रिय अनुसन्धान विभागको प्रमुख बनाउने निर्णय गरिएको थियो।
सरकारको निर्णयविरुद्ध खरेल पनि सर्वोच्च अदालत पुगेका थिए। तर, सर्वोेच्चबाट अन्तिम फैसला आउनुअघि नै सरकार परिवर्तन भयो। परिवर्तित सरकारले २०५४ मङ्सिर २६ गते खरेललाई पुनः आइजिपीमा बहाली गर्यो। त्यसको सात महिनापछि मात्रै सर्वोेच्चले उनको रिटमा अन्तिम निर्णय सुनाएको थियो।
अहिलेको कार्की प्रकरण र तत्कालीन खरेल प्रकरणबीचको समानता सरकारको निर्णयबाट प्रहरी नेतृत्व परिवर्तन हुनु र त्यसविरुद्ध सर्वोच्चमा न्यायिक चुनौती पुग्नु हो। तर, दुवै घटनाको कानुनी र राजनीतिक परिस्थिति फरक छन्। कार्कीको हकमा तत्काल अन्तरिम आदेश नआए पनि मुद्दाको अन्तिम फैसला आउन बाँकी छ। त्यसैले सर्वोेच्चको बुधबारको आदेशले सरकारको निर्णयलाई अन्तिम न्यायिक वैधता दिएको अर्थमा बुझ्न मिल्दैन।