संघीय राजधानी काठमाडौंपछि दोस्रो आर्थिक राजधानी बन्न सक्ने रूपन्देही प्रसस्त आधार र सम्भावना भएको ठाउँ हो। बुटवललाई केन्द्र बनाएर समग्र लुम्बिनी प्रदेशको विकास गर्न सकिने सम्भावनाहरू छन्।
नेपाल साँच्चै विकासका लागि प्रचुर सम्भावना र आधार भएको देश हो। यहाँको प्राकृतिक सौन्दर्य, हिमाल, पहाड, तराई, वनजंगल र नदीनालाको भौगोलिक विविधताले विश्वका अन्य मुलुकलाई लोभ्याइरहेको छ। रूपन्देहीस्थित पवित्र भूमि लुम्बिनी र अंग्रेज फौज पराजित भएको बुटवलको ऐतिहासिक जितगढीको एकसाथ विकास गर्न सके प्रसस्त आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने बलिया आधार र सम्भावनाहरू छन्।
यद्यपि, हाम्रा नेतृत्व वर्गले यसको महत्व बुझेर लक्षित योजनासहित अगाडि बढ्न सकेको देखिँदैन। जसका कारण हामी यस क्षेत्रको विकासमा पछाडि परेका छौं। दुईतिहाइ नजिकको वर्तमान वालेन्द्र सरकारले यस क्षेत्रको महत्व बुझेर विकास निर्माणमा ध्यान दिन सके यस क्षेत्रले आर्थिक र पर्यटन विकासमा ठूलै फड्को मार्न सक्छ।
पश्चिम नेपालको औद्योगिक एवं व्यापारिक केन्द्र बुटवलले लामो समयदेखि देशको आर्थिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। संघीय राजधानी काठमाडौंपछि दोस्रो आर्थिक राजधानी बन्न सक्ने रूपन्देही प्रसस्त आधार र सम्भावना भएको ठाउँ हो। बुटवललाई केन्द्र बनाएर समग्र लुम्बिनी प्रदेशको विकास गर्न सकिने सम्भावनाहरू छन्।
लुम्बिनी प्रदेशको राजधानी नबन्दैमा बुटवललाई हलुका ढंगले आकलन गर्नुपर्ने अवस्था छैन। राजधानीका लागि प्रसस्त आधार र सम्भावना भएको रूपन्देही जिल्लाको जुन कुनामा राजधानी बनाए पनि प्रदेशवासीलाई सेवा लिन निकै सुविधा पुग्ने थियो; तर त्यसप्रति रूपन्देहीका जनप्रतिनिधिहरूले गम्भीर भएर सोच्न सकेनन्। यद्यपि, राजधानी नबन्दैमा बुटवल खत्तमै भयो वा यसको भविष्य सकियो भन्ने अवस्था भने छैन। यहाँ विकासका प्रसस्त आधारहरू छन्, तर यसका लागि नयाँ पुस्ताले खोजेका केही आधुनिक विकासका संरचनाहरू निर्माण गर्न भने आवश्यक छ।
पहिलेको बटौली, अहिलेको बुटवल
पहिलेको बटौली र अहिलेको बुटवलको आफ्नै इतिहास र पहिचान छ। राणा तथा पञ्चायतकालमा यहाँ नुन, तेल, मरिच–मसला र लत्ताकपडाको व्यापारका लागि ढाक्रेहरूको बाक्लो चहलपहल हुने गर्दथ्यो। पश्चिम नेपालकै प्रमुख व्यापारिक नाका भनेर चिनिने पुरानो बटौली अहिले भने सुनसान प्रायः छ।
त्यतिबेला व्यापारकै सिलसिलामा विभिन्न जिल्लाका उद्यमी–व्यवसायीहरू मालसामान किनबेचका लागि आउने गर्नाले निकै चहलपहल हुन्थ्यो। सो समयमा तिनाउ नदी पूर्वको भागलाई ‘खस्यौली’ र तिनाउ पश्चिमको भागलाई ‘बटौली’ भनिन्थ्यो।
बुटवल पुरानो आर्थिक एवं व्यापारिक केन्द्र हो भने रूपन्देहीस्थित लुम्बिनी नेपालकै शान र अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्र हो। चुरेको फेदीमा रहेको बस्ती, तिनाउ नदी र वीर नेपालीहरूले अंग्रेज फौजलाई हराएको जितगढी किल्ला बुटवललाई चिनाउने प्रमुख आधार हुन्।
अहिले वारिपारि दुवै क्षेत्रलाई ‘बुटवल’ भनेर चिनिन्छ। विगत २५–३० वर्षयता खस्यौलीतर्फ निकै विकास निर्माणका कामहरू भएर आधुनिक सहर बने पनि पारिपट्टिको पुरानो बटौली भने ओझेल पर्दै गएको छ। त्यहाँका पुराना ऐतिहासिक घरहरू निकै जीर्ण बनेका छन्। यद्यपि बुटवल फूलबारीले धेरैको मन खिचेकै छ।
बुटवल उपमहानगरपालिका वडा नं. १ र २ मा पर्ने यस क्षेत्रको वातावरण प्रदूषित छ भने कतिपय पुराना ऐतिहासिक घरहरू भत्किने अवस्थामा छन्। केही मर्मतसम्भार भए पनि योजनाअनुरूप गरिएका छैनन् भने केही ठाउँ अतिक्रमणको चपेटामा परेका छन्। यहाँ रहेका मठमन्दिरहरू जीर्ण छन्। निर्वाचनका बेला राजनीतिक दलहरूले यो ठाउँलाई ‘स्याटेलाइट सहर’ वा ‘स्मार्ट सिटी’ बनाउने नारा अगाडि नसारेका होइनन्; तर भोटको राजनीति क्षणिक भएझैँ यो ठाउँले अझै काँचुली फेर्न सकेको छैन।
जितगढी किल्ला र नयाँ पूर्वाधार
बुटवलमै रहेको विजयको गाथा बोकेको ऐतिहासिक जितगढी किल्ला केही मर्मतसम्भार भए पनि अझै बेवारिसे र ओझेलमा परेझैँ देखिन्छ। यसको ऐतिहासिक महत्त्वलाई योजनाबद्ध रूपमा पुरातत्व विभाग र स्थानीय सरकारले विश्वसामु ‘बेच्न’ (प्रवर्द्धन गर्न) सकेका छैनन्।
भारतको गुजरात, सिंगापुर, मलेसिया र बैंकक पुगेर फर्केपछि पटक–पटक बुटवल र लुम्बिनी प्रदेशकै आर्थिक विकासको सम्भावनाबारे केही बहसहरू उजागर गर्ने प्रयास गरिएको थियो। तर, यसबारे यहाँका उद्योगी–व्यवसायी, जनप्रतिनिधि र सरोकारवाला निकायको खासै ध्यान गएको पाइँदैन।
बुटवल पुरानो आर्थिक एवं व्यापारिक केन्द्र हो भने रूपन्देहीस्थित लुम्बिनी नेपालकै शान र अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्र हो। चुरेको फेदीमा रहेको बस्ती, तिनाउ नदी र वीर नेपालीहरूले अंग्रेज फौजलाई हराएको जितगढी किल्ला बुटवललाई चिनाउने प्रमुख आधार हुन्।
पाल्पाको नुवाकोटगढी र बसन्तपुर बुटवलबासीका लागि गर्मी छल्दै पहाड–हिमाल अवलोकन गर्नेमात्र नभई तराईको समथर भूभाग हेर्ने उत्कृष्ट गन्तव्य हुन्, जुन बुटवलसँगै जोडिएका छन्। सडक, बैंक तथा वित्तीय सुविधा र प्रसस्त उद्योग–कलकारखानाहरू स्थापना भइसकेको यस क्षेत्रको सामाजिक, आर्थिक र पर्यटन विकासका लागि अब नयाँ सोच र दृढ अठोटसहितको योजना आवश्यक छ।
यहाँका नगरपालिकाहरूले निजी क्षेत्रसँगको हातेमालो र सहकार्यमा बुटवल र तिलोत्तमा नगरको सीमा मगरघाटदेखि माथिल्लो ‘सिद्धबाबा सिद्धेश्वर (चिडियाखोला) सम्म करिब पाँच–छ किलोमिटर तिनाउ नदीमा ड्याम बाँधेर जलाशय बनाउनुपर्छ। उक्त जलाशयमा २०–३० वटा डुंगा तथा स्टिमर चलाउने व्यवस्था गर्न सके बुटवलले साच्चै काँचुली फेर्ने छ।
वारि बुटवलबाट पारि ऐतिहासिक जितगढी किल्ला र पुरानो बटौलीलाई जोड्ने आकर्षक र फराकिला झोलुंगे पुलहरू दुई–तीन ठाउँमा बनाई ठाउँ–ठाउँमा पानीका फोहोरा (वाटर फाउन्टेन) र आकर्षक बत्ती (लाइटिङ) दिने हो भने यसले बालबालिकादेखि युवा र वृद्धवृद्धासम्मको मन तान्न सक्छ।
यस्तै, नदी किनारका विभिन्न स्थानमा ‘सेल्फी जोन’, कफी सेन्टर, रेस्टुरेण्ट तथा यस क्षेत्रका थारू, मगर, कुमाललगायतका विभिन्न जातिको कला, संस्कृति र स्थानीय उत्पादन पाइने व्यवस्था गर्न सके भारतीय पर्यटकहरूलाई ठूलो संख्यामा आकर्षित गर्न सकिन्छ।
हामीलाई यस्ता कुरा सुरुमा असम्भव लाग्न सक्छन्, तर भारतको गुजरातस्थित अहमेदाबादमा सहरभित्रै साबरमती नदी घुसाएर वरिपरि पर्यटकीय पूर्वाधार निर्माण गरी पर्यटन विकास गरिएको उदाहरण हाम्रै सामुन्ने छ। सिंगापुरको ‘मेरिलायन पार्क’ पुग्दा बुटवलको मध्यभागबाट बग्ने तिनाउ नदीमा पनि यस्तै पर्यटकीय ताल बनाएर व्यापक सम्भावना खोल्न सकिन्छ भन्ने महसुस हुन्छ।
अहिलेको पुस्ताले भाषणभन्दा कामको परिणाम खोजेको छ। हाम्रा नेताहरूले नेपाललाई सिंगापुर वा स्विट्जरल्याण्ड बनाउने भाषण त गरिरहन्छन्, तर व्यवहारमा त्यो परिणत हुन सकेको छैन।
विश्वका कतिपय मुलुकका उजाड भूमिमा पनि कसरी आधुनिक विकास सम्भव भयो भनेर हेर्दा अचम्म लाग्छ। सिंगापुर, मलेसिया, स्विट्जरल्याण्ड, दुबईजस्ता ठाउँ पुग्ने पर्यटकले त्यस्तै अनुभूति गर्छन्। त्यहाँको व्यवस्थित सडक सञ्जाल, स्वच्छ वातावरण, पर्यटकीय संरचना, पुल–पुलेसा र नागरिकहरूको अनुशासित व्यवहार साँच्चै उदाहरणीय छन्।
विश्वका धेरै विकसित देशहरू नियम, कानुन र चुस्त ‘सिस्टम’मा चलेका कारण विकासमा कायापलट भएका हुन्। हामीकहाँ तिनै कुराको कमी छ। त्यहाँका नागरिक र प्रशासकहरू व्यक्तिगत स्वार्थ र सत्ताको राजनीतिभन्दा धेरै माथि उठेर देशको विकासमा केन्द्रित भएका पाइन्छन्।
मलेसियाको क्वालालम्पुर नजिकै पहाडी क्षेत्रमा रहेको ‘गेन्टिङ हाइल्याण्ड’का संरचना हेर्नमात्रै दैनिक ५०औं हजार पर्यटक पुग्छन्। त्यस्तै ‘बाटु केभ्स’, पुत्राजया, ९०० मिटर अग्लो केएलसिसी (पेट्रोनास) टावर, विभिन्न पार्क, सपिङ मलहरू अचम्मलाग्दोगरी बनाइएका छन्।
सिंगापुरका पूर्वप्रधानमन्त्री लि क्वान युको पालादेखि त्यहाँ द्रुत विकास भएको हो। त्यहाँ नियम–कानुनमा कुनै सम्झौता हुँदैन र विकासमा राजनीति गरिँदैन। त्यहाँका आकर्षक समुद्री जलयात्रा (क्रुज), अण्डरग्राउण्ड मार्केट र भूमिगत रेल यातायातले पर्यटकलाई लोभ्याउने गर्छ।
हामीले लुम्बिनीको माटो प्रयोग गरेर बुद्धका मूर्ति, चिनो (उपहार) र हस्तकलाका सामग्रीमात्रै बनाएर बिक्री गर्न सक्यौं भने पनि प्रसस्त आम्दानी हुन सक्छ र थुप्रैले रोजगारी पाउँछन्। विदेशी बौद्धमार्गीहरूले लुम्बिनीको महत्व बुझेका छन् र यसको खुलेर प्रशंसा गर्छन्, तर विडम्बना ! हामी नेपालीले नै यसको अन्तर्राष्ट्रिय महत्वलाई सहीरूपमा प्रयोग गर्न सकेका छैनौं। लुम्बिनी गुरुयोजना सुरु भएको ४५ वर्ष बितिसक्दा पनि अझै पूरा हुन सकेको छैन।
नेपालमा पुरानै सोच र कार्यशैलीबाट यस्तो विकासको कल्पना गर्न सकिन्न। तर पनि नेपालको अनुपम भू–बनावट, हिमाल, पहाड र तराईको प्राकृतिक सम्पदाका कारण विकासको सम्भावना भने प्रचुर छ। हाम्रा नेतृत्व वर्गमा केवल काम गर्ने दृढ इच्छाशक्तिको खाँचो छ।
पछिल्लो समय बुटवलबाट बसन्तपुर डाँडा र नुवाकोटसम्म केबलकार निर्माण भएकाले प्रसस्त भारतीय पर्यटक आकर्षित गर्ने सम्भावना बढेको छ। यद्यपि, ती क्षेत्रमा पर्यटकका लागि आवश्यक पूर्वाधार थप्न बाँकी नै छ। बुटवललाई चलायमान बनाउन नुवाकोटदेखि बसन्तपुर डाँडा जोड्ने सुरक्षित आकर्षक पुल र ठाउँ–ठाउँमा भ्यु–पोइन्ट वा सेल्फी स्पट बनाउन सके पर्यटकहरूलाई अझ बढी लोभ्याउन सकिन्छ।
बुटवलबाट करिब दुई घण्टाको पैदल यात्रा वा केवलकारबाट छोटो समयमै पुगिने यी दुई डाँडाबाट हिमाल, पहाड र तराईका दृश्यहरू एकसाथ अवलोकन गर्न सकिन्छ। तराईमा कडा गर्मी हुँदा पनि बसन्तपुर र नुवाकोट डाँडामा पुग्दा चिसो हावापानीको अनुभव हुन्छ। यस्तै विशेषताले पर्यटकलाई आनन्दको अनुभूति गराउँछ।
लुम्बिनीमा विश्वको ध्यान
विश्वप्रख्यात पवित्र बुद्धभूमि लुम्बिनी रूपन्देहीमै रहेकाले बौद्धमार्गी पर्यटकहरूलाई लक्षित गरी विशेष योजना बनाउन आवश्यक छ। यसका लागि सबैभन्दा पहिले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण र नियमितरूपमा सञ्चालनमा ल्याउने वातावरण बनाउनुपर्छ।
सम्भावना भएर पनि यस क्षेत्रका सरोकारवाला निकायले कहिल्यै सूक्ष्मरूपमा सम्भाव्यता अध्ययन गरेका छैनन्। विशाल छिमेकी मुलुकहरू चीन र भारत हाम्रा लागि उत्पादित वस्तु र पर्यटनका ठूला बजार हुन सक्छन्, तर नेपाली युवाहरू भने स्वदेशमा अवसर नपाएर विदेशिन बाध्य छन्। सरकारले विकास र रोजगारीको स्पष्ट नीति बनाएर युवा शक्तिलाई रोक्न जरुरी छ।
हामीले लुम्बिनीको माटो प्रयोग गरेर बुद्धका मूर्ति, चिनो (उपहार) र हस्तकलाका सामग्रीमात्रै बनाएर बिक्री गर्न सक्यौं भने पनि प्रसस्त आम्दानी हुन सक्छ र थुप्रैले रोजगारी पाउँछन्। विदेशी बौद्धमार्गीहरूले लुम्बिनीको महत्व बुझेका छन् र यसको खुलेर प्रशंसा गर्छन्, तर विडम्बना ! हामी नेपालीले नै यसको अन्तर्राष्ट्रिय महत्वलाई सहीरूपमा प्रयोग गर्न सकेका छैनौं। लुम्बिनी गुरुयोजना सुरु भएको ४५ वर्ष बितिसक्दा पनि अझै पूरा हुन सकेको छैन। पछिल्लो समय हामी घरझगडा र पदाधिकारी तथा कर्मचारी नियुक्तिको विवादमा अल्झिएर शान्ति छविलाई धमिल्याउनेतर्फ लागेका छौं, जुन दुःखद पक्ष हो।
रूपन्देही जिल्ला भारतसँग जोडिएको नाका हो, जहाँ नेपालकै दोस्रो ठूलो बेलहिया–सुनौली भन्सार नाका छ। यस नाकाबाट भारतीयलगायत अन्य मुलुकका पर्यटकहरू पाल्पा, पोखरा, मुक्तिनाथतर्फ जाने भएकाले उनीहरूलाई रूपन्देहीमै बसाइ लम्ब्याउने वातावरण बनाउनुपर्छ।
यस क्षेत्रको विकासमा स्थानीय व्यापारिक प्रतिष्ठानहरू– बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थनगर उद्योग वाणिज्य संघ, रूपन्देही उद्योग संघ, रूपन्देही व्यापार संघ, होटल व्यवसायी संघ, कृषि बजार तथा पर्यटन व्यवसायीहरूको सक्रियता सराहनीय छ।
भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), बुटवल–भैरहवा ६–लेन सडक, बुद्ध सर्किट, बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, तिलोत्तमाको पाँचतारे रिसोर्ट र लुम्बिनी कृषि उपज थोक बजारजस्ता पूर्वाधारहरूले यहाँको पहिचान र सम्भावनालाई झन् उच्च बनाएका छन्।
तसर्थ, पुरानो आर्थिक केन्द्र बुटवल र विश्वप्रख्यात लुम्बिनीलाई वास्तविक अर्थमा स्वदेशी तथा विदेशी पर्यटकको संगमस्थल बनाउन सकिन्छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गराई तिनाउ नदी र जितगढीलाई पर्यटकीयरूपमा जोड्न सके यस क्षेत्रको सामाजिक, आर्थिक र धार्मिक पर्यटनमा ठूलो क्रान्ति आउने निश्चित छ।