‘सत्य, सेवा, सुरक्षणम्’को आदर्श वाक्यलाई आत्मसात् गर्दै २१औं शताब्दीका सुरक्षाका मान्यता, चुनौती र आन्तरिक सुरक्षा तथा जनताको जिउधनको सुरक्षाको प्रत्याभूति नेपाल प्रहरीको प्राथमिक दायित्व हो । आमनागरिकले दरिलो शान्तिसुरक्षा र स्वतन्त्रताको अनुभूति गर्न सक्ने अभिसप्तता र चलायमान संगठनको पर्यायका रुपमा नेपाल प्रहरी संगठन उभिनुपर्छ । यस दिशामा गृह प्रशासनको आधारका रुपमा नेपाल प्रहरीको प्रयास जनमुखी र सेवाभावको पर्यायका रुपमा एक सबल आन्तरिक सुरक्षा संगठन हो भन्ने अनुभूति सामान्य जनताले गर्न सक्नुमा यस संगठनको सफलता केन्द्रित रहन्छ ।
संवैधानिक व्यवस्था र केही समयअघि कार्यान्वयनमा आएको संशोधित प्रहरी ऐनअनुसार नेपाल प्रहरी संघीय तथा प्रादेशिक प्रहरीको अवधारणामा अघि बढेको छ । मुलुकको संघीय शासन व्यवस्थाको कार्यान्वयनको दिशामा संघीय तथा प्रदेश प्रहरीको संरचनाअनुसार यो सुरक्षा निकाय रुपान्तरित हुने क्रममा रहेको सन्दर्भमा नेपाल प्रहरी संगठनका नवीनता र कार्यसम्पादन निखारताको अपेक्षा गर्न सकिन्छ ।
नेपालको सुरक्षा निकायको एक प्रमुख संगठन नेपाल प्रहरी मुलुकमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने दिशामा कत्तिको सफल असफल छ, समीक्षाको पाटो रहला । विगतको लामो कार्यानुभव र सांगठनिक संरचनगत मापन सूचकका आधारमा नेपाल प्रहरीको कार्यक्षमताका बहुआयामिक पाटालाई नियाल्ने हो भने यो संगठन जनताको अपेक्षा र गृहप्रशासनको दिशा निर्देशमा कत्ति अब्बल सुरक्षा संयन्त्र बन्न सकेको छ बहसको विषय रहला । प्रहरी ऐन, २०१२ कार्यान्वयनमा आएसँगै नेपाल प्रहरीले वैधानिकरुपमा सरकारको आन्तरिक सुरक्षाको प्रमुख अंगका रुपमा कार्य गर्दै आएको छ ।
विश्वमा प्रहरी वा पुलिस संस्थाको आरम्भका सन्दर्भमा यो संगठन प्राचीनकालदेखि नै मुलुकको इतिहास र भाषाको अस्तित्वझैं प्राचीनता भएको देखिन्छ । नेपालमा राणाकालीन शासन व्यवस्थामा (सन् १८६४ देखि सन् १९५१) प्रहरी संगठनको संस्थागत विकासका केही कार्य भएका थिए । त्यस समयक्रममा यो संगठन मिलिसिया, थाना पुलिस चौकी र पुलिस डाइरेक्टर जनरलको कार्यालयको नामका प्रहरी संगठनको आधारभूत मान्यता र सिद्धान्तअनुसार कार्यसम्पादन गर्दै आएर क्रमशः आधुनिक नेपाल प्रहरीको संगठनमा स्वरुप लिँदै आउन सकेको हो । १०४ वर्षको अकण्टक निरंकुश राणाशासनको वि.सं. २००७ सालमा जनताको ऐतिहासिक प्रजातन्त्र प्राप्तिको आन्दोलनपश्चात् प्रहरी ऐन २०१२ लागू भई कार्यान्वयनमा आएपश्चात् नेपाल प्रहरी संगठनको प्रथम प्रहरी महानिरीक्षकका रुपमा तोरणशमसेर जबराले नेतृत्व गरे । तत्पश्चात् प्रहरी नियमावली, २०१५ (सन् १९५९) मा कार्यान्वयनमा ल्याइएपछि यस संगठनले वैधानिकरुपमा संस्थागत बन्न सक्यो ।

संवैधानिक व्यवस्था र केही समयअघि कार्यान्वयनमा आएको संशोधित प्रहरी ऐनअनुसार नेपाल प्रहरी संघीय तथा प्रादेशिक प्रहरीको अवधारणामा अघि बढेको छ । मुलुकको संघीय शासन व्यवस्थाको कार्यान्वयनको दिशामा संघीय तथा प्रदेश प्रहरीको संरचनाअनुसार यो सुरक्षा निकाय रुपान्तरित हुने क्रममा रहेको सन्दर्भमा नेपाल प्रहरी संगठनका नवीनता र कार्यसम्पादन निखारताको अपेक्षा गर्न सकिन्छ ।
नेपाली जनताले ३० वर्ष अवधिको निर्दलीय पञ्चायती व्यवस्थाको अवसान र बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनस्र्थापना गरे । बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा मूल्य तथा नेपाल अधिराज्यको संविधान २०४७ का मर्म र भावनाअनुसार नेपाल प्रहरी संगठनलाई समयानुकूल परिवर्तन र जनताको सुरक्षा निकायको अनुभूति दिलाउने संगठनका रुपमा संस्थागत विकास गर्ने उद्देश्यले नेपाल प्रहरी पुनर्संरचना आयोग, २०४९ गठन भई त्यस आयोगले दिएको प्रतिवेदन र सुझावका आधारमा यो संगठनले नितान्त फरक ढंगले कार्य गर्ने जमर्कोलाई आत्मसात् गरी अघि बढ्ने प्रयास गर्यो ।
नेपाल प्रहरीले नागरिकसँगको सामीप्यता र सम्बन्धलाई नागरिक समाजको अन्योन्याश्रिततासँग जीवन्त बनाउने प्रयास गरी आएको छ । जनता र समुदायको अभिन्न अंगको पाटोका रुपमा उभ्याउने र जनताका सहयोगी र विपद्का समयको असल मित्रका रुपमा उभ्याउने प्रयासका रुपमा कहिले प्रहरी बर्दीसहितका नागरिक र नागरिक बर्दीविनाका प्रहरीको नारा दिएर जनताको मन जित्ने प्रयास पनि गरियो ।
यस्तै जनतासँग प्रहरी, प्रहरी हाम्रो साथी, मुस्कानसहितको प्रहरी सेवाजस्ता नारा लिएर प्रहरीले नागरिक समाजको अन्तरंग भएर कार्य गर्ने प्रयास पनि भए । यस्ता अभियानले कति सार्थकता पाउन सके आफैंमा स्वमूल्यांकनको पाटो रहला । शान्ति सुरक्षाको अनुभूति दिलाउने प्रयास सकारात्मक हो तर आमजनताले सेवाप्रवाह र सुशासनको अनुभूति गर्ने र दिलाउने सवालमा अझै पनि निखारता खट्किएको छ । पछिल्लो समयमा नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याएको छ । आमजनता र नागरिक समाजको मन जित्ने सवालमा यस कार्यक्रम केही सफल भएको छ ।
विशेषतः समाजमा विद्यमान विकृति र विसंगतिलाई चिर्दै समाजमा घट्ने विभिन्न आपराधिक घटनालाई न्यूनीकरण गर्ने र जनतालाई सुसूचित गर्ने यो कार्यक्रमको मूल उद्देश्य थियो । यसका साथै लागू पदार्थ दुव्र्यसन तथा नियन्त्रण, विद्युतीय तथा साइबर अपराध तथा यसको नियन्त्रण, बालअधिकार तथा बालबालिकासम्बन्धी अपराध र यसको नियन्त्रण र कानुनी उपचार, महिला हिंसा तथा यौन दुव्र्यवहार र यसको नियन्त्रण र नागरिक सचेतना, बेचबिखन तथा संगठित मानव तस्करी नियन्त्रणका कानुनी प्रावधान र सामाजिक दायित्वलगायतका विषयमा जनतालाई सचेत गराउने अभियानका रुपमा यो कार्यक्रम समुदायसम्म विस्तार गरियो । यस कार्यक्रमले निकै हदसम्म नागरिक समाजका सचेतना अभिवृद्धि गर्न सहयोग गर्यो । सामान्य जनतासँगको अन्तरसम्बन्ध कायम गर्न यस्ता कार्यक्रमले नेपाल प्रहरीलाई उत्प्रेरित गरे पनि अपराध नियन्त्रण तथा समाजमा रहेको संगठित अपराध नियन्त्रणको दिशामा धेरै गर्न बाँकी छ ।
संयुक्त राष्ट्रसंघको विश्व शान्ति अभियानमा नेपाल प्रहरीको उपस्थिति र योगदानको सुरुआत नीलो टोपीका प्रहरीका रुपमा सन् १९९१ देखि निरन्तर रुपमा रह्यो । राष्ट्रसंघीय नीलो टोपीका प्रहरी (पिस किपिङ पुलिस) का रुपमा नेपाल प्रहरीका हालसम्म दुई हजारभन्दा बढी प्रहरीले महत्वपूर्ण सेवा प्रदान गरिसकेको तथ्यांक देखिन्छ । विशेषतः सुडान, कोसोभो, हैटी, इराकलगायतका द्वन्द्वग्रस्त मुलुकहरुमा विश्व शान्ति अभियानमा नेपाल प्रहरीले सेवा ग¥यो । विश्व शान्ति अभियानमा नेपालको योगदानको सवल पाटोका रुपमा नेपाल प्रहरीको उपस्थितिलाई लिन सकिन्छ ।
अपराधको मनोविज्ञान र समाजको बहुआयामिक संरचना अनि अपराधीको आपराधिक मानसिकताका आर्थिक, सामाजिक, मनोगत, वंशानुगत अवयवजस्ता तत्वले आपराधिक क्रियाकलापमा पार्ने प्रभावको विश्लेषण आवश्यक छ । आपराधिक समाज मनोविज्ञानका पाटालाई मिहीन विश्लेषण गरी अनुसन्धानको दायरालाई फराकिलो र पारदर्शी बनाउन सकेमा अवश्य पनि अपेक्षित परिणाम हासिल गर्न सकिन्छ ।
प्रहरी संगठनको आधारभूत मूल्य र मान्यतालाई आमनागरिकले बुझ्ने भाषामा जनताको जिउधनको सुरक्षा, समाजमा अपराधका घटना नियन्त्रण र मुलुकको आन्तरिक शान्ति, सुरक्षा र सुशासनको अनुभूति गराउने प्राथमिक दायित्व भएको सुरक्षा निकायका रुपमा लिन सकिन्छ । नेपाल प्रहरी कानुन कार्यान्वयन तथा विधिको शासन कायम गर्ने प्राथमिक दायित्व भएको सुरक्षा निकायका रुपमा क्रियाशील संगठन हो । विधिको शासनको प्रत्याभूति दिलाउने, अपराध नियन्त्रण र अपराधका घटनाको सत्यतथ्य अनुसन्धान गरी पीडितलाई न्यायको अनुभूति दिलाउने दिशामा न्यायिक निकाय अदालतको कार्यसम्पादनमा सहयोग गर्ने हो ।
अपराधी तथा आपराधिक मानसिकता भएका समाजका जोकोहीको तेजोवध गरी समाजमा भयरहित वातावरणको निर्माणमा पहिलो मोर्चामा काम गर्ने गहन जिम्मेवारी बोकेको नेपाल प्रहरीका थुप्रै चुनौती छन् । यस संगठनका अन्य महŒवपूर्ण दायित्वमा सडक ट्राफिक व्यवस्थापन, दंगा तथा भीड नियन्त्रण, प्राकृतिक तथा मानवजनित प्रकोप व्यवस्थापन, अपहरणमा उद्धार, सामरिक महŒवका क्षेत्र तथा भौतिक संरचनाको सुरक्षा, अनुसन्धान तथा इन्टेलिजेन्स संकलन र विश्लेषणलगायतका कार्य पनि पर्दछन् । आफ्नो कार्यसम्पादनमा कुशलता, संगठनमा कार्यमैत्री वातावरण, वृत्ति विकास, कार्य उत्प्रेरणा र संगठनात्मक सहजीकरणको समग्रतामा सामयिक सुधार आवश्यक छ ।
समसामयिक सन्दर्भमा मानव ओसारपसार तथा बेचबिखन महिलाका सवाल, साइबर अपराध, लागुऔषध नियन्त्रण, आधारभूत मानवअधिकारको प्रत्याभूतिका लागि सरकारी निकायसँग सहकार्य, बालबालिकाको संरक्षण तथा बालहिंसा र अपराधको रोकथाम र नियन्त्रणलगायतका महत्वपूर्ण कार्यहरु सम्पादनको चुनौतीलाई प्रभावकारी ढंगबाट कार्यान्वयन तहमा ल्याउन सक्नुपर्ने देखिन्छ । क्षमता र दक्षताको मापनका सूचकको कार्यक्षेत्रमा कत्तिको सम्पादन गर्न सकियो त्यसले महत्व राख्दछ । संगठित अपराध निर्मूलन र न्यूनीकरण आजको जल्दोबल्दो चुनौतीका रुपमा रहेका छन् ।
घटनाको मिहीन तथा शूष्मतम् अनुसन्धान तथा तहकिकातको सम्पादनमा भरपर्दो प्रभावकारी विधि र प्रक्रियाको अभावले जघन्य तथा मानवता विरोधी अपराध रोकथाम र न्युनीकरणका चुनौती छन् । यस्ता जघन्य अपराध नियन्त्रण तथा निर्मूलीकरणमा दरो कदम आवश्यक छ । अपराधको मनोविज्ञान र समाजको बहुआयामिक संरचना अनि अपराधीको आपराधिक मानसिकताका आर्थिक, सामाजिक, मनोगत, वंशानुगत अवयवजस्ता तत्वले आपराधिक क्रियाकलापमा पार्ने प्रभावको विश्लेषण आवश्यक छ । आपराधिक समाज मनोविज्ञानका पाटालाई मिहीन विश्लेषण गरी अनुसन्धानको दायरालाई फराकिलो र पारदर्शी बनाउन सकेमा अवश्य पनि अपेक्षित परिणाम हासिल गर्न सकिन्छ ।
समसामयिक परिवेशमा जनताको अभिन्न सेवाप्रवाही संगठनका रुपमा नेपाल प्रहरी उभिन सक्नुपर्दछ । कानुनी शासन, मानवअधिकारको संरक्षण, विधिका शाश्वत् सिद्धान्तलाई आत्मसात् गरेर २१औं शताब्दीको प्रहरीको अवधारणा र मान्यताअनुसार नेपाल प्रहरीमा रुपान्तरण र परिमार्जित कार्यशैली अवसर हो ।