तामाङ गाउँबस्तीमा जन्मदेखि घेवा (मृत्यु संस्कार) सम्मका संस्कारमा आवश्यक पर्ने टोटलाको फूल अर्थात् ‘कोकोम्हेन्दो’ खोज्ने ताम्बाहरू भेटिन छाडेका छन् । किरात बस्तीमा मुन्धुमी अनुष्ठानका लागि चाहिने सुगन्धित ‘काहुलो’ चिन्ने नछुङहरूको संख्या घट्दै गएको छ । उच्च हिमालीखर्कमा भेँडा गोठसँगै ‘बिख’ र ‘बिखुमा’को भेद छुट्याउन जान्ने गोठालाहरूको अनुभवजन्य ज्ञान पुस्तान्तरण हुन सकेको छैन । आँगनका तुलसीका मठ र कान्लाका चाबो कंक्रिटले पुरिँदै गएका छन् । नेपाली समाजले आधुनिकीकरणका नाममा गुमाउँदै गएको कुरा पुराना चालचलनमामात्र सीमित छैन । संस्कृतिसँगै विकसित भएका औषधीय वनस्पतिसम्बन्धी ज्ञान, अनुभवमा आधारित विज्ञान र आत्मनिर्भर जीवनशैलीका आधारसमेत कमजोर हुँदै गएका छन् ।
संस्कृति कमजोर हुँदा वनस्पति कसरी मासिन्छ ?
हाम्रो समाजमा संस्कृति र प्रकृतिको सम्बन्ध अन्योन्याश्रित छ । कुनै समुदायको मौलिक संस्कार बदलिँदा वा छोडिँदा त्यससँग जोडिएका वनस्पतिको प्रयोग, रोपण, संरक्षण र पुस्तान्तरणको अभ्यास पनि कमजोर हुन्छ । त्यसैले सांस्कृतिक परिवर्तनलाई जैविक विविधतामाथि पर्ने प्रभावबाट अलग राखेर हेर्न मिल्दैन । तामाङ समुदायमा ‘कोकाम्हेन्दो’ केवल फूलमात्र नभई पुर्खा, संस्कार र प्रकृतिबीचको सम्बन्धको प्रतीक मानिन्छ । टोटलाका विभिन्न भाग परम्परागतरूपमा औषधीय प्रयोजनमा प्रयोग हुँदै आएका छन् । परम्परागत प्रयोगको इतिहास हुनु र त्यसको औषधीय प्रभाव वैज्ञानिक परीक्षणबाट प्रमाणित हुनु फरक कुरा हुन् ।
बजारमा उपलब्ध कृत्रिम फूलको प्रयोग बढ्दै जाँदा संस्कारका लागि टोटला खोज्ने, रोप्ने र संरक्षण गर्ने अभ्यास कमजोर हुँदै गएको छ । सांस्कृतिक माग घट्दा त्यसको संरक्षणमा समुदायको चासो पनि घट्दै गएको छ । पूर्वी पहाडका किरात (राई र लिम्बू) समुदायमा नछुङ र फेदाङ्माले विभिन्न अनुष्ठानमा वनस्पति प्रयोग गर्ने परम्परा छ । ‘काहुलो’ पनि कतिपय स्थानीय अभ्यासमा महŒवपूर्ण मानिन्छ । यससँग सम्बन्धित परम्परागत ज्ञानलाई समुदायको अनुभव र स्मृतिका आधारमा अभिलेखित गर्न आवश्यक छ । यसको औषधीय गुणबारे वैज्ञानिक निष्कर्ष निकाल्न भने वनस्पतिको सही पहिचान, रासायनिक विश्लेषण, प्रयोगशालामा परीक्षण र आवश्यकताअनुसार थप अनुसन्धान गर्नुपर्छ । मुन्धुमी चेतना र अनुष्ठानसँग जोडिएको ज्ञान पुस्तान्तरण कमजोर हुँदा यस्तो वनस्पति चिन्ने र यसको उपयोगबारे जान्ने व्यक्तिको संख्या पनि घट्दै गएको छ ।

खस–आर्य समुदायमा बाटोछेउ चौतारी बनाउने, वर–पिपल रोप्ने र तिनलाई सामाजिक तथा धार्मिक जीवनसँग जोड्ने चलन थियो । ती विशाल रुखले वातावरणीय सन्तुलन, शीतल छायाँ, चराचुरुंगीको वासस्थान र सामुदायिक भेटघाटका लागि महŒवपूर्ण भूमिका खेल्थे । वर, पिपल र तुलसीका विभिन्न परम्परागत उपयोगसम्बन्धी ज्ञान पनि पुस्तान्तरण हुँदै आएको छ । त्यसैगरी, कतिपय स्थानीय समुदायमा ‘चाबो’ भनेर चिनिने वनस्पति घरेलु उपचारमा प्रयोग गरिन्छ । यसको सही वनस्पतिगत पहिचान र औषधीय प्रभावबारे थप अनुसन्धान आवश्यक छ ।
सडक विस्तार, अव्यवस्थित निर्माण र सिमेन्टका आँगनको विस्तारले चौतारी, तुलसीका मठ र घर वरपरका उपयोगी वनस्पतिका लागि उपलब्ध ठाउँ घटाउँदै लगेका छन् । तराईका थारू समुदायमा गुरुवा र भर्राजस्ता परम्परागत उपचारकले विभिन्न वनस्पति प्रयोग गर्ने ज्ञान पुस्तौंदेखि जोगाउँदै आएका छन् । ‘सतवरिया’ र ‘हरैया’ जस्ता स्थानीय नामले चिनिने वनस्पतिको पहिचान क्षेत्रअनुसार फरक हुनसक्ने भएकाले तिनको वैज्ञानिक पहिचान स्पष्ट पार्नु महŒवपूर्ण छ ।
कृषि क्षेत्रमा रासायनिक विषादीको अत्यधिक प्रयोग, प्राकृतिक वासस्थानको विनाश र अव्यवस्थित संकलनले कतिपय उपयोगी वनस्पति लोपोन्मुख अवस्थामा पु¥याइएको छ । त्यसैगरी, विभिन्न समुदायमा जाँड–रक्सी बनाउन प्रयोग हुने ‘मर्चा’ रैथाने जैविक ज्ञानको एउटा उदाहरण हो । यसको निर्माणमा सूक्ष्म जीव, स्थानीय कच्चापदार्थ र समुदायमा पुस्तौंदेखि विकसित भएको अनुभवजन्य सीपको भूमिका हुन्छ । व्यावसायिकरूपमा उत्पादित खमिरको प्रयोग बढ्दै जाँदा परम्परागत मर्चा बनाउने विधि र त्यससँग जोडिएका स्थानीय ज्ञान ओझेलमा पर्नसक्छ । यससँग सम्बन्धित वनस्पति तथा सूक्ष्म जीवको पहिचान र प्रयोगबारे व्यवस्थित अभिलेखीकरण आवश्यक छ ।
परम्परागत औषधीय ज्ञान र वैज्ञानिक परीक्षण
पुर्खाले वनजंगलमा उपलब्ध वनस्पति, जडीबुटी र प्राकृतिक पदार्थको प्रयोगबाट रोगव्याधिको उपचार गर्नेक्रममा अनुभवमा आधारित ज्ञान विकास गरेका थिए । लामो समयसम्म गरिएका प्रयोग, तिनका परिणामको अवलोकन र पुस्तान्तरणबाट कतिपय उपचार पद्धति समुदायमा स्थापित भए । आज पनि यस्तो ज्ञान ग्रामीण जीवन, सांस्कृतिक पहिचान र औषधीय अनुसन्धानका लागि महŒवपूर्ण स्रोत हुन सक्छ ।
परम्परागतरूपमा कुनै वनस्पति प्रयोग हुँदै आएको छ भन्दैमा त्यसले सबै अवस्थामा सम्बन्धित रोग निको पार्छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन । त्यसैगरी कुनै वनस्पतिको औषधीय सम्भावना देखिनु र त्यसबाट तयार गरिएको औषधि मानिसमा सुरक्षित तथा प्रभावकारी प्रमाणित हुनु पनि फरक कुरा हुन् । त्यसैले पुर्खाको अनुभवलाई अस्वीकार गर्ने होइन, त्यसलाई वैज्ञानिक अध्ययनका लागि महŒवपूर्ण आधारका रूपमा लिनुपर्छ ।
नेपालमा औषधीय वनस्पतिबारे अध्ययन र अनुसन्धान गर्ने सरकारी निकायमध्ये वनस्पति विभाग महŒवपूर्ण छ । विभागले औषधीय तथा सुगन्धित वनस्पतिसम्बन्धी अनुसन्धान, पहिचान, अभिलेखीकरण र वैज्ञानिक जानकारीको विकासमा काम गर्दै आएको छ । यसका अनुसन्धान सामग्रीमा वनस्पतिको पहिचान, रासायनिक तŒव र औषधीय सम्भावनासम्बन्धी विवरण खोज्न सकिन्छ । परम्परागतरूपमा प्रयोग हुँदै आएका केही वनस्पतिमाथि औषधीय गतिविधिको परीक्षण पनि गरिएको छ । उपलब्ध अध्ययनले केही परम्परागत प्रयोग र औषधीय अनुसन्धानबीच समानता देखाए पनि सबै वनस्पति र सबै उपचार विधिको प्रभावकारिता प्रमाणित भइसकेको अवस्था छैन ।
सिंहदरबार वैद्यखानाजस्ता सरकारी आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थाले च्यवनप्राश, त्रिफला चूर्ण, तुलसी चियालगायतका उत्पादन बनाउँदै आएका छन् । यसले वनस्पति तथा अन्य प्राकृतिक द्रव्यमा आधारित परम्परागत औषधि निर्माणको संस्थागत अभ्यासलाई देखाउँछ । कुनै सरकारी संस्थाले जडीबुटीजन्य औषधि उत्पादन गर्छ भन्ने आधारमा यहाँ उल्लेख गरिएका टोटला, काहुलो, चाबो, बिख–बिखुमा वा हाडजोरा सबै त्यस्ता औषधिका कच्चापदार्थ हुन् भन्ने निष्कर्ष निकाल्नु उचित हुँदैन । त्यसका लागि प्रत्येक वनस्पतिको वैज्ञानिक पहिचान र सम्बन्धित औषधिको प्रमाणित उत्पादन विवरण आवश्यक हुन्छ ।
यसर्थ परम्परागत ज्ञानको संरक्षण र वैज्ञानिक प्रमाणको खोजलाई एकअर्काको विरोधीका रूपमा होइन, परिपूरक प्रक्रियाका रूपमा बुझ्नुपर्छ । पुर्खाको अनुभवमा आधारित उपचार पद्धतिलाई अभिलेखीकरण गर्ने, त्यसमा प्रयोग हुने वनस्पतिको पहिचान गर्ने, उपयोगी सम्भावनाको अनुसन्धान गर्ने र जोखिमपूर्ण प्रयोगलाई रोक्ने काम सँगसँगै अघि बढाउनुपर्छ । यसो गर्दा समुदायमा रहेको ज्ञानलाई सम्मान गर्दै त्यसको सुरक्षित र विवेकपूर्ण उपयोगको बाटो खुल्छ ।
गोठ र घरेलु शिल्पको पतन
कुनै जीवनशैली हराउँदा त्यससँग जोडिएको लामो अनुभव र ज्ञान कसरी विलीन हुनसक्छ भन्ने उदाहरण नेपालको गोठ तथा घरेलु शिल्प संस्कृतिमा देखिन्छ । उच्च पहाडी भेगका भेँडा गोठालाहरूले जंगल र खर्कमा पाइने विभिन्न वनस्पति, तिनको उपयोग तथा सम्भावित विषाक्तताबारे अनुभवका आधारमा ज्ञान विकास गरेका थिए । ‘बिख’ र ‘बिखुमा’ भनेर चिनिने वनस्पतिबीचको भेद छुट्याउने ज्ञान पनि कतिपय स्थानीय परम्परामा पाइन्छ । यी नामले कुन–कुन प्रजातिलाई जनाउँछन् भन्ने कुरा पहिचान नगरी तिनको विषाक्तता वा प्रतिविषका रूपमा प्रयोगबारे निश्चित निष्कर्ष निकाल्न मिल्दैन । नयाँ पुस्ताले भेडापालन छाड्दै जाँदा खर्कमा विकसित भएको वनस्पतिसम्बन्धी अनुभवजन्य ज्ञान हराउने जोखिम बढेको छ ।
भेडापालन घट्नु, ऊनको उत्पादन कम हुनु र बजारिया कपडाको पहुँच बढ्नुले परम्परागत बुनाइमासमेत प्रभाव पारेको छ । गुरुङ, मगर, शेर्पा र खस समुदायमा विभिन्न रूपमा प्रचलित ‘राडी–पाखी’, ‘लुंगी’ र जाडोमा प्रयोग गरिने बाक्ला ऊनी कपडा बुन्ने सीपलाई बजारिया कृत्रिम रेसाका कपडाले चुनौती दिएका छन् । यसले परम्परागत तान, धागो तयार गर्ने प्रविधि र स्थानीय सामग्रीको उपयोगसँग जोडिएको ज्ञान कमजोर बनाएको छ ।
तराई र मध्यपहाडका कतिपय क्षेत्रमा कपास खेती घट्दै जाँदा चर्खाबाट धागो कात्ने र हातेतानमा कपडा बुन्ने परम्परा पनि कमजोर भएको छ । ग्रामीण जीवनका आधार मानिने बाँस र निगालोबाट डोको, डालो, मान्द्रो, भकारी र पेरुंगो बनाउने सीपले प्लास्टिकका सामग्रीसँग प्रतिस्पर्धा गर्नुपरेको छ । चोयाबाट हलुका, उपयोगी र टिकाउ सामग्री बनाउने यो सीपले उचित श्रममूल्य नपाउँदा नयाँ पुस्तामा यसको आकर्षण घट्दै गएको छ । कुमालेले माटो मुछेर घैँटो, हाँडी र पाला बनाउने परम्परागत प्रविधिलाई धातु तथा प्लास्टिकका भाँडाको विस्तारले चुनौती दिएको छ ।
माटाका भाँडाको उपयोगिता तिनको बनोट, प्रयोग र मर्मतसम्भारमा निर्भर हुन्छ । तिनलाई सबै अवस्थामा आधुनिक भाँडाभन्दा स्वस्थकर भन्न भने मिल्दैन । परम्परागत माटाका भाँडा बनाउने सीप र स्थानीय उत्पादनको सांस्कृतिक महŒव बजारमा पर्याप्त मूल्य पाउन सकेका छैनन् । त्यस्तै, गाउँघरमा हाड भाँचिदा बाँसका कप्टेरा लगाएर अंग स्थिर बनाउने र विभिन्न वनस्पति प्रयोग गर्ने परम्परागत उपचार पद्धति कतिपय ठाउँमा पाइन्थ्यो । ‘हाडजोरा’वा ‘हडचुर’ भनेर चिनिने वनस्पतिसम्बन्धी ज्ञान पनि स्थानीय उपचार परम्पराको हिस्सा हो । यस्ता अभ्यासको ऐतिहासिक महŒव अभिलेखित गर्नुपर्छ, तर गम्भीर चोटपटकमा आधुनिक चिकित्सकीय परीक्षण र उपचारको विकल्पका रूपमा प्रस्तुत गर्नु हुँदैन । स्वास्थ्य सेवाको विस्तारसँगै परम्परागत उपचारको अनुभवजन्य ज्ञानलाई अभिलेखीकरण र वैज्ञानिक अध्ययन गर्ने काम पनि अघि बढ्नुपर्छ ।
रैथाने नश्लको क्षयीकरण
आधुनिकीकरणको प्रभाव वनस्पतिमामात्र सीमित छैन । स्थानीय पशुपन्छीका नश्ल र तिनलाई पाल्ने परम्परागत प्रणालीमासमेत परिवर्तन आएको छ । पूर्वी पहाडका कतिपय समुदायमा पालिने सानो कदका स्थानीय सुँगुर, जंगलछेउ विचरण गर्ने लुइँचे र रैथाने साकिनी कुखुरा स्थानीय हावापानी, आहार र पालन प्रणालीसँग अनुकूलित हुँदै आएका छन् । तिनको तुलनामा व्यावसायिक रूपमा पालिने विदेशी वा उन्नत जातका पशुपन्छीको विस्तारले स्थानीय नश्ल संरक्षणमा चुनौती सिर्जना गर्नसक्छ तर कुनै नश्ल लोप प्रायः भइसकेको वा त्यसको रोगप्रतिरोधी क्षमता समाप्त भएको निष्कर्ष निकाल्न जनसंख्या, प्रजनन् र आनुवंशिक विविधतासम्बन्धी तथ्यांक आवश्यक हुन्छ ।
सुदूरपश्चिमको अछामी नौमुठे गाई र पोखरेली लमे तथा पार्केभैँसीजस्ता स्थानीय पशुजन्य सम्पदाको संरक्षणमा पनि ध्यान दिनुपर्छ । यस्ता नश्लको महŒव दूध वा मासु उत्पादनमामात्र सीमित हुँदैन । तिनमा स्थानीय हावापानीसँग अनुकूलन, पालनसम्बन्धी अनुभव, आनुवंशिक विविधता र स्थानीय खाद्य प्रणालीको निरन्तरतासँग जोडिएका पक्षसमेत हुन्छन् । रैथाने पशुपन्छीको संरक्षण गर्नु भनेको सबै आधुनिक नश्ल वा प्रविधिलाई अस्वीकार गर्नु होइन । स्थानीय नश्लको उपयोगिता पहिचान गर्दै वैज्ञानिक प्रजनन्, उचित पालन र जैविक विविधताको संरक्षणलाई सँगसँगै अघि बढाउनु हो । स्थानीय नश्ल गुम्दै जानु भनेको भविष्यमा उपयोगी हुन सक्ने आनुवंशिक स्रोत र खाद्य प्रणालीका विकल्प कमजोर हुनु पनि हो ।
हामीले आधुनिक हुनुको अर्थ आफ्ना सबै रैथाने आधार भत्काउनु ठानेका छौं कि भन्ने प्रश्न गम्भीर छ । एउटा संस्कृति कमजोर हुँदा त्यससँग जोडिएको वनस्पतिको संरक्षण, त्यसको उपयोगसम्बन्धी ज्ञान र समुदायको स्वावलम्बी अर्थतन्त्र पनि प्रभावित हुनसक्छ । यसका साथै वनविनाश, बजारको दबाब, जलवायु परिवर्तन र अव्यवस्थित विकासले समस्या थप जटिल बनाउँछन् ।
परम्परागत औषधीय ज्ञान र रैथाने सीपको संरक्षण गर्नुको अर्थ वैज्ञानिकरूपमा प्रमाणित आधुनिक चिकित्सा पद्धति र प्रविधिको उपयोग नगर्नु होइन । यसको अर्थ उपयोगी परम्परागत ज्ञानलाई प्रमाणका आधारमा अध्ययन गर्नु, जोखिमबारे सचेत रहनु र आवश्यकताअनुसार आधुनिक प्रविधिसँग समन्वय गर्नु हो । आधुनिक चिकित्सा आवश्यक पर्ने अवस्थामा त्यसको उपयोग गर्नुपर्छ । परम्परागत ज्ञानलाई पनि अन्धविश्वास भनेर पन्छाउनुको सट्टा अध्ययन, अभिलेखीकरण र उपयुक्त संरक्षण गर्नुपर्छ ।
हामीले आज संरक्षण गर्न सकेनौं भने भोलिका पुस्ताले आफ्नै आँगन, वनजंगल र खर्कमा विकसित भएको ज्ञानसँगको सम्बन्ध गुमाउन सक्छन् । त्यसैले वनस्पति र जडीबुटी जोगाउनु भनेको विगतको सम्झनामात्र जोगाउनु होइन, भावी पुस्ताले पनि तिनको पहिचान, उपयोग र सम्भावित लाभबारे जान्न, अध्ययन गर्न र आवश्यकताअनुसार उपयोग गर्न पाउने आधार सुरक्षित गर्नु हो । आधुनिक विज्ञान र परम्परागत ज्ञानबीच संवाद स्थापित गर्दै जैविक विविधता, सांस्कृतिक सम्पदा र मानव स्वास्थ्यको संरक्षण गर्नु नै दिगो आधुनिकीकरणको बाटो हो । रासस
(लेखक रैथाने बाली संरक्षण अभियानमा क्रियाशील छन्)