काठमाडौं। नेपाल तामाङ कलाकार संघले चौथो तामाङ मौलिक सेलो संगीत महोत्सव–२०८३ आयोजना गर्ने भएको छ । महोत्सव आगामी मंसिर २५ र २६ गते काठमाडौंको भृकुटीमण्डमा महोत्सव हुने संघका अध्यक्ष विशाल काल्तानले जानकारी दिए ।
तामाङ समुदायको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहेको डम्फु तथा ताम्बा संस्कृतिको संरक्षण र पुस्तान्तरणसँगै सेलो, म्हेन्दोमाया, खन्दोके र फापरेजस्ता मौलिक संगीतको प्रवद्र्धन गर्न महोत्सव गर्न लागिएको अध्यक्ष काल्तानले बताए ।
महोत्सवको पहिलो दिन मंसिर २५ गते तामाङ मौलिक संस्कार र संस्कृति झल्किने झाँकीसहित उद्घाटन समारोह हुने आयोजकले जनायो । कार्यक्रममा लामा, ताम्बा र बोन्पोद्वारा सङ सेर्केम पूजा, ताम्बाहरूको डम्फु तथा ताम्बा गीत प्रस्तुति, मौलिक सांगीतिक कार्यक्रम र विभिन्न व्यक्तित्वबाट शुभकामना मन्तव्य रहने आयोजकले जनाएको छ ।
संघले प्रदान गर्दै आएको सेलो संगीत पुरस्कार तामाङ मौलिक संगीत क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका अग्रज संगीतकार एवं गायक प्रेम लोप्चनलाई नगद २५ हजारसहित प्रदान गरिने भएको छ । महोत्सवको दोस्रो दिन मंसिर २६ गते विशेष सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम हुनेछ । कार्यक्रममा चन्द्रकुमार मोक्तान, चन्द्रकुमार दोङ, रोज मोक्तान, प्रेम लोप्चनलगायत कलाकारको प्रस्तुति रहनेछ । साथै विभिन्न सांगीतिक ब्यान्डको लाइभ प्रस्तुति पनि मुख्य आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ ।