काठमाडौं- अभिनेत्री अञ्जना बराइलीले चलचित्र ‘सिन्दुरे जात्रा’ महिला चरित्रप्रधान कथामा आधारित सिनेमा भएको बताएकी छन्। उनले चलचित्रमार्फत नेपाली समाजमा महिलाप्रति विद्यमान दृष्टिकोणमाथि प्रश्न उठाउने प्रयास गरिएको बताइन्।
चलचित्रको नामले नै आफूलाई आकर्षित गरेको र कथा पढेपछि समय मिले यसमा जोडिने निर्णय गरेको अञ्जनाको भनाइ छ। उनका अनुसार ‘सिन्दुरे जात्रा’ कथानक तथा प्राविधिक दुवै पक्षबाट बलियो चलचित्र बनेको छ। चलचित्रमा ‘पूर्णबहादुरको सारङ्गी’मा काम गरेका केही कलाकार, निर्देशक तथा प्राविधिक जोडिए पनि यसको कथा पूर्णतः फरक रहेको उनले स्पष्ट पारेकी छन्। त्यसैले ‘सिन्दुरे जात्रा’लाई ‘पूर्णबहादुरको सारङ्गी’को सिक्वेल वा त्यसैको कथासँग मिल्दोजुल्दो चलचित्रका रूपमा बुझ्न नहुने उनको भनाइ छ।
अञ्जनाका अनुसार ‘सिन्दुरे जात्रा’ले नेपाली समाजले महिलालाई हेर्ने दृष्टिकोण र महिलाको अवस्थाबारे कथा प्रस्तुत गर्छ। चलचित्रले कुनै पक्षको वकालत गर्ने वा न्यायाधीश बन्ने प्रयास नगरेको उनले बताइन्। “हामीले यो पटक प्रश्न उठाउने प्रयास गरेका छौँ। महिलाप्रति समाजको धारणा सही छ कि छैन भनेर प्रश्न समाजलाई नै छोडेका छौँ,” उनले भनिन्।
चलचित्रमा आफूले मौन विद्रोह गरेको पनि अञ्जनाले खुलासा गरेकी छन्। संवादमार्फत मात्रै नभई आफ्नो चरित्र र प्रस्तुतिमार्फत विद्रोह व्यक्त गरेको उनको भनाइ छ।सरोज पौडेलको निर्देशनमा बनेको चलचित्रमा अञ्जना बराइलीसँगै विजय बराल, विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहेको छ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रको कथा निर्देशक सरोज पौडेल स्वयंले तयार पारेका हुन्। सारंगी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता नेम महर्जन हुन्। राकेश खड्का र श्याम मगर सह-निर्माता तथा सुमन रञ्जित एसोसिएट निर्माता रहेका छन्। अनिश अधिकारीले लाइन निर्माणको जिम्मेवारी सम्हालेका छन्।
दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा पदमबहादुर श्रेष्ठ (बाबु)को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन रहेको छ। चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहेको छ। आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ। बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा जोडिएका छन्।