काठमाडौं- दिवंगत अभिनेता सुनील थापाले अभिनय गरेको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ आज देखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ। धीराज राजवंशीको डेब्यू निर्देशकीय चलचित्र ‘हिमालयन गोल्ड’ थ्रिलर तथा ड्रामा जनरामा निर्माण भएको हो।
थापाको अन्तिम अभिनय रहेको चलचित्र भएकाले पनि यसले नेपाली दर्शकमाझ विशेष चासो पाउने अपेक्षा गरिएको छ। चलचित्रले हिमाली भूगोलमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा र त्यसको लोभमा जन्मिने द्वन्द्व, संघर्ष तथा मानवीय स्वार्थको कथा प्रस्तुत गर्छ।
सन् १९९० को परिवेशमा आधारित चलचित्रमा यार्सागुम्बा संकलनका क्रममा हुने लुटपाट, असुरक्षा र त्यसले निम्त्याउने घटनालाई पर्दामा उतारिएको छ। परिवार र आफ्नो मेहनतले संकलन गरेको यार्सागुम्बा जोगाउन एक युवतीले निर्दयी समूहसँग गर्ने संघर्ष चलचित्रको मुख्य कथावस्तु हो। अस्तित्वको लडाइँ, प्रतिशोध र साहसलाई समेत कथामा समेटिएको छ।
प्रदर्शनअघि नै चलचित्रले नेपाल र भारतमा फरक उमेर समूहका दर्शकका लागि प्रदर्शन अनुमति पाएको छ। नेपालमा चलचित्रले एडल्ट (ए) सर्टिफिकेट पाएको छ भने भारतमा यूए १६ प्लस सर्टिफिकेट प्राप्त गरेको छ। चलचित्रमा सुनील थापासँगै कर्मा शाक्य, परीक्षा लिम्बु, मेनुका प्रधान, राहुल एन. मुखिया, अङ्कित खड्का, सुनील तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्याललगायत कलाकारको अभिनय छ।
समुद्री सतहबाट करिब ४ हजार ८०० मिटरको उचाइमा छायांकन गरिएको चलचित्रमा रुकुम, डोल्पा, रोल्पा र मनाङका समुदायको यार्सागुम्बासँग जोडिएको जीवनशैली र आर्थिक निर्भरतालाई पनि चित्रण गरिएको छ। बुधबार काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा आयोजित प्रिमियरमा सहभागी सेलिब्रेटीले चलचित्रको कथावस्तु, हिमाली दृश्य, कलाकारको अभिनय र प्रस्तुतिको प्रशंसा गरेका थिए।
ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रको कथा तथा निर्देशन धीराज राजवंशीको हो। पटकथा दीपेन्द्र गौचन र राजवंशीले लेखेका हुन्। मीनबहादुर भाम निर्माता, सुयश ज्ञवाली सहनिर्माता र राजु राजवंशी कार्यकारी निर्माता छन्।
भारतमा प्रतिष्ठित वितरण कम्पनी एए फिल्म्सले चलचित्र वितरण गरेको छ। नेपालमा एप्पल इन्टरटेनमेन्ट, जापानमा टोकियो ड्रिम इन्टरटेनमेन्ट र मध्यपूर्वमा फार्स फिल्म मोसन पिक्चर्सले वितरणको जिम्मेवारी लिएका छन्।