काठमाडौं- सरोज पौडेलको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार विजय बराल र अञ्जना बराइलीलाई भावुक अवस्थामा प्रस्तुत गरिएको छ।
पोस्टरमा अञ्जना विजयको छातीमा टाँसिएर रोइरहेको देखिन्छिन् भने विजयको आँखामा पनि आँसु झल्किएको छ। गाउँले परिवेश र जात्राको माहोल झल्काउने पोस्टरले चलचित्रमा कुनै गम्भीर घटना वा पारिवारिक तथा सामाजिक द्वन्द्व रहेको संकेत गर्छ।
पोस्टरमा मन्दिर र जात्रामा सहभागी मानिसहरूको भीडसमेत देख्न सकिन्छ। अञ्जनाको बिग्रिएको कपाल र विजयको भावुक अवस्थाले उनीहरू कुनै अप्रिय घटनामा परेको हुन सक्ने अनुमान गर्न सकिन्छ। परम्परागत गहना र पहिरनमा देखिएकी अञ्जनाको लुक्सले ग्रामीण परिवेशलाई थप जीवन्त बनाएको छ।
चलचित्रमा विजय बराल र अञ्जना बराइली मुख्य भूमिकामा छन्। नेपाली चलचित्र इतिहासकै सफल चलचित्रमध्ये एक ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेका यी दुई कलाकारको यो दोस्रो सहकार्य हो। उक्त चलचित्रको सफलतापछि उनीहरूलाई पुनः एउटै पर्दामा हेर्न दर्शक उत्साहित हुने अपेक्षा गरिएको छ।
चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहनेछ।
चलचित्रको कथा निर्देशक सरोज पौडेल स्वयंले तयार पारेका हुन् भने पटकथा तथा संवाद सबिन अधिकारी र वसन्त न्यौपानेले लेखेका छन्। सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन्। राकेश खड्का र श्याम मगर सह-निर्माता तथा सुमन रञ्जित एसोसिएट निर्माता रहेका छन्। अनिश अधिकारीले लाइन निर्माणको जिम्मेवारी सम्हालेका छन् भने दिनेश खड्का कार्यकारी निर्माता हुन्।
चलचित्रको छायांकन पदमबहादुर श्रेष्ठ (बाबु) ले गरेका छन् भने सम्पादन सुरेन्द्र पौडेलको रहेको छ। विशाल घिमिरे क्रिएटिभ निर्देशकका रूपमा रहेका छन्। चलचित्रमा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ।
आगामी मंसिर १८ गते प्रदर्शनमा आउने चलचित्रको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ। बिग मुभिज थिएटर पार्टनर तथा ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा रहेका छन्।