काठमाडौं- वसन्त निरौलाको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘पाँच पाण्डव’ आज (शुक्रबार)देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। फ्राइडे रिलिजअन्तर्गत प्रदर्शनमा आएको चलचित्रले सन्तोषजनक शो प्राप्त गरेको निर्माण पक्षले जनाएको छ।
निर्माण पक्षले वर्षकै प्रतीक्षित चलचित्रका रूपमा दाबी गर्दै आएको ‘पाँच पाण्डव’ले बलिउडको ठूलो चलचित्र प्रदर्शनमा आएकै कारण अपेक्षाकृत कम शो पाएको निर्देशक वसन्त निरौलाले बताएका छन्।
“हाम्रो सिनेमाले जति शो पाएको छ, बलिउडको ठूलो सिनेमा आएकाले यसलाई सन्तोषजनक मान्नुपर्छ,” निर्देशक निरौलाले भने, “तर, हाम्रो सिनेमा राम्रो रहेकाले दोस्रो दिनबाटै हलहरूले शो थप्दै जानेमा हामी पूर्ण रूपमा ढुक्क छौँ।”
चलचित्रको कथावस्तु, आइडिया र प्रस्तुतिलाई दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको पनि निर्देशक निरौलाले बताएका छन्। ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन्।
त्यस्तै, दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) लगायतको पनि अभिनय रहेको छ। काली रानी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ रहेकी छन्। नवीनले यसअघि गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए।
चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। सामाजिक विषयवस्तुमा आधारित चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गरेको लेखक पौडेलले बताएका छन्। चलचित्रको छायांकन श्याम तामाङले गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन तथा रङ्ग संयोजन गरेका छन्। द्वन्द्व निर्देशन सम्राट बस्नेतको रहेको चलचित्रमा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी छ।
त्यस्तै, चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक (बीजीएम) तथा पुकार धिमालको भीएफएक्स रहेको छ। रोहित राज गौतम एचओपी र विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजरका रूपमा छन्।
चलचित्रको अर्को विशेषता डल्बी एटमस साउन्ड रहेको निर्माण पक्षले जनाएको छ। दर्शकले चलचित्रलाई डल्बी एटमस प्रविधिमा ध्वनिको विशेष अनुभवसहित हेर्न पाउनेछन्। ओएसआर डिजिटल चलचित्रको डिजिटल पार्टनर रहेको छ भने आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले देशव्यापी वितरणको जिम्मेवारी सम्हालेका छन्।