काठमाडौं- रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा सम्पन्न ह्वीस्पर मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधि नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङले जितेकी छन्। २१ प्रतिस्पर्धीलाई पछि पार्दै उनले शनिबार राति राजधानीमा आयोजित भव्य समारोहमा उपाधि हात पारेकी हुन्।
खोटाङको दिक्तेल निवासी गुरुङले उपाधिसँगै स्कुटर पुरस्कार प्राप्त गरेकी छन्। अधिवक्तासमेत रहेकी उनले अमेरिकामा आयोजना हुने विवाहित महिलाहरूको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्। उनले ‘तपाईंको बजार बेस्ट पर्सनालिटी’ उपाधिसमेत जितेकी छन्।
प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजित प्रतियोगितामा नेहा गुप्ता फस्ट रनर्सअप घोषित भइन्। उनले रिवन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस उपाधिसमेत प्राप्त गरिन्। ज्योति लामिछाने सेकेन्ड रनर्सअप र सगुन खनाल थर्ड रनर्सअप घोषित भए। सगुनले हर्लिक्स बेस्ट फिजिक उपाधिसमेत जितिन्।
त्यसैगरी शिल्पा न्यौपाने महर्जन ‘मिसेस नेपाल इन्टरनेसनल २०२६’, क्रिस्टिना ज्ञवाली ‘मिसेस कोस्मो २०२६’ र ऋचा शर्मा ‘एमएस इन्टरनेसनल २०२६’ की विजेता बने। यी उपाधि विजेताले जनही ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलका विजेताले सिंगापुर तथा मिसेस कोस्मोकी विजेताले म्यानमारमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी दिए।

निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधि
कार्यक्रममा नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधिबाट सम्मान गरिएको छ। नेपाली चलचित्र क्षेत्रमा साढे तीन दशकभन्दा लामो समयदेखि पुर्याएको योगदान, उपलब्धि र प्रेरणादायी व्यक्तित्वको उच्च कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजक शिला बास्तोलाले जानकारी दिइन्।
निरुताको सम्मानमा उनले अभिनय तथा नृत्य गरेका चलचित्रका गीतमा मोडल तथा अभिनेता यसराज गराच, शिला गजुरेल र ऋचा थापाले नृत्य प्रस्तुत गरेका थिए। उनीहरूले अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंहलाई समेत मञ्चमा आमन्त्रण गरी नृत्यमा सहभागी गराएका थिए।
विभिन्न विधामा पनि प्रतिस्पर्धी सम्मानित
प्रतियोगितामा सन्ध्या लामा ‘अर्ना मोस्ट इनर्जेटिक’, सुष्मा थापा ‘निभिया फ्याबुलस फेस’ र ‘केडी फोटोग्राफी मोस्ट फोटोजेनिक’, अञ्जु परियार ‘मोस्ट ट्यालेन्टेड’, शिल्पा न्यौपाने महर्जन ‘क्युटी केयर एन्ड ब्युटी हब बेस्ट हेयर’, दीप्ति ढुंगेल ‘हेल्दी स्किन’, क्रिस्टिना ज्ञवाली ‘बेस्ट र्याम्प वाक’ र ऋचा शर्मा ‘दिनाज फेसन हाउस मोस्ट पङ्चुअल’ घोषित भए।
त्यसैगरी समीक्षा रानाभाटले ‘आयुथ वेदा बेस्ट स्माइल’, श्वेच्छा पौड्यालले ‘रिलायबल डाइग्नोस्टिक ल्याबोरेटरी मोस्ट डिसिप्लिन्ड’, कञ्चन महर्जनले ‘सेन्ट्रल फेसन एकेडेमी फेसन आइकन’, बिन्दु थापा राणाले ‘मोस्ट कन्फिडेन्ट’, यास्मिन बेगम सैयदले ‘मिसेस कन्जेनियालिटी’ र सुनिता श्रेष्ठ कर्माचार्यले ‘मिसेस ह्युम्यानिटेरियन’ उपाधि प्राप्त गरे।
प्रतियोगिताका विजेताहरूलाई अन्तिम स्पर्धामा सहभागी हुन काठमाडौं आएकी मिसेस वर्ल्ड २०२५ चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी), अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापालगायतले पुरस्कार तथा उपाधि प्रदान गरेका थिए।
चर्चित व्यक्तित्व निर्णायक मण्डलमा
ह्वीस्पर मुख्य प्रायोजक तथा अर्ना इनर्जी ड्रिंक र निभिया सहप्रायोजक रहेको प्रतियोगिताको निर्णायक मण्डलमा अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापा, नेपाल प्रहरीकी पूर्वएआईजी मीरा चौधरी, सिप्रदी अटोपाट्र्सका उपाध्यक्ष युवराज बुढाथोकी, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र मिसेस नेपाल वर्ल्ड २०२४ की विजेता डा. डेनिला कार्की रहेका थिए।
अश्विनी झाको कोरियोग्राफी तथा निशा बराइलीको सह-कोरियोग्राफीमा सम्पन्न कार्यक्रम गङ्गा महर्जन र विन्दिया श्रेष्ठले संयोजन गरेका थिए। गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, नर्स तथा फेसन डिजाइनरसम्म विभिन्न पेसामा आबद्ध महिलाहरूको सहभागिताले प्रतियोगितालाई विविधतापूर्ण बनाएको थियो। सेसेमी लिम्बु र सोफिया भुजेलले सञ्चालन गरेको कार्यक्रम अबेर रातिसम्म चलेको थियो।