काठमाडौं- नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधिबाट सम्मानित हुने भएकी छन् । उनलाई रिबन इन्टरटेनमेन्ट प्रालिले शनिबार राजधानीमा आयोजना गर्न लागेको ‘मिसेस नेपाल वर्ल्ड २०२६’ कार्यक्रममा उक्त सम्मान प्रदान गर्न लागेको हो।
नेपाली चलचित्र क्षेत्रमा साढे तीन दशकभन्दा लामो समयदेखि सक्रिय सिंह अभिनयमार्फत विशिष्ट पहिचान बनाउन सफल अभिनेत्री हुन्। उनले सन् १९९३ मा तुलसी घिमिरे निर्देशित चलचित्र ‘दक्षिणा’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन्। त्यसयता उनले ‘रहर’, ‘मितज्यू’, ‘दर्पणछाया’, ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘ठुलदाई’, ‘बन्धकी’, ‘चाँदनी’, ‘को आफ्नो को विरानो’, ‘नाता रगतको’, ‘खानदान’, ‘दाल भात तरकारी’ र ‘३६ को आँकडा’ लगायत दर्जनौँ चलचित्रमा अभिनय गरिसकेकी छन्।
अभिनयसँगै गायनमा समेत रुचि राख्ने सिंहले नेपाल टेलिभिजनबाट प्रसारण भएको पारिवारिक धारावाहिक ‘वंश’ को शीर्षगीतमा स्वर दिएकी छन्। उनले ‘दीपशिखा’ नामक म्युजिक एल्बमका लागि समेत गीत गाएकी छन्। नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदान, उपलब्धि र प्रेरणादायी व्यक्तित्वको कदरस्वरूप सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधिबाट सम्मान गर्न लागिएको रिबन इन्टरटेनमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी दिए।
यसअघि अभिनेत्रीहरू करिश्मा मानन्धर, गौरी मल्ल, भुवन चन्द थापा, वसुन्धरा भुसाल र पूजा चन्दलाई पनि मानार्थ ‘मिसेस नेपाल वर्ल्ड’ को उपाधिबाट सम्मानित गरिसकिएको छ। नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएकी सिंहलाई प्रदान गर्न लागिएको यस सम्मानले उनको कलायात्रा र योगदानलाई थप सम्मान गर्ने अपेक्षा गरिएको छ।