‘आँखाको बसेको मान्छे आँशु बनेर झर्यो
बुझ्नै मान्दैन यो मन, नगर्नु मायाले गर्यो...’
काठमाडाैं- गत भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीले निम्त्याएको पीडा, बिछोड र उजाडिएका सपनाहरू अब गीत बनेर गुञ्जिन थालेका छन्। बाढीपछि पीडितहरूको दुःख नजिकबाट देखेका केदार खतिवडाले त्यही पीडालाई ‘आँखामा बसेको मान्छे’ को बोलमा शब्दमा उतारेपछि संवेदनशील विषयका गजल गायकका रुपमा लोकप्रिय गायक थानेश्वर गौतमको स्वरमा नयाँ गीत बजारमा आएको छ।
बाढीले कसैको प्रियजन खोस्यो, कसैको घरबार उजाड्यो त कसैको जीवनभरसँगै रहने सपना एकैछिनमा बगायो। आँखै अगाडि आफ्ना मान्छे र सपनाहरू गुमाउनु पर्दाको पीडा कति असह्य हुन्छ भन्ने अनुभूति बोकेको यो गीतले प्राकृतिक विपत्तिले मानिसको मनमा छाडेको गहिरो घाउलाई प्रेम र बिछोडका विम्बमार्फत व्यक्त गरेको छ। यो गीत सुफि शैलीमा गाइएको छ।
गीतकार खतिवडा बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिकाका स्थायी बासिन्दा तथा किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन्। “बाढीपछि उद्धार तथा राहतका काममा खटिएका विपत्तिमा परेका मानिसहरूको पीडा नजिकबाट जे देखेँ, सुनेँ र महसुस गरेँ। त्यही अनुभूति शब्दमा पोखेको हुँ।”, गीतकार खतिवडाले भने।
गायक गौतमले ‘रात किन हुन्छ हजुर दिन किन हुन्छ’, ‘नाकमा फुली, एम मेरी ठुली’, लगायत करिब ५०० गीतमा आवाज दिइसकेका छन्। उनका गीतहरु विभिन्न चलचित्रमा प्रयोग भएका छन्।