काठमाडौं- एक्सन लभस्टोरी विधामा निर्माण हुन लागेको फिल्म ‘मोहनी’को छायांकन मंगलबारदेखि चितवनबाट सुरु भएको छ। विजय ब्लोन तामाङको निर्माण तथा गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्न लागेको फिल्ममा एक्सन र प्रेमकथालाई मुख्य विषय बनाइएको छ।
मोभिरा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन ६० दिनसम्म चल्ने निर्माता विजयले जानकारी दिए। उनका अनुसार चितवनबाट सुरु भएको छायांकन मुस्ताङ, मुक्तिनाथ, पोखरा र काठमाडौँलगायतका रमणीय स्थानमा गरिनेछ।
‘कथाको मागअनुसार नै हामीले कलाकार छनोट गरेर आजदेखि फिल्मको छायांकन सुरु गरेका छौँ। दर्शकमाझ एउटा राम्रो फिल्म प्रस्तुत गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ,’ निर्माता विजयले भने।
फिल्ममा आशिर्वाद क्षेत्री, सनिशा भट्टराई, सरोज खनाल, निमा पाण्डे, विजय ब्लोन, देवकुमार श्रेष्ठ, रञ्जना भट्टराई, रिस्ता अधिकारी, कर्मा लामा, सुरक्षा इटनी र उत्पल झा लगायतका कलाकारको अभिनय रहनेछ।
फिल्मको कथा विजय ब्लोन तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद सामीप्यराज तिमल्सेनाको रहेको छ। फिल्ममा महेश पौडेलको छायांकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा विक्रम स्वार र किरण थापाको नृत्य निर्देशन रहनेछ।
त्यस्तै, फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक र तेजबिक्रम केसी प्रोडक्सन म्यानेजरका रूपमा रहनेछन्।