काठमाडौं- अभिनेता निखिल उप्रेती अभिनीत फिल्म ‘कस्तुरी’को छायांकन अन्तिम चरणमा पुगेको छ। फिल्मको करिब ९० प्रतिशत छायांकन सम्पन्न भइसकेको र बाँकी काम आगामी एक साताभित्र सक्ने तयारी निर्माण पक्षले गरेको छ।
टेन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको फिल्ममा निखिल उप्रेती र वर्षा सिवाकोटी मुख्य भूमिकामा छन्। फिल्मको दोस्रो चरणको छायांकनमा निखिल शुक्रबारदेखि सहभागी भएका हुन्।
ऋत बोहोराको निर्देशन तथा पटकथा रहेको फिल्ममा शेखर चापागाईँ, निर्मल शर्मा, अर्जुन गुरुङ (भँगेरी डन), भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बमजन, मीरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा र नेहा गौतमलगायत कलाकारको अभिनय छ। अतिथि भूमिकामा गौरव पहारी र हेना नगरकोटी पनि देखिनेछन्।
फिल्मका निर्माता धीरजकुमार अग्रवाल हुन् भने अञ्जली चौधरी सह-निर्माताका रूपमा छिन्। अग्रवालले यही फिल्मबाट चलचित्र निर्माणमा डेब्यु गरेका हुन्। फिल्मको छायांकन आलोक शुक्लाले गरिरहेका छन् भने संगीत प्रशान्त सिवाकोटीको रहेको छ।
अभिनेता निखिलका लागि ‘कस्तुरी’ महत्त्वपूर्ण फिल्मका रूपमा हेरिएको छ। नौ वर्षपछि निर्देशनमा फर्किएको फिल्म ‘आचार्य’ व्यावसायिक रूपमा असफल भएपछि निखिल पुनः अभिनयमार्फत दर्शकमाझ आउन लागेका हुन्। करिब ५ करोड रुपैयाँ लागतमा निर्माण भएको ‘आचार्य’ले २ करोड रुपैयाँसमेत कमाउन नसकेको बताइएको थियो।
‘आचार्य’को असफलतापछि निखिलको स्टारडमबारे विभिन्न टिप्पणी भइरहेका बेला ‘कस्तुरी’ले उनको अभिनय यात्रालाई कस्तो मोड दिन्छ भन्ने चासो बढेको छ।