काठमाडौं- निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहीबार काठमाडौंस्थित बिग मुभिजमा कार्यक्रम आयोजना गर्दै चार मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक ट्रेलरले प्रेम, सामाजिक मान्यता र पितृसत्तात्मक सोचका कारण उत्पन्न हुने संघर्षलाई मुख्य विषय बनाएको छ। कौडाको खेलसँग जोडिने घटनाक्रमले प्रेम सम्बन्धमा कस्तो प्रभाव पार्छ र त्यसले पात्रहरूको जीवनलाई कुन मोडमा पुर्याउँछ भन्ने जिज्ञासा ट्रेलरले सिर्जना गरेको छ।
पिरियड ड्रामाको जनरामा निर्माण भएको फिल्मले तत्कालीन नेपाली समाजमा पुरुषको अहंकार र पितृसत्तात्मक मान्यताका कारण महिलाले भोग्नुपरेका पीडा तथा बाध्यतालाई प्रस्तुत गर्ने संकेत गरेको छ।ट्रेलरमा अभिनेता विनोद न्यौपानेको ‘डिल्लीराम’ पात्र विजय बराल अभिनीत ‘बाबुराम’ र अञ्जना बराइली अभिनीत ‘लक्ष्मी’को प्रेममा बाधक बनेको देखिन्छ। बाबुराम र लक्ष्मीको प्रेमकथामा डिल्लीरामले सिर्जना गर्ने अवरोधले कथालाई कस्तो मोडमा पुर्याउँछ भन्ने कौतूहल ट्रेलरले जगाएको छ।
‘पूर्णबहादुरको सारंगी’बाट दर्शकमाझ लोकप्रिय बनेका अभिनेता विजय बराल र निर्देशक पौडेलबीचको यो दोस्रो सहकार्य हो। अघिल्लो फिल्ममा दर्शकको साथ पाएको यो जोडीले यसपटक फरक समय र परिवेशको कथा लिएर दर्शकमाझ आउने तयारी गरेको छ।
सबिन अधिकारी र वसन्त न्यौपानेको पटकथा तथा संवाद रहेको फिल्मको कथा निर्देशक पौडेल स्वयंले लेखेका हुन्। फिल्ममा विजय बराल, अञ्जना बराइली र विनोद न्यौपानेका अतिरिक्त उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राज कटुवाल, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता नेम महर्जन हुन्। राकेश खड्का र श्याम मगर सहनिर्माता, सुमन रञ्जित एसोसिएट निर्माता तथा अनिश अधिकारी लाइन निर्माता छन्। दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा पदमबहादुर श्रेष्ठ (बाबु)को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन रहेको छ। फिल्ममा प्रशान्त सिवाकोटीको संगीत छ।
यसअघि सार्वजनिक टिजर र गीतबाट चर्चा बटुलेको ‘सिन्दुरे जात्रा’ मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ। फिल्मको वितरण नेसनल सिने ग्रुप नेपालले गर्दैछ भने बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा जोडिएका छन्।