काठमाडौं- मलेसिया रोजगारीमा एकाधिकार लगाउन प्रयासरत २५ व्यवसायीसँग सहकार्य गर्न खोज्ने कतिपय म्यानपावर व्यवसायीहरुले अझैसम्म स्पष्टीकरण नबुझाएको पाइएको छ । फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसिएमएस)मा सूचिकृत २५ व्यवसायीले सहायक एजेन्टका रूपमा २५० व्यवसायीलाई प्रणालीमा आवद्ध गराएका छन् ।
स्वार्थ समूहसँग जोडिएर एकाधिकार भित्राउने खेलमा सहभागी भएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले २५० संस्थालाई स्पष्टीकरण सोधेको थियो । जसमध्य धेरैजसो संस्थाले संघमा पत्र बुझाएपनि केहि भने बाँकी रहेको संघका तृतीय उपाध्यक्ष तथा सिन्डिकेटविरुद्धको संघर्ष समितिका संयोजक लक्ष्मण पौडेलले बताए ।
संघले मलेसिया रोजगारीमा नेपालका सीमित इजाजतपत्रवालाको पहुँचविरुद्ध आवाज उठाइरहेको छ । गत साताबाट एजेन्टका रूपमा जोडिएका २५० संस्थाहरूलाई आफ्नो भूमिका स्पष्ट पार्दै संघमा स्पष्टीकरण बुझाउन निर्देशन दिइएपनि अटेर गरेर पत्र नपठाउनु चिन्ता र चासोको विषय भएको संयोजक पौडेलले बताए । ‘सिन्डिकेटमा जोडिएका केहि व्यवसायीबाट अहिलेसम्म जवाफ आएको छैन । किन जवाफ आएन ? कारण के हो ?,’ पौडेलले प्रश्न गरे, ‘कतै २५० म्यानपावर कम्पनीलाई सहायकका रूपमा जोडेर व्यवसायीबीच एक आपसमा जुधाएर सिण्डिकेटधारीहरु आफू पन्छिन खोजेका त होइनन् ?’
सम्बन्धित व्यवसायीबाट स्पष्टीकरण माग्नुको उद्देश्य कसैलाई दोषी ठहर गर्नु नभई प्रणालीमा उनीहरूको भूमिका, पहुँच र संलग्नताको वास्तविकता स्पष्ट पार्नु रहेको संयोजक पौडेलले बताए । यदि सिन्डिकेटको पक्षमा कोही भए कि त स्पष्ट रूपमा भन्नुपर्ने कि संघले मागेको स्पष्टीकरणको जवाफ दिनुपर्ने उनको भनाइ छ । संघको अभियानमा सबै व्यवसायी सहभागी हुनुपर्ने अवस्थामा मौन बस्ने व्यवसायीमाथि स्वतः प्रश्न उठ्ने उनको भनाइ छ ।
कानुनले सबै इजाजतप्राप्त म्यानपावर व्यवसायीलाई समान रूपमा व्यवसाय गर्ने अधिकार दिएपछि सीमित समूहको नियन्त्रण हुने अवस्था आउन नदिने संघले बताउँदै आएको छ । आफ्नै पेशामाथि प्रहार भइरहँदा यसको प्रतिरोध गर्न व्यवसायीहरु एकढिक्का हुन आह्वान समेत गरिएको छ । व्यवसायीहरुले सरकारसँग एफडब्लूसिएमएसमा सूचिकृत कम्पनीको भूमिका, सहायक म्यानपावरको अवस्था र उक्त प्रणालीमा प्रवेश पाउने मापदण्ड सार्वजनिक नभए आफैँ सिण्डिकेटधारीलाई कारवाही गर्ने बताउँदै आएका छन् ।