- बूढानीलकण्ठको भंगालबाट साढे २१ किलो सुन बरामद
- कहाँबाट सुन आयो भन्ने अझै रहस्यमै
- तीन जना चिनियाँ नागरिक पक्राउ
- कारखाना खोलेर अवैध सुनको तस्करी धन्दा
- पूरै घर भाडामा, मासिक भाडा नै तीन लाखभन्दा बढी
काठमाडौं– बिहीबार प्रहरीले बूढानीलकण्ठबाट ५४ करोड रुपैयाँभन्दा बढी मूल्यको साढे २१ किलो सुन बरामद गर्यो। तर, उक्त सुन कहाँबाट नेपाल भित्रियो भन्ने खुलेको छैन।
तस्करीको सुन गालेर विभिन्न आकारमा ढाल्ने कारखानामै प्रहरीले छापा मारेर तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू चीनका २७ वर्षीय हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियाञ्जेन हुन्। तर, सुनको स्रोत, नेपाल भित्र्याएको मार्ग र अन्तिम गन्तव्यबारे अनुसन्धान जारी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
बिहीबार बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालस्थित एक घरमा छापा मार्दा २१ किलो ७५०.६८ ग्राम सुन बरामद गरेको हो। बरामद सुनको शुक्रबारको बजार मूल्यअनुसार ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार प्रहरीले सुरुमा चार किलो सुनको कारोबार भइरहेको सूचना पाएको थियो। सोही सूचनाका आधारमा निगरानी बढाएर ‘अपरेसन ब्राभो गोल्फ’ सञ्चालन गरिएको थियो। तर, छापा मार्दा अनुमानभन्दा पाँच गुणाभन्दा बढी सुन भेटियो।
एसएसपी खड्काका अनुसार बरामद सुनको स्रोत र गन्तव्य अझै पुष्टि भएको छैन। शुक्रबार अयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कहाँबाट सुन आयो र यसको गन्तव्य कहाँ हो भन्ने अनुसन्धान गरेर पुष्टि गर्न बाँकी नै छ।’
प्रहरीले सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का, लेसिलो अवस्थामा रहेको सुन तथा धातुका टुक्रा बरामद गरेको छ। घरभित्र सुन सुकाउने ड्रायर मेसिन र पगाल्ने मेल्टिङ मेसिनसमेत प्रयोग भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यसले उक्त घर सुन भण्डारण गर्ने ठाउँमात्र नभई सुन प्रशोधन गरेर विभिन्न आकारमा ढाल्ने केन्द्रका रूपमा प्रयोग भएको प्रहरीको बुझाइ छ।
एसएसपी खड्काले बरामद सुन हवाईमार्गबाट काठमाडौं भित्र्याएको हुन सक्ने आशंका गरेका छन्। पक्राउ परेका तीनै जना चिनियाँ नागरिक हङकङ हुँदै काठमाडौं आएको अध्यागमनको अभिलेखमा देखिएकोले सुन हवाई मार्गबाटै ल्याएको हुने खड्का बताउँछन्।
‘हङकङ ट्राञ्जिट हुँदै यहाँ आएको देखिन्छ। त्यसो हुनाले हवाईमार्गबाट वा कार्गोबाट ल्याएको हो कि ? हामी अनुसन्धानमै छौँ,’ खड्काले भने।
उनीहरूमध्ये दुई जना ११ असोजमा र एक जना १५ असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए। काठमाडौं आएपछि उनीहरू तीनदेखि चारपटकसम्म विमानस्थल जाने–आउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। तर, विमानस्थल आवातजावत गरेको विवरणले मात्रै सुन हवाईमार्गबाटै ल्याइएको पुष्टि गर्दैन।
प्रहरीको प्रारम्भिक अनुमानअनुसार सुनलाई लेसिलो अवस्थामा ल्याएर बाहिर प्लास्टिकले बेर्ने गरिएको हुन सक्छ। त्यसपछि भाडामा लिइएको घरमा सुकाएर पगाल्ने र बिस्कुटलगायतका आकारमा ढाल्ने गरिएको देखिन्छ। तर, सुन कुन देश वा स्थानबाट ल्याइएको थियो, कसले नेपालसम्म पुर्यायो र भन्सार जाँच कसरी पार गर्यो भन्ने विषयमा प्रहरीले निष्कर्ष निकालिसकेको छैन।
कारमा भेटियो दुई किलो सुनका बिस्कुट
प्रहरीले सुन प्रशोधन भइरहेको घरको कम्पाउण्डबाट एउटा कारसमेत बरामद गरेको छ। उक्त कारको चालक सिटनजिकै रहेको बक्समा कागजले बेरिएका एक–एक किलोका दुईवटा सुनका बिस्कुट फेला परेका थिए।
प्रहरीका अनुसार उक्त कार ११ असोजदेखि २५ असोजसम्मका लागि दैनिक आठ हजार रुपैयाँ भाडा तिर्ने गरी लिइएको थियो। चीनबाट आएका हान फिईले काठमाडौं विमानस्थलमा ओर्लिएपछि कार भाडामा लिएको अनुसन्धानबाट खुलेको छ।
कारबाट तयारी अवस्थामा रहेका सुनका बिस्कुट भेटिएपछि प्रहरीले सुन बजारतर्फ लैजाने तयारी भइरहेको हुनसक्ने अनुमान गरेको छ। तर, उक्त सुन कसलाई बुझाउन लागिएको थियो र कुन स्थानमा पुर्याउने योजना थियो भन्ने खुलेको छैन।

यद्यपि, प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार काठमाडौंमा सुन प्रशोधन र वितरणको काम चीनमा रहेका व्यक्तिको निर्देशनमा भइरहेको थियो। पक्राउ परेका हान फिईसहित तीन चिनियाँ नागरिकले बूढानीलकण्ठको घरमा सुन प्रशोधन गर्ने गरेको प्रहरीको भनाइ छ।
अनुसन्धान अधिकृतहरूका अनुसार चीनको ग्वाञ्जाओमा रहेका जेन जिया लीले वी–च्याटमार्फत नेपालमा रहेका व्यक्तिलाई निर्देशन दिने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रशोधनपछि सुन कहाँ लैजाने र कसलाई बुझाउने भन्ने निर्देशन पनि उतैबाट आउने गरेको प्रहरीको दाबी छ।
एसएसपी खड्काका अनुसार चिनियाँ नागरिक छु क्यानले मासिक तीन लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी विष्ट थरका मानिसको घर लिएका थिए। उनले चार महिनाको १३ लाख २० हजार रुपैयाँ अग्रिम भुक्तानीसमेत गरेको प्रहरीले जनाएको छ। तर, छु क्यान अहिले पक्राउ परेका छैनन्। उनी ३० साउनमा चीन फर्किएको अध्यागमनको अभिलेखमा देखिएको प्रहरीको भनाइ छ।
छु क्यानले घरको चाबी चीनमा रहेका जेन जिया लीलाई दिएको र पछि त्यही चाबी हान फिईमार्फत नेपाल ल्याइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकसँग दोभाषेमार्फत सोधपुछ गरिरहेको छ। उनीहरू पर्यटन भिसामा नेपाल आएको खुलेको छ।
तर, यति ठूलो परिमाणको सुन नेपालसम्म कसरी आइपुग्यो, यसको लगानी कसले गरेको थियो, नेपालमा कसले खरिद गर्ने तयारी गरेको थियो र सुनको अन्तिम गन्तव्य कहाँ थियो भन्ने विवरण प्रहरीले सार्वजनिक गरेको छैन।