ललितपुर- नव युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पाटनढोकाको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार ललितपुरको पाटनढोकामा आयोजित साधारण सभामा संस्थाका ज्येष्ठ सदस्य भैल महर्जनको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष ज्ञानुबाबु महर्जनको सभापतित्व रहेको थियो।
साधारण सभाले सञ्चालक समितिका तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ। त्यसैगरी लेखा समितिको प्रतिवेदन, आगामी आर्थिक वर्षको बजेट, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणलगायतका प्रस्तावमाथि छलफल गरी अनुमोदन गरिएको संस्थाले जनाएको छ।
साधारण सभामा प्रस्तुत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म संस्थाको सेयर पुँजी ३ करोड १९ लाख ४३ हजार ४०० रुपैयाँ पुगेको छ। त्यस्तै, निक्षेप दायित्व ३८ करोड २९ लाख ५९ हजार ८३८ रुपैयाँ र कर्जा लगानी १८ करोड ३९ लाख ७९ हजार १० रुपैयाँ रहेको छ।

संस्थाको कोषमा २ करोड ५१ लाख १ हजार ३४६ रुपैयाँ रहेको छ। असार मसान्तसम्म सहकारीको कुल कारोबार ४४ करोड ६९ लाख ११ हजार ८३२ रुपैयाँ पुगेको संस्थाले जनाएको छ। साधारण सभाका अवसरमा संस्थामा योगदान पुर्याउने ज्येष्ठ सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी सदस्य तथा कर्मचारीलाई सम्मान गरिएको थियो। ज्येष्ठ सदस्यतर्फ सन्तुमाया महर्जन र कर्मलाल महर्जन सम्मानित भएका छन्।
त्यसैगरी उत्कृष्ट बचतकर्तातर्फ देवी डंगोल, रिना महर्जन र लैला महर्जन सम्मानित भएका छन्। उत्कृष्ट ऋणी सदस्यतर्फ लुची शोभा बज्राचार्य, दिलिप प्रधान र राजु अवाले सम्मानित भएका छन्। उत्कृष्ट सदस्यका रूपमा राजेन्द्र महर्जनलाई सम्मान गरिएको छ भने संस्थाका व्यवस्थापक शान्त बज्राचार्यलाई कर्मचारीतर्फ सम्मान गरिएको संस्थाले जनाएको छ।
सभामा सहकारीकर्मी, अभियन्ता, समाजसेवी, संस्थाका सदस्य, कारोबारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। सभास्थलको प्राङ्गणमा संस्थामा आबद्ध सदस्यहरूले उत्पादन गरेका हस्तकलाका सामग्री तथा विभिन्न खानाका परिकारसमेत प्रदर्शनीमा राखिएको थियो।
शुभकामना आदानप्रदान तथा विविध कार्यक्रमसहित सम्पन्न साधारण सभाले संस्थाको वार्षिक प्रगति समीक्षा गर्नुका साथै आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरेको थियो।