काठमाडौं- स्वनिगः वहुउद्देश्य सहकारी संस्था लिमिटेड, गल्कोपाखा, काठमाडौंको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शुभकामना आदानप्रदान तथा विविध कार्यक्रमसहित संस्थाको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष अमृतलाल श्रेष्ठको सभापतित्वमा शनिबार सम्पन्न साधारण सभाले सेयर सदस्यलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साधारण सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष श्रेष्ठद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ।
त्यस्तै, लेखा समिति तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नुका साथै २०८३ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम, लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणलगायतका विषयमा छलफल गरी आवश्यक निर्णयसमेत गरेको छ।
साधारण सभामा प्रस्तुत वित्तीय विवरणअनुसार संस्थाको सेयर पुँजी २ करोड ८० लाख ८१ हजार ६ सय रुपैयाँ पुगेको छ। संस्थाको बचत तथा निक्षेप दायित्व २७ करोड ६ लाख ९० हजार ५९८ रुपैयाँ रहेको छ भने ऋण लगानी १८ करोड ९६ लाख ५ हजार ७४ रुपैयाँ पुगेको छ।
त्यसैगरी, संस्थाको साधारण जगेडा कोषमा १ करोड २७ लाख १९ हजार ६४ रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म सहकारीको कुल कारोबार ३३ करोड ४१ लाख ९८ हजार ७६९ रुपैयाँ पुगेको विवरण सभामा प्रस्तुत गरिएको थियो। सभामा संस्थाका सञ्चालक समिति सदस्य, सेयर सदस्य, सहकारीकर्मी, अभियन्ता तथा कर्मचारीलगायतको उपस्थिति रहेको थियो।