काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले विश्वप्रसिद्ध भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने दुई उत्कृष्टता अवार्ड प्राप्त गरेको छ। भिसा इन्टरनेशनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’मा बैंकलाई उपभोक्ता प्रिपेड कार्ड व्यवसायमा उत्कृष्टता र उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा उत्कृष्टता अवार्ड प्रदान गरिएको हो।
कार्ड व्यवसायमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो। बैंकका अनुसार यो उपलब्धिले डिजिटल बैंकिङ सेवाको विस्तार, सेवा गुणस्तर, प्रविधिमैत्री सेवा तथा ग्राहकको विश्वास अभिवृद्धिमा बैंकले गरेको प्रयासलाई थप प्रोत्साहन गर्नेछ।
आषाढ २०८३ मसान्तसम्म नेपालमा बैंक तथा वित्तीय संस्थाले कुल तीन लाख ३० हजार क्रेडिट कार्ड जारी गरेका छन्। त्यसमध्ये सिद्धार्थ बैंकको हिस्सा करिब ६९ हजार अर्थात् कुल बजारको करिब २१ प्रतिशत रहेको छ।
त्यस्तै, सोही अवधिसम्म बजारमा जारी भएका दुई लाख ८० हजार प्रिपेड कार्डमध्ये सिद्धार्थ बैंकको हिस्सा करिब ४२ हजार रहेको बैंकले जनाएको छ।
क्रेडिट कार्ड सेवालाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले बैंकले मङ्सिर महिनासम्म ग्राहकलाई लाइफटाइम निःशुल्क क्रेडिट कार्डका लागि आवेदन दिने सुविधा पनि उपलब्ध गराएको छ।
भिसा इन्टरनेशनलबाट प्राप्त यी अवार्डले कार्ड व्यवसायमा सिद्धार्थ बैंकको उपस्थिति र डिजिटल भुक्तानी सेवाप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको बैंकको विश्वास छ