काठमाडौं- अन्नलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हाँडीगाउँ काठमाडौँको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार धुम्बाराहीमा संस्थाका अध्यक्ष अमर पन्तको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो।
साधारण सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष पन्तद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ।
त्यसैगरी असार मसान्तसम्मको वासलात, आगामी बजेट, लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणलगायतका विभिन्न प्रस्तावसमेत सभाले अनुमोदन गरेको छ।
सभामा प्रस्तुत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८३ असार मसान्तसम्म संस्थाको सेयर पुँजी १ करोड ८९ लाख ३३ हजार १०० रुपैयाँ पुगेको छ। संस्थाको बचत तथा निक्षेप ६ करोड ११ लाख ९० हजार ५३८ रुपैयाँ रहेको छ भने ऋण लगानी ६ करोड ६९ लाख ३ हजार ५९४ रुपैयाँ पुगेको छ।
त्यस्तै, संस्थाको जगेडा कोषमा २१ लाख ७९ हजार २५ रुपैयाँ रहेको छ। सहकारीले उक्त अवधिसम्म ८ करोड ६२ लाख ४५ हजार २२७ रुपैयाँ बराबरको कुल कारोबार गरेको जनाएको छ।
साधारण सभामा सहकारीकर्मी, अभियन्ता, अर्थशास्त्री, प्राध्यापक, समाजसेवी तथा संस्थासँग आबद्ध सदस्यहरूको उपस्थिति रहेको थियो। विभिन्न विषयमा छलफल तथा प्रस्ताव पारित गर्दै सभा सम्पन्न भएको संस्थाले जनाएको छ।