काठमाडौं- गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, शङ्खमूल काठमाडौँको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार काठमाडौँको शङ्खमूलमा संस्थाका अध्यक्ष प्रशान्त ढकालको अध्यक्षता तथा अर्थविद् डिलाराम सुवेदीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो।
साधारण सभाले सञ्चालक समितिका तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेको छ। त्यसैगरी आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणलगायत अन्य विविध प्रस्तावसमेत सभाले अनुमोदन गरेको छ।
साधारण सभामा प्रस्तुत आर्थिक वर्ष २०८३ असार मसान्तसम्मको वित्तीय विवरणअनुसार सहकारीको कुल वासलात ५२ करोड ४३ लाख १ हजार ४६४ रुपैयाँ पुगेको छ। संस्थाको सेयर पुँजी ३ करोड १० लाख ४ हजार ५०० रुपैयाँ रहेको छ भने निक्षेप ४२ करोड ३३ लाख २८ हजार ६५३ रुपैयाँ पुगेको छ।
त्यस्तै, सहकारीले ४० करोड ४४ लाख १८ हजार ३५० रुपैयाँ ऋण लगानी गरेको छ। संस्थाको जगेडा कोषमा ३ करोड ४४ लाख ६९ हजार १६३ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ। साधारण सभामा सहकारीकर्मी, अभियन्ता, अर्थविद्, समाजसेवी तथा संस्थाका सेयर सदस्य र कारोबारीहरूको उपस्थिति रहेको थियो।
सभामा संस्थाको आर्थिक अवस्था, वार्षिक प्रगति तथा भावी कार्ययोजनालगायतका विषयमा छलफल हुनुका साथै विभिन्न प्रस्ताव पारित गर्दै सभा सम्पन्न भएको थियो।