काठमाडौं- टीभीएस मोटर कम्पनीले नेपालमा आफ्नो पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन (ईभी) शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले नेपाली बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाउने उद्देश्यसहित नयाँ शोरुम उद्घाटन गरेको हो।
टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष मनी कार्गर र चर्चित नेपाली कलाकार प्रदीप खड्काले संयुक्त रूपमा शोरुमको उद्घाटन गरेका हुन्। यो शोरुम नेपाली बजारमा कम्पनीको विस्तार तथा प्रिमियम र विद्युतीय सवारीसाधनप्रतिको बढ्दो मागलाई सम्बोधन गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

शोरुम उद्घाटनको अवसरमा कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत विभिन्न स्थानीय तथा सरकारी संस्थालाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ। नुवाकोट र रसुवा जिल्लाका प्रहरी कार्यालय, कारागार, स्थानीय तह, अस्पताल तथा सरकारी विद्यालयलगायतका संस्थालाई उक्त मोटरसाइकल प्रदान गरिएको हो। यसबाट सम्बन्धित संस्थाको सेवा प्रवाह, आवागमन र कार्यक्षमता अभिवृद्धिमा सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।
कार्यक्रममा टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष मनी कार्गरले नेपाल कम्पनीको अन्तर्राष्ट्रिय विस्तार यात्रामा महत्वपूर्ण बजार रहेको बताए। पहिलो प्रिमियम तथा ईभी शोरुमको उद्घाटन नेपालमा कम्पनीको लगानी र दीर्घकालीन प्रतिबद्धताको प्रतिबिम्ब भएको उनको भनाइ थियो।
उनले टीभीएसले सवारीसाधन उपलब्ध गराउने काममा मात्र आफूलाई सीमित नराखी सेवा र सामाजिक उत्तरदायित्वमार्फत स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको उल्लेख गरे। स्थानीय संस्थालाई २५ वटा मोटरसाइकल हस्तान्तरण गर्दा उनीहरूको सेवा पहुँच र कार्यक्षमता बढ्ने विश्वास पनि उनले व्यक्त गरे।
त्यसैगरी, जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले विगत १५ वर्षदेखि टीभीएससँगको सहकार्य नेपाली बजारमा ब्रान्डको विस्तार र ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्न महत्वपूर्ण रहेको बताए। बिक्रीपछिको सेवा, ग्राहक अनुभव र स्थानीय समुदायसँगको सम्बन्धलाई कम्पनीले प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उनले नयाँ प्रिमियम तथा ईभी शोरुमले नेपाली ग्राहकलाई थप उत्कृष्ट ब्रान्ड अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे।

नयाँ शोरुममा टीभीएसका प्रिमियम मोटरसाइकल तथा विद्युतीय सवारीसाधन एउटै छानामुनि उपलब्ध हुनेछन्। शोरुममा टीभीएस अपाचे आरटीआर २०० ४भी, अपाचे आरटीआर १६० ४भी, टीभीएस रोनिन, टीभीएस रोनिन अगोन्डा, टीभीएस आईक्युब र टीभीएस अर्बिटरलगायतका मोडल उपलब्ध हुने कम्पनीले जनाएको छ।
यस शोरुममार्फत ग्राहकले विभिन्न श्रेणीका सवारीसाधनबारे जानकारी लिनुका साथै ब्रान्डको प्रिमियम अनुभव प्राप्त गर्न सक्नेछन्। कम्पनीले बिक्री सञ्जाल विस्तार, ग्राहक सेवामा सुधार र समुदायकेन्द्रित सामाजिक पहललाई सँगसँगै अघि बढाउने जनाएको छ।
जगदम्बा मोटर्सबारे
जगदम्बा मोटर्स विगत १५ वर्षदेखि टीभीएस मोटर कम्पनीको नेपालस्थित प्रमुख साझेदारका रूपमा कार्यरत छ। कम्पनीले नेपाली बजारमा टीभीएस ब्रान्डको विस्तार, गुणस्तरीय सवारीसाधनको उपलब्धता तथा बिक्रीपछिको सेवा सुदृढ बनाउन काम गर्दै आएको छ। ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण र स्थानीय समुदायसँगको सहकार्यलाई पनि कम्पनीले आफ्नो व्यावसायिक प्राथमिकतामा राखेको छ।