काठमाडौं- अन्तर्राष्ट्रिय लक्जरी हस्पिटालिटी ब्रान्ड ‘द पोस्टकार्ड होटल’ चौथो देशका रूपमा नेपालमा विस्तार हुने भएको छ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, राप्ती नदीको किनारमा अवस्थित २२ कोठा तथा सुइटसहितको बहुप्रतीक्षित लक्जरी रिसोर्ट ‘द पोस्टकार्ड अन द राप्ती रिभर’ नोभेम्बर २०२६ देखि सञ्चालनमा आउने भएको हो। भारत, भुटान र श्रीलंकापछि ब्रान्डले नेपालमा आफ्नो सेवा विस्तार गर्न लागेको हो।
युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको अनुपम प्राकृतिक वातावरण र वन्यजन्तुको बसोबासलाई पाहुनाको बसाइको अभिन्न हिस्सा बनाउने उद्देश्यले यो रिसोर्ट तयार गरिएको छ। राप्ती नदीको सुन्दर घुम्तीमा अवस्थित यस रिसोर्टका प्रत्येक कोठाबाट नदी, घना सालका जंगल र वरपरका पहाडहरूको दृश्य नियाल्न सकिन्छ। यहाँ १३०० वर्गफिटदेखि सुरु हुने २२ वटा फराकिला कोठा तथा सुइटहरू छन्। साथै, आफ्नै स्विमिङ पुलसहित ५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको दुई बेडरुमको प्रेसिडेन्सियल सुइट पनि उपलब्ध छ।

होटल प्रवेशमा स्तुपालाई केन्द्रमा राखेर निर्माण गरिएको ‘टेम्पल कोर्ट’ छ भने यसको वास्तुकलाले स्थानीय प्राकृतिक तथा सांस्कृतिक परिवेशलाई झल्काउँछ। यहाँ आउने पाहुनाले प्रकृतिविद्को मार्गदर्शनमा जीप सफारी, जंगल वाक, राप्ती नदीमा डुंगा सयर, चरा अवलोकन र नजिकैका थारू बस्तीको भ्रमण गरी स्थानीय जीवनशैली बुझ्ने अवसर पाउनेछन्। खानपानतर्फ ट्री टप्स रेस्टुरेन्टमा ब्रान्डको विशेष ‘एनिटाइम ब्रेकफास्ट’ (जुनसुकै समयमा बिहानको खाना) र थारू संस्कृतिबाट प्रेरित ‘ट्राइबल सर्कल’ मा खुला आकाशमुनि बार्बेक्युको व्यवस्था गरिएको छ।
द पोस्टकार्ड होटलका संस्थापक तथा सिइओ कपिल चोपडाले प्रसिद्ध ट्राभल म्यापभन्दा बाहिरका मौलिक गन्तव्यलाई विश्वसामु चिनाउने रणनीतिअनुरूप नेपाल प्रवेश गरिएको बताए। उता रिसोर्टकी संस्थापक सवाना वैद्य बस्न्यातले नेपालको तराई, वन्यजन्तु र थारू संस्कृतिलाई विश्वसामु परिचित गराउन यो परियोजना महत्त्वपूर्ण हुने बताइन्। उनका अनुसार यो केवल हस्पिटालिटी सेवा मात्र नभई संरक्षणमा आधारित पर्यटन (कन्जर्भेसन-बेस्ड टुरिजम) को उत्कृष्ट नमूना हुने छ।
रिसोर्टमा सुइटको सुरुवाती मूल्य प्रतिराति एक लाख ३६ हजार रुपैयाँ तोकिएको छ, जसमा २४ सै घण्टा अनुकूल समयमा चेक-इन/चेक-आउट र जुनसुकै समयमा ब्रेकफास्टको सुविधा समावेश छ। काठमाडौंबाट २५ मिनेटको हवाई उडानमार्फत भरतपुर पुगी त्यहाँबाट ४० मिनेटको गाडीको यात्रामा यो रिसोर्ट पुग्न सकिन्छ।
सन् २०१८ मा स्थापित यस ब्रान्डले हालै सेप्टेम्बर २०२६ को ‘वर्ल्ड ट्राभल अवार्ड्स’ मा लगातार दोस्रो वर्ष ‘एसियाज लिडिङ बुटिक होटल ब्रान्ड’ सहित १२ वटा अवार्ड जितेको थियो।