कर्णाली- भारी हिमपातका कारण डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ स्थित दानीगढमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार कार्य थालिएको छ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे-फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर माथिल्लो डोल्पाको यात्रामा हिँडेका भारतीय पर्यटक केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा अलपत्र परेका थिए।
अलपत्र पर्नेमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिंह, डिप्लिना विश्वास र राजेश डी रहेका प्रमुख जिल्ला अधिकारी ढकालले राससलाई जानकारी दिए।
उनले भने, “अहिले नेपाली सेनाको हेलिकोप्टरबाट उद्धारको पहल भइरहेको छ। पर्यटकहरु फसेको ठाउँमा नेटवर्क नभएका कारण फोन सम्पर्क हुन सकेको छैन। उनीहरु शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको सम्पर्कमा रहेका छन्।”
माथिल्लो डोल्पामा यही कात्तिक १२ गतेदेखि सबै पदयात्रीलाई जान रोक लगाइए पनि उनीह अटेरी गर्दै त्यसतर्फ गएका थिए। प्रमुख जिल्ला अधिकारी ढकालले मौसम प्रतिकुलताका कारण सिर्जना भएका र हुन सक्ने जोखिमबाट सजग, सतर्क र सुरक्षित रहन सबैमा अनुरोध गरेका छन्।