सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृंखलाको छ हजार ५१८ मिटर अग्लो जुगल-२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ।
स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल-२ को सफल आरोहण गरेका हुन्। जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ।
पहिलो आरोहणसँगै जुगल हिमशृंखलाका अन्य हिमालको आरोहणका लागि पनि सम्भावना बढेको तामाङले बताए। उनले यस सफलताले नेपालको पर्वतीय पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले चुनौतीपूर्ण मानिएको जुगल–२ को पहिलो आरोहण गर्न सफल स्पेनी टोलीलाई बधाई दिँदै यसले नेपालको हिमाली पर्यटन, विशेषगरी जुगल हिमशृंखलाको पहिचान अन्तर्राष्ट्रियस्तरमा थप स्थापित गर्ने बताए।
जुगल गाउँपालिकाले हिमाल आरोहण, पदमार्ग प्रवर्द्धन र पर्यटन पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहेको छ। ‘गन्तव्य जुगल’ अभियानमार्फत हिमाल, पदमार्ग तथा धार्मिक र सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने गाउँपालिकाको लक्ष्य छ।
यसअघि २०७५ चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा छ हजार १२६ मिटर अग्लो ग्याल्चेन पिक र २०७७ कात्तिक ४ गते सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा सात सदस्यीय टोलीले छ हजार १८४ मिटर अग्लो जुगल–३ हिमालको आरोहण गरेका थिए। विदेशी पर्वतारोहीले २०८१ वैशाखमा पहिलोपटक जुगल–१ हिमालको सफल आरोहण गरेका थिए। रासस