काठमाडौं- बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।विभिन्न प्रस्तावमाथि छलफल तथा निर्णय गर्दै कम्पनीको १०औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो।
बुधबार काठमाडौंको शङ्खमूलमा कम्पनीका अध्यक्ष सुदिप आचार्यको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसहित लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ। सभाले चुक्ता पुँजीको ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने र ५ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।
त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ।कम्पनीका अनुसार हाल अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी २ अर्ब ३७ करोड २५ लाख ८० हजार रुपैयाँ र चुक्ता पुँजी १ अर्ब १८ करोड ६२ लाख ९० हजार रुपैयाँ रहेको छ।
सभामा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले विद्युत् बिक्रीबाट ४५ करोड ५२ लाख ७० हजार ६७३ रुपैयाँ आम्दानी गरेको छ। कम्पनीको चुक्ता पुँजीमा संस्थापक सेयरतर्फ ८८ करोड ९७ लाख १७ हजार ५०० रुपैयाँ र सर्वसाधारण सेयरतर्फ २९ करोड ६५ लाख ७२ हजार ५०० रुपैयाँ रहेको जानकारी पनि सभामा दिइएको थियो।
त्यसैगरी, कम्पनीले आर्थिक वर्ष २०८२/८३ सम्म लिएको कुल कर्जा २ अर्ब ५ करोड १४ लाख १० हजार ९९९ रुपैयाँ रहेको जनाएको छ। यसमध्ये ५६ करोड ७२ लाख २२ हजार ५५९ रुपैयाँ भुक्तानी गरिएको, थप २८ करोड रुपैयाँ कर्जा लिइएको र हाल भुक्तानी गर्न बाँकी कर्जा १ अर्ब ७६ करोड ४१ लाख ८८ हजार ४४० रुपैयाँ रहेको विवरण सभामा प्रस्तुत गरिएको थियो।
सभामा सेयरधनीहरूले उठाएका विभिन्न जिज्ञासाको जवाफ कम्पनीका अध्यक्ष आचार्य तथा अन्य पदाधिकारीहरूले दिएका थिए। यसैबीच, हालै भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण कम्पनीमा कार्यरत ४० जना कर्मचारीले ज्यान गुमाएको घटनाप्रति सभाले दुःख व्यक्त गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको थियो।