टीकापुर- किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसरमा रसुवाको बाढीमा परी अभिभावक गुमाएका चार बालबालिकालाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ। सहकारीको टीकापुर शाखाले बाढीमा परी बेपत्ता भएका मनीऋषि सञ्ज्याल, उनकी पत्नी मनकला र छोरी सुस्मिताका सन्तानलाई खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरेको हो।
ढीमा परी परिवारका तीन सदस्य बेपत्ता भएपछि १८ वर्षीया नमुना, १६ वर्षीय देवेन्द्र, १३ वर्षीया प्रतीक्षा र ११ वर्षीय अनिल सहाराविहीन बनेका छन्। सहकारीका टीकापुर शाखा प्रमुख दुर्गाप्रसाद उपाध्यायले बालबालिकाको कठिन परिस्थितिलाई मध्यनजर गर्दै खाद्यान्न तथा उपभोग्य सामग्री सहयोग गरिएको बताए।
उनले परिवारका तीन सदस्य बेपत्ता भएपछि बालबालिकाको पालनपोषणमा समस्या देखिएकाले संस्थाले सहयोग गरेको र यसबाट उनीहरूलाई केही राहत पुग्ने अपेक्षा गरिएको बताए। तीन वर्षअघि सन्तानको शिक्षादीक्षाका लागि बाजुराबाट टीकापुर आएका सञ्ज्याल परिवार भाडाको घरमा बस्दै आएको थियो। परिवारको जीविकोपार्जनका लागि मनीऋषि, उनकी पत्नी र एक छोरी रसुवास्थित एक जलविद्युत् आयोजनामा काम गर्दै आएका थिए। गत भदौमा आएको बाढीमा परी उनीहरू तीनै जना बेपत्ता भएपछि चार बालबालिकाको बिचल्ली भएको हो।
अभिभावक बेपत्ता भएपछि भाइबहिनीको हेरचाहको जिम्मेवारी आफूमा आएको नमुनाले बताइन्। परिवारको बसाइँसराइ नभएका कारण स्थानीय तहबाट राहत पाउन नसकेको बालबालिकाले बताएका छन्। सहकारीका महाप्रबन्धक डम्बरबहादुर शाहका अनुसार संस्थाका ४० वटै शाखाले ३१औँ वार्षिकोत्सवका अवसरमा समुदायस्तरमा विभिन्न सामाजिक गतिविधि सञ्चालन गरेका छन्।
वि.सं. २०५२ साल कात्तिक १७ गते स्थापना भएको किसान बहुउद्देश्यीय सहकारी संस्थाले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको राजापुर नगरपालिकासहितका क्षेत्रमा रहेका करिब ७५ हजार सदस्यलाई वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्दै आएको छ। संस्थाले वित्तीय सेवाका अतिरिक्त कृषि उत्पादन, बजारीकरण, कृषि बीउ प्रशोधन, माटो परीक्षण तथा सहकारी पसलमार्फत समेत सेवा प्रदान गर्दै आएको छ।