काठमाडौं- अखण्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कलङ्की काठमाडौंको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार कलङ्कीमा संस्थाका अध्यक्ष दामोदर लम्सालको सभापतित्व तथा संस्थाका संस्थापक अध्यक्ष प्रमोद अधिकारीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो।
साधारण सभाले अध्यक्ष दामोदर लम्सालद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ। त्यसैगरी आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटसमेत पारित गरेको छ। सभाले आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणलगायत अन्य विविध प्रस्तावहरू पनि पारित गरेको छ।

साधारण सभामा प्रस्तुत वासलात विवरणअनुसार आर्थिक वर्ष २०८३ असार मसान्तसम्म संस्थाको सेयर पुँजी ४ करोड ५४ लाख ५५ हजार ५०० रुपैयाँ पुगेको छ। त्यस्तै, बचततर्फ १८ करोड ७ लाख १९ हजार ८३६ रुपैयाँ रहेको छ भने कर्जा तथा सापटी लगानी २० करोड ४ लाख ६८ हजार ६९ रुपैयाँ कायम भएको छ।
संस्थाले विभिन्न वित्तीय तथा अन्य कारोबारसहित कुल ३२ करोड १४ लाख ९० हजार १६५ रुपैयाँको कारोबार गर्न सफल भएको जनाएको छ। गत आर्थिक वर्षको तुलनामा चालु वर्षमा करिब ५ करोड रुपैयाँ बराबरको कारोबार वृद्धि भएको संस्थाले जानकारी दिएको छ।
साधारण सभाको अवसरमा विभिन्न विधामा उत्कृष्ट बचतकर्ताहरूलाई नगदसहित सम्मान गरिएको थियो। उत्कृष्ट बाल बचततर्फ च्याङ चुप लामा र पिहु कार्की सम्मानित भएका छन्। त्यसैगरी उत्कृष्ट महिला बचततर्फ सबिना सिलवाल, उत्कृष्ट आवधिक मुद्दती बचततर्फ गङ्गा महर्जन तथा ज्येष्ठ नागरिक बचततर्फ उमा बस्नेत र विजेन्द्रमान बज्राचार्य सम्मानित भएका छन्।
त्यसैगरी संस्थागत पदाधिकारीतर्फ दुर्गाकुमारी अर्याल, नमराज कोइराला, सुरेश खत्री र विष्णुप्रसाद रिमाललाई सम्मान गरिएको थियो। साधारण सभामा सहकारीकर्मी, अभियन्ता, संस्थाका पदाधिकारी, सदस्य तथा कारोबारी, कर्मचारी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो। विभिन्न कार्यक्रमसहित सम्पन्न सभाले संस्थाको आगामी कार्यदिशा, नीति तथा कार्यक्रम र वित्तीय योजनालाई समेत अनुमोदन गरेको छ।